Comments Add Comment

टोकियो ओलम्पिक : नेपाली खेलाडीको प्रतिस्पर्धा कुन-कुन दिन छ ?

५ साउन, काठमाडौं । ३२औं संस्करणको गृष्मकालीन ओलम्पिक आगामी शुक्रबारदेखि जापानमा शुरु हुँदैछ । टोकियो २०२० नाम दिइएको यस ओलम्पिकका लागि विश्वभरका खेलाडीहरु जापानमा भेला हुने क्रम जारी छ ।

जुलाई २३ मा उद्घाटन हुने ओलम्पिकको फुटबल र सफ्टबलका खेलहरु भने जुलाई २१ देखि नै शुरु हुनेछन् ।

यस पटक नेपालबाट चार खेलका ५ खेलाडीले प्रतिस्पर्धा गर्दैछन् । युनिभर्सियालिटी प्लेस अन्तर्गत पौडीबाट गौरिका सिंह र एलेक्स शाह तथा एथ्लेटिक्सबाट सरस्वती चौधरीले प्रतिस्पर्धा गर्नेछन् ।

यस्तै वाइल्ड कार्डबाट सुटिङकी कल्पना परियार र जुडोका सोनिया भट्ट ओलम्पिकका लागि छानिएका हुन् । पौडी, सुटिङ र जुडोका खेलाडीहरु जापान पुगिसकेका छन् । एथ्लेटिक्स खेलाडी भने उद्घाटनको भोलिपल्ट अर्थात् जुलाई २४ मा जापान प्रस्थान गर्नेछन् ।

यसपटक नेपालबाट ५ खेलाडी र ४ प्रशिक्षकसहित २६ जनाको टोली जापान जाने सूचीमा समावेश थियो । तर राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष शिव कोइरालाले भने व्यक्तिगत कारण देखाउँदै जापान नजाने विज्ञप्तिमार्फत जनाएका छन् ।

चिफ दी मिसनको रुपमा रहेका राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश सिलवालको नेतृत्वमा खेलाडीसहित १० सदस्यीय टोली केही दिनअघि जापान पुगिसकेका छन् । यस्तै नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठको नेतृत्वमा ५ सदस्यीय टोली सोमबार टोकियो प्रस्थान गरेको छ ।

पौडीका दुई खेलाडी र प्रशिक्षक जुलाई ८ देखि जपानको ताकुशिमामा विशेष प्रशिक्षणमा छन् । उनीहरु मंगलबार ओलम्पिक भिलेजमा जानेछन् । एथ्लेटिक्स खेलाडी लगायत बाँकी पदाधिकारी भने जुलाई २४ मा जानेछन् ।  खेलाडी र प्रशिक्षक बाहेक पनि १६ जना अन्य पदाधिकारी जापान जानेछन् ।

ओलम्पिकमा हरेक खेलका हरेक स्पर्धा उत्तिकै महत्वपूर्ण हुन्छ । हरेक खेलाडीको एक पटक ओलम्पिक खेल्ने उद्देश्य हुन्छ । नेपालबाट पनि यस पटक चार खेलाडीले त्यो सपना पूरा गर्दैछन् । गौरिका सिंहले भने यसअघि नै ओलम्पिकमा प्रतिस्पर्धा गरिसकेकी छन् र टोकियो ओलम्पिक उनको लागि दोस्रो सहभागिता हुनेछ ।

एलेक्स, सरस्वती, कल्पना र सोनियाको लागि यो पहिलो अवसर हो । गौरिका रियो ओलम्पिक २०१६ मा सबैभन्दा कान्छी खेलाडी बनेकी थिइन् ।

नेपाली खेलाडीले कुन इभेन्टमा कहिले प्रतिस्पर्धा गर्दैछन् ?

जुलाई २४

ओलम्पिक उद्घाटन भएको भोलिपल्ट अर्थात् जुलाई २४ मै नेपालका दुई खेलाडीले प्रतिस्पर्धा गर्दैछन् । जुडोमा सोनिया भट्ट र सुटिङमा कल्पना परियारले नेपालको चुनौती पेश गर्नेछन् ।

सुटिङ खेलाडी कल्पना परियार

सोनियाले महिला ४८ केजीमुनि प्रतिस्पर्धा गर्नेछिन् । यस्तै सुटिङकी कल्पनाले महिला १० मिटर एयर राइफलमा प्रतिस्पर्धा गर्नेछिन् । दुवै खेलाडी वाइल्ड कार्ड मार्फत ओलम्पिक खेल्न छनोट भएका हुन् ।

सोनियाको लक्ष्य आफ्नो स्पर्धामा राम्रो प्रदर्शन गर्नु रहेको छ । यस्तै कल्पनाले पनि आफ्नो व्यक्तिगत अंकमा सुधार गर्ने लक्ष्य राखेकी छन् ।

जुलाई २७

जुलाई २७ मा नेपाली पौडी खेलाडी एलेक्स शाहको प्रतिस्पर्धा हुनेछ । उनले पुरुष १०० मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा गर्नेछन् । नेपालको राष्ट्रिय कीर्तिमानधारी एलेक्सको लक्ष्य टोकियोमा व्यक्तिगत टाइमिङ सुधार गर्दै राष्ट्रिय कीर्तिमानमा पनि सुधार गर्नु हो ।

जुलाई २७ मा हिटमा प्रतिस्पर्धा हुनेछ । हिट चरणमा उत्कृष्ट भएमा जुलाई २८ मा हुने सेमिफाइनलमा छनोट हुनेछ । यस स्पर्धाको फाइनल जुलाई २९ मा हुनेछ ।

जुलाई २८

जुलाई २८ मा नेपालकी अर्की पौडी खेलाडी गौरिका सिंहले प्रतिस्पर्धा गर्नेछिन् । उनले महिला १०० मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा गर्नेछिन् ।

यस इभेन्टमा गौरिकाको नाममा राष्ट्रिय कीर्तिमान रहेको छ । गौरिकाको लक्ष्य पनि टोकियोमा व्यक्तिगत टाइमिङ सुधार गर्दै राष्ट्रिय कीर्तिमानमा पनि सुधार गर्नु हो ।

पौडी खेलाडी गौरिका सिंह

जुलाई २८ मा हिटमा प्रतिस्पर्धा हुनेछ । हिट चरणमा उत्कृष्ट भएमा जुलाई २९ मा हुने सेमिफाइनलमा छनोट हुनेछ । यस स्पर्धाको फाइनल जुलाई ३० मा हुनेछ ।

जुलाई ३०

जुलाई ३० मा नेपालको लागि अन्तिम प्रतिस्पर्धा हुनेछ । एथ्लेटिक्स खेलाडी सरस्वती चौधरीले महिला १०० मिटर दौडमा प्रतिस्पर्धा गर्नेछिन् ।

शुरुमा नेपालबाट म्याराथन धावक गोपीचन्द्र पार्कीले प्रतिस्पर्धा गर्ने भनिएकोमा अन्तिम समयमा म्याराथनमा कोटा धेरै भएकोले उनको सट्टा महिला १०० मिटरमा सरस्वती चौधरीले ओलम्पिक जाने अवसर पाएकी हुन् ।

जुलाई ३० मा हिट चरणको खेल हुनेछ । जुलाई ३१ मा यस इभेन्टको सेमिफाइनल र फाइनल प्रतिस्पर्धा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment