Comments Add Comment

सेयर बजारमा फर्किएला उत्साह ?

३ साउन, काठमाडौं । पछिल्लो एक महीनामा सेयर बजारमा परिसूचक नेप्से १५२ अंकले घट्यो । जेठ ३१ गते हालसम्मकै उच्च अंक ३ हजार २५ अंक छोएको बजार असार ३१ गतेसम्म आइपुग्दा विभिन्न उतार चढाबका बीच दुई हजार ८८३ अंकमा सीमित भयो ।

आर्थिक वर्षको अन्त्य, मौदि्रक नीतिको पूर्व सन्ध्या र सरकार परिवर्तनको मुख्य घटनाका बीच सेयर बजारले उल्लेखनीय गति लिएन । यही बेला बजारमा बैंकहरुमा तरलताको अभाव हुने भयो, ब्याजदर दोहोरो अंकमा जाने भयो र सेयर बजारमैत्री मौद्रिक नीति नआउने हल्ला चल्यो ।

सेयर लगानीकर्ता छोटेलाल रौनियार नियोजित तीन हल्ला कारण सेयर बजारमा १५० अंकको गिरावट आएको बताउँछन् । ‘निश्चित मान्छेहरुले बजार घटाउन हल्ला चलाए, तर आजको बजारले त्यसको जवाफ दिएको छ,’ रौनियार भन्छन् ।

नाफा बुक गरेर बजारबाट बाहिरिएका केही समूहले चलाएको हल्ला चिर्न एक महीना लागेको भन्दै उनले अब बजारको गति नरोकिने दावी गरे । नकारात्मक हल्लाहरु पछिल्लो दिनहरु सकारात्मक भएको भन्दै उनले दुई अंकको बैंक व्याजदर, बजार विरोधी मौदि्रक नीति र तरलाता अब समस्या नभएको रौनियार बताउँछन् ।

बजारको स्थिरता  र अन्यौल अब सकिएको सेयर लगानीकर्ता एवम् नेपाल उद्योग वाणिज्य महासंघको पुँजी बजार फोरमका सभापति अम्बिका प्रसाद पौडेलको दाबी छ । आइतबारको बजार पूर्वानुमान अनुसार नै भएको र केही अघि नाफा बुक गरेर बाहिरिएका संस्थागत लगानीकर्ता बैंकमा लगानीका लागि पुनः बजार प्रवेश गरेको उनले बताए ।

‘बजार पर्ख र हेरको अवस्थामा थियो, अब सकारात्मक संकेत मिलेको छ, बजार नयाँ गतिमा अघि बढ्यो,’सभापति पौडेलले दाबी गरे ।

९७ अंकको संकेत

एक महिनाको उतारचढाब पछि साउन ३ गते सेयर बजारमा ९७.२१ अंकको हरियाली छायो । ११ अर्ब ६३ करोड बढीको कारोबार भएको बजारमा कारोबारमा आएका सबै उपसमूहमा हरियाली छायो ।

कारोबार रकम असार ८ पछिको सबैभन्दा धेरै हुन पुग्यो । यसअघि असार ८ गते १० अर्ब हाराहारीको सेयर कारोबार भएको थियो ।

ङादी ग्रुप, सिंगटी हाइड्रो इनर्जी, समृद्धि फाइनान्स, सिन्धु विकास बैंक र हिमालयन पावर पार्टनरको सेयर मूल्य १० प्रतिशतले बढ्यो भने  १६ कम्पनीको सेयर मूल्य पाँच प्रतिशत भन्दा धेरैले बढ्न पुग्यो । कारोबारमा आएका २२१ कम्पनी ११२ कम्पनीको सेयर मूल्य बढेको थियो ।

आइतबार कारोबारमा आएकामध्ये मञ्जुश्री फाइनान्सको सबैभन्दा धेरै ४१ करोड रुपैयाँ, नबिल बैंकको ३८ करोड ६३ लाख, अरुण भ्याली हाइड्रो पावरको ३७ करोड ६८ लाख र एनआईसी एसिया बैंकको ३५ करोड ३५ लाखको सेयर खरिद बिक्री भएको थियो ।

यस्तै कामना सेवा विकास बैंकको ३४ करोड रुपैयाँ र सिद्धार्थ बैंकको २८ करोड रुपैयाँ बराबरको सेयर दोस्रो बजारमा किनबेच भयो । आइतबार विकास बैंक, वाणिज्य बैंक र फाइनान्स र जलविद्युतमा लगानीकर्ताहरुको आकर्षण बढी देखिएको थियो ।

हौसिने अवस्था छैन

अर्थमन्त्रीको अभिव्यक्ति बैंकहरुले सार्वजनिक गरेको बेसरेटका कारण बजारमा उच्च अकंको वृद्धि देखिए पनि हौसिने अवस्था भने नरहेको लगानीकर्ता प्रकाश तिवारी बताउँछन् ।

आइतबारको बजार यसअघि कै निरन्तरता भएको भन्दै उनले लगानीकर्तालाई संयमित रहन आग्रह गरे । अहिलेको अवस्थामा मौदि्रक नीतिले मात्रै बजारको भविष्य निर्धारण गर्ने भएकाले त्यसअघिको अवस्था चनाखो हुनुपर्नेमा उनले बताए ।

अहिले यसअघिको किर्तिमान तोडिने गरी बजार अघि बढेपनि लगानीकर्ता सचेत रहनुपर्छ । मौद्रीक नीति नै बजारको भविष्य तय गर्छ,’ तिवारीले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment