Comments Add Comment

डोटीमा महामारीका १३ महीना : २८६५ संक्रमित, ११ को मृत्यु

५ साउन, डोटी । विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारी (कोभिड-१९) कारण डोटी जिल्लामा २०७८ साल असारसम्म दुई हजार ८६५ जना संक्रमित भएका छन् भने ११ जनाले ज्यान गुमाएका छन् ।

जिल्लामा २०७७ साल जेठ १९ गते पहिलो पटक शिखर नगरपालिका-३ का एक जना पुरुषमा कोरोनाको संक्रमण देखिएको थियो । त्यसयता संक्रमितहरुको संख्यामा उतारचढाव भएको छ । असार मसान्तसम्म एण्टिजेन बिधिबाट दुई हजार ९२५ जनामा परीक्षण गर्दा ३६६ अर्थात् १२.५१ प्रतिशतमा संक्रमण देखिएको छ । यस्तै पीसीआर विधिबाट १५ हजार ६०४ जनाको स्वाब परीक्षण गर्दा दुई हजार ४९९ अर्थात् १६ प्रतिशतमा संक्रमण देखिएको छ ।

२०७८ साल जेठ महीनामा सबैभन्दा बढी ७८७ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय डोटीले जानकारी दिएको छ । यस्तै वैशाख महीनामा ५८६ जनामा संक्रमण देखिएको थियो ।

यसअघि २०७७ साल असारमा संक्रमण उच्च विन्दुमा देखिएको थियो । उक्त महीना ५२४ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय डोटीले जनाएको छ । फागुन महीनामा भने एक जनामा पनि कोरोनाको संक्रमण पुष्टि भएन् ।

दोश्रो लहरको कोरोना संक्रमणका क्रममा २०७७ साल चैत्रमा १० जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालयको तथ्याङ्कले देखाउँछ । यो संगै दोश्रो लहरको महामारी शुरु भएपछि असार मसान्तसम्म एक हजार ४५३ जना संक्रमित भएका छन् ।

कुन स्थानीय तहमा कति संक्रमित

स्वास्थ्य कार्यालयको तथ्याङ्क अनुसार कोरोनाको संक्रमाबाट सवैभन्दा बढी दिपायल सिलगढी नगरपालिका रहेको देखिन्छ । यस नगरपालिकामा ९६५ जनामा कोरोना संक्रमण पुष्टि भएको तथ्याङ्कमा देखिन्छ । परीक्षण बढी भएका कारण पनि दिपायल सिलगढी नगरपालिकामा संक्रमितको संख्या बढी देखिएको हुन सक्ने स्वास्थ्य कार्यालयका सूचना अधिकारी महेश बोहराले जानकारी दिए ।

सबैभन्दा कम बोगटान फुड्सिल गाउँपालिकामा ११० जनामा कोरोना संक्रमण देखिएको छ । यस्तै शिखर नगरपालिकामा ४०१, आदर्श गाउँपालिकामा ३८४, केआई सिंह गाउँपालिकामा २५९ र पूर्वीचौकी गाउँपालिकामा २५५ संक्रमित पुष्टि भएका छन् ।
यसैगरी जोरायल गाउँपालिकामा १७७, बडीकेदार गाउँपालिकामा १७५ र साय गाउँपालिकामा १३९ जना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय डोटीका कोरोना फोकल व्यक्ति तेजबिक्रम शाहीले जानकारी दिए ।

मृत्युको तथ्याङ्क

कोरोना संक्रमणका कारण जिल्लामा तीन महिला र आठ पुरुष गरी ११ जनाले ज्यान गुमाएको स्वास्थ्य कार्यालय डोटीका निमित्त प्रमुख उद्धववहादुर ठगुन्नाले वताए । ‘यस जिल्लाबाट उपचारका लागि अन्य जिल्ला रिफर गरि उतै मृत्यु भएकाहरुको संख्या यसमा गणना गरिएको छैन’ ठगुन्नाले भने, ‘यसमा डोटी जिल्लामै उपचारका क्रममा मृत्यु भएका व्यक्तिहरुको मात्रै संख्या राखिएको हो ।’ उपचारका क्रममा अन्य जिल्लाका अस्पतालहरुमा मृत्यु भएकाहरुको तथ्याङ्क उतै राखिने भएकाले यहाँ समावेश नभएको उनले वताए ।

ठगुन्नाका अनुसार दिपायल सिलगढी नगरपालिकामा तीन महिला र एक पुरुष गरी चार जनाको मृत्यु भएको । यस्तै शिखरमा एक महिला र एक पुरुष गरी दुई, केआई सिंहमा एक महिला र एक पुरुष गरी दुई, पूर्वीचौकी, बडीकेदार र आदर्शमा एक/एक पुरुषको मृत्यु भएको छ ।

जिल्लामै उपचारका क्रममा ११ जनाको मात्रै निधन भएको भए पनि सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्याङ्कमा भने डोटीका १५ जनाले कोरोना महामारीविरुद्धको लडाइँमा आफ्नो ज्यान गुमाएका छन् । निर्देशनालयका अनुसार पिसिआर विधिबाट परीक्षण भएकामध्ये १० र एन्टिजेन विधिबाट परीक्षण भएकामध्ये पाँच जनाले ज्यान गुमाएका हुन् ।
डोटी जिल्लामा पहिलो लहरको कोरोना संक्रमणको क्रममा केआई सिंह गाउँपालिका-४ का एक पुरुषले ज्यान गुमाएका थिए ।

परीक्षण गराउने घटे

पछिल्लो समयमा जिल्लामा स्वेच्छिक परीक्षण गर्नेको संख्या घटेको स्वास्थ्य कार्यालयको अनुभव छ । संक्रमित हुँदा आईसोलेसनमा बस्नु पर्ने र आफुलाई विभेद भएको महसुस गर्ने भएका कारण परीक्षण गराउन पनि आउन नमानेको कार्यालयका कोरोना फोकल व्यक्ति शाही बताउँछन् ।

परीक्षण गराउन जानु पर्‍योभन्दा उल्टै आफूलाई केही नभएको भन्दै स्वास्थ्यकर्मीहरुलाई समेत गाली गर्ने गरेको शाही अनुभव छ । उनले भने, ‘लक्षण कोरोनासंग मिल्दाजुल्दा देखिएका भए पनि लुकाउने गरेका छन्, यसले गर्दा संक्रमण फैलिन मद्दत गरिरहेको छ ।’ छुट्टै क्वारेन्टिन भएका कारण पनि यो समस्या आएको हुन सक्ने उनी बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment