Comments Add Comment

टोकियो ओलम्पिकमा कीर्तिमान राख्न सक्ने १० खेलाडी

४ साउन, काठमाडौं । विश्व खेलकुदको महाकुम्भ मानिने ओलम्पिकको ३२औं संस्करण आगामी शुक्रबारदेखि जापानमा शुरु हुँदैछ । त्यसका लागि अहिले विश्वभरका खेलाडी जापान पुग्ने क्रम जारी छ ।

हरेक खेलाडीको ओलम्पिक खेल्ने सपना हुन्छ । कति खेलाडी पदक जितेर आफ्नो सपना पूरा गर्छन् । अमेरिकी पौडीबाज माइकल फेल्प्स र जमैकन स्प्रिन्टर उसेल बोल्टले आफ्नो समयमा ओलम्पिकमा तहल्का नै मच्चाए । अहिले उनीहरुले सन्यास लिइसकेका छन् ।

अब टोकियो २०२० मा पनि तहल्का मच्चाउन सक्ने केही खेलाडीहरु छन् । जसले यसअघि एकभन्दा बढी स्वर्ण जितिसकेका छन् । टोकियोमा स्वर्ण जितेमा उनीहरुले कीर्तिमानसहित नयाँ उपलब्धि हासिल गर्नेछन् ।

ओलम्पिक डट कमले तयार पारेका त्यस्ता खेलाडीहरुको सूची यस्तो छ ।

सिमोन बेल्स, अमेरिका जिम्न्यास्टिक

विश्वकै उत्कृष्ट जिम्न्यास्ट बल्सले रियो ओलम्पिक २०१६ मा चार स्वर्ण र एक कास्य जितेकी थिइन् । उनी सन् १९६८ मा भेरा कास्लाभ्स्कापछि अलराउण्डमा लगातार स्वर्ण जित्ने पहिलो महिला खेलाडी बन्ने लक्ष्यमा छिन् ।

टेडी रिनेर, फ्रान्स, जुडो

१० पटकका विश्व च्याम्पियन रिनेर जुडोको १०० केजीमाथीको स्पर्धामा पछिल्ला दई संस्करणका स्वर्ण विजेता हुन् । उनले २०१२ र २०१६ मा स्वर्ण जितेका थिए ।

उनी २०२० फेब्रुअरीसम्म लगातार १५४ खेलसम्म अपराजित थिए । फ्रेन्च जुडोका लगातार तेस्रो ओलम्पिक स्वर्ण जित्ने लक्ष्यमा छन् । अहिलेसम्म कसैले पनि यस्तो उपलब्धि हासिल गर्न सकेका छैनन् ।

केटी लेडेकी, अमेरिका, पौडी

२४ वर्षीय लेडेकीले ६ वटा इभेन्टमा प्रतिस्पर्धा गर्ने अपेक्षा छ । जसमा महिला १५ सय मिटर पनि समावेश छ । १५ सयमा उनी पहिलो पटक प्रतिस्पर्धा गर्दैछिन् ।

लेडेकीलाई यस विधामा हराउन कठिन छ र उनले यसमा विश्व कीर्तिमान राखेकी छिन् ।

शेली अन फ्रेजर, जमैका, एथ्लेटिक्स

फ्लोरेन्स ग्रिफिथ जोयनरपछि विश्वकै दोस्रो फास्टेस्ट महिला खेलाडी हुन्, जमैकन शेली अन फ्रेजर । सय मिटरमा अहिले उनलाई हराउन जो कोहीलाई कठिन छ । राइजिङ स्टार अमेरिकन शा कारी रिचर्डसन सहभागी नभएको अवस्थामा शेली १०० मिटरमा तेस्रो पटक स्वर्ण जित्ने लक्ष्यमा छन् । ३४ वर्षकी शेलीले सन् २००८ को बेइजिङ र २०१२ को लण्डन ओलम्पिकमा स्वर्ण जितेकी थिइन् । २०१६ को रियो ओलम्पिकमा भने उनले कास्य जितेकी थिइन् ।

इलिउड किपचोगे, केन्या, एथ्लेटिक्स

इलिउड किपचोगे सन् २०१९ मा दुई घण्टाभन्दा कम समयमा म्याराथन पूरा गर्ने पहिलो धावक बनेका थिए ।

टोकियो ओलम्पिकमा उनको लक्ष्य स्वर्ण रक्षा गर्नु हो । यदि उनले म्याराथनमा स्वर्ण जिते ओलम्पिक इतिहासमा दुई स्वर्ण जित्ने तेस्रो खेलाडी हुनेछन् । यसअघि इथियोपियाका अबेबे बिकिलाले सन् १९६० र १९६४ तथा पश्चिम जर्मनीका वाल्डेमार सिएपिन्स्कीले सन् १९७६ र १९८० मा जितेका थिए ।

काएलेब ड्रेसेल, अमेरिका, पौडी

काएलेब ड्रेसेल सय मिटर फ्रिस्टाइल ४० सेकेण्डभन्दा कम समयमा पौडने पहिलो खेलाडी हुन् । तर ओलम्पिकमा भने यसमा उनको कीर्तिमान छैन । उनले २०१६ को रियो ओलम्पिकमा एक गुणा सय मिटर फ्रिस्टाइल र चार गुणा सय मिटर मिडले रिलेमा स्वर्ण जितेका थिए । तर त्यसबाहेक उनी रेकर्ड ब्रेकर हुन् ।

हाल उनले सय मिटर बटरफ्लाई, ५० मिटर फ्रिस्टाइल र सय मिटर इन्डिभिजुअल मिडलेमा कीर्तिमान राखेका छन् । यदि उनले यस्तै लय कायम राखे टोकियोमा पनि कीर्तिमान राख्नेछन् ।

यस्ते ग्रेट ब्रिटेनका एडाम पिएटीले पनि टोकियोमा कीर्तिमान बनाउने सम्भावना छ ।

एलिसन फेलिक्स, अमेरिका, एथ्लेटिक्स

एलिसन फेलिक्स पाँचौं तथा अन्तिम ओलम्पिक खेलदैछिन् । अमेरिकन स्प्रिन्टर फेलिक्सले यसअघि नै ओलम्पिकमा ६ स्वर्ण र ३ रजत पदक जितेका छन् । यसले उनलाई इतिहासकै सफल महिला एथ्लेट बनाएको छ । थप एक स्वर्ण जितेका उनले अमेरिकाबाट धेरै स्वर्ण कार्ल लेविसको कीर्तमानसँग बराबरी गर्नेछन् ।

उचिमुरा कोहेइ, जापान, जिम्न्यास्टिक

तीन पटकको ओलम्पिक विजेता उचिमुरा कोहेई चौथो पटक ओलम्पिकमा प्रतिस्पर्धा गर्दैछन् । ४४ वर्षपछि अलराउण्डमा स्वर्ण रक्षा गरेपछि किङको रुपमा परिचित कोहेई यस पटक घरेलु भूमिमा फरक इभेन्टमा खेल्दैछन् । उनी होरिजेन्टन बारमा पहिलो ओलम्पिक स्वर्ण जित्ने लक्ष्यमा छन् ।

लाउर र जासोन केन्नी, बेलायत, ट्रयाक साइक्लिङ

ट्रयाक साइक्लिङ पावर कपल लाउरा र जासोन केन्नी आफ्नो स्पर्धामा रेकर्ड ब्रेकर नै हुन् । जासोनले रियो ओलम्पिकमा क्रिस होएको ६ स्वर्ण जित्ने ब्रिटिस खेलाडीको कीर्तिमानसँग बराबरी गरेका थिए ।

यस्तै उनकी श्रीमती लायराले चौथो स्वर्ण जितेकी थिइन् । टोकियोमा श्रीमान श्रीमती दुवै थप स्वर्ण जित्न सक्षम छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment