+
+
Shares

माथिल्लो त्रिशुली थ्री ‘ए’को मर्मत सुस्त, प्राधिकरणलाई करौडौं नोक्सान

रवीन्द्र घिमिरे रवीन्द्र घिमिरे
२०७८ साउन ५ गते ११:०४

४ साउन, काठमाडौं । माथिल्लो त्रिशुली थ्री ‘ए’ जलविद्युत आयोजना मर्मतमा चिनियाँ ठेकदारले अत्यधिक ढिलाइ गर्दा विद्युत प्राधिकरण करोडौं रुपैयाँ नोक्सान भएको छ ।

आयोजना मर्मतका लागि पहिलो युनिट बन्द गरेको ७५ दिनपछि शनिबारदेखि दुबै युनिट बन्द गरेर काम गरिएको छ । ६० मेगावाट क्षमताको यो आयोजनामा ३०-३० मेगावाटको दुई युनिट (टर्बाइन) छन् ।

एउटा युनिट ७५ दिनसम्म र त्यसपछि दुबै युनिट बन्द गर्दा करोडौं मूल्यको बिजुली उत्पादन हुन नसकेर घाटा भएको प्राधिकरणका अधिकारीहरु बताउँछन् ।

चाइना गेजुवा ग्रुप अफ कम्पनीले निर्माण गरेको आयोजनामा समस्या देखिएपछि उसैले यसको मर्मतसम्भार गरिरहेको छ ।

२०७६ को जेठ २ गतेदेखि पहिलो युनिटबाट उत्पादन थालेपछि सुरुआती अढाई महिना (१८ साउनसम्म) आयोजनाले २० करोड रुपैयाँ भन्दा बढी मूल्यको २ लाख २० हजार युनिट विद्युत उत्पादन गरेको थियो । अहिले मर्मतको काममा ढिलाइ हुँदा प्राधिकरणलाई करिब यही मूल्य बराबरको नोक्शान भएको प्राधिकरणका एक अधिकारीले बताए ।

‘१० देखि ५ बजेसम्म सरकारी जागिर खाएजसरी काम भइरहेको छ, आयोजना छिटो नबनाउँदा पनि बिजुलीको खास अभाव नहुने र रातमा खेर जान सक्ने भएकाले ढिलाइ हुँदा पनि प्राधिकरणको नेतृत्व मौन बसेको हो,’ ती अधिकारीले भने ।

प्राधिकरणका प्रवक्ता मदन तिमल्सिना भने आयोजनाको मर्मत प्राधिकरणको हातमा नरहेको बताउँछन् । ‘यो ठेकदारको डिफेक्ट लायबिलिटी (समस्या देखिए ठेकदारले नै मर्मत गर्नुपर्ने) पिरियडमा देखिएको समस्या भएकाले ठेकदारले नै काम गर्दैछ,’ उनले भने, ‘हामीले जतिसक्दो छिटो गर्न भनेका छौं ।’

उनका अनुसार ७५ दिनमा पहिलो युनिटको मर्मत सकिएको छ । अहिले आयोजना नै बन्द गरेर गर्नुपर्ने सुरुङसहित गेट मर्मतको काम चलिरहेको छ । शनिबारदेखि दुबै युनिट बन्द भएको र सुरुङ र गेट मर्मतका लागि १२ दिन लाग्ने अनुमान छ । त्यसपछि एउटा युनिटबाट विजुली उत्पादन हुन सक्छ भने अर्को युनिट बन्द गरे र टर्बाइन मर्मत शुरु हुनेछ ।

प्राधिकरणका अधिकारीहरुका अनुसार कुलमान घिसिङ कार्यकारी निर्देशक हुँदा आयोजनाहरु मर्मतसम्भार गर्दा ३ सिफ्टमा काम गराएर जतिसक्दो छिटो काम सक्ने प्रचलन बसेको थियो । आयोजना मर्मतका नाममा महिनौंसम्म विजुली उत्पादन नहुने भएपछि कार्यतालिका बनाएर जतिसक्दो छिटो काम सक्न प्रोत्साहनको नीति लिइएको थियो । तर, त्रिशुली थ्रीए मा त्यसो गरिएको छैन ।

प्राधिकरणका प्रवक्ता तिमल्सिनाका अनुसार आयोजनामा देखिएको समस्या समाधान गर्न ठेकेदारलाई सन् २०२० को सेप्टेम्बर १ सम्मको समय दिइएको थियो । तर, कोरोना भाइरसको महामारीका कारण चीनबाट प्राविधिक टोली समयमै आउन नसकेपछि समय थप गरेर ३० सेप्टेम्बर २०२१ सम्म आयोजनाको देखिएका समस्या र त्रुटि सच्याउन समय दिइएको छ ।

‘सुरुङ खाली गरेर नै मर्मत गर्नुपर्ने भएपछि दुबै युनिट बन्द गरेर काम भइरहेको छ,’ प्रवक्ता तिमल्सिनाले भने, ‘सबै नियन्त्रण र व्यवस्थापन ठेकदारले नै गरिरहेको छ, यो आयोजना हामीले टेकओभर गरिसकेको भए यो भन्दा छिटो काम हुन्थ्यो ।’

भन्सारबाट सामान छुट्न समय लागेकोलगायतका कारण मर्मतमा ढिलाइ भएको प्रवक्ता तिमल्सिनाले बताए । ‘प्राधिकरण आफैंले नै मर्मत गर्ने अवस्था भएको भए योभन्दा छिटो काम हुन्थ्यो,’ उनले भने, ‘धेरै काम ठेकदारले गर्ने भएकाले हामीले कामको गति बढाउन सकेका छैनौं ।’

लेखक
रवीन्द्र घिमिरे

घिमिरे अनलाइनखबरका प्रशासन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?