Comments Add Comment

भिसाका कारण सन्दीपले दी हन्ड्रेड क्रिकेट गुमाउने सम्भावना

फाइल तस्वीर : सन्दीप लामिछाने

५ साउन, काठमाडौं । नेपाली क्रिकेट टिमका लेग स्पीनर सन्दीप लामिछानेले यही जुलाई २१ देखि इंग्ल्याण्डमा हुने दी हन्ड्रेड क्रिकेट प्रतियोगिताको शुरुवाती खेल गुमाउने भएका छन् ।

भिसा समस्याका कारण उनले पूरै प्रतियोगिता समेत गुमाउन सक्ने सम्भावना बढेको जनाइएको छ । टाइर-५ भिसामा बेलायत गएका सन्दीपले यस भिसामार्फत खेल्न नपाउने ईएसपीएन क्रिकइन्फोले उल्लेख गरेको छ ।

इंग्ल्यान्ड तथा वेल्स क्रिकेट बोर्डको आयोजनामा पहिलो पटक हुन लागेको दी हन्ड्रेडमा सन्दीप ओभल इन्भिन्सिबल्समा अनुबन्ध छन् । उनी ६० हजार पाउण्डमा अनुबन्ध भएका थिए ।

सन्दीप सम्मिलित टिमले यही जुलाई २२ मा पहिलो खेल खेल्दैछ । सन्दीप इंग्ल्याण्ड पुगेर १० दिनको अनिवार्य क्वारेन्टिन समेत पूरा गरिसकेका छन् । तर भिसा समस्याका कारण सन्दीपले शुरुवाती खेल गुमाउने भएका छन् भने भिसा प्राप्त नभए पूरै प्रतियोगिता समेत गुमाउन सक्ने सम्भावना बढेको हो ।

असार २४ गते इंग्ल्याण्ड पुगेका सन्दीपले बेलायतको सरकारको नियम अनुसार १० दिनको अनिवार्य क्वारेन्टिन पूरा गरे पनि फेरि एक पटक भिसा समस्या बनेको छ । यसअघि पनि भिसा र पासपोर्टको ढिलाइका कारण सन्दीपले इंग्ल्याण्डमै भइरहेको दी भाइटालिटी ब्लास्ट गुमाइसकेका छन् ।

सन्दीप आबद्ध ओभलका कप्तान साम बिलिङ्सले अहिलेको समस्यामा यसबारे अनिश्चित रहेको बताएका छन् ।

‘यस समयमा हामी अनिश्चित छौं,’ इन्भिन्सिबल्सका कप्तान साम बिलिंग्सले भने, ‘मैले आज मात्र यसबारे थाहा पाएँ । आशा गरौं उनले खेल्न पाउनेछन् । विश्वभर विभिन्न प्रतिबन्धले गर्दा धेरै खेलाडीको लागि यो कठिन समय हो । आशा छ यो समम्याको समाधान हुन्छ । उनी विशेष प्रतिभा हुन् ।’

सन्दीपले शुरुवाती खेल गुमाउने सम्भावना हुँदा ओभलले अब उद्घाटन खेलमा दुई जना मात्र विदेशी खेलाडी पहिलो रोजाइमा खेल्ने सम्भावना छ । तीन विदेशी खेलाउन पाउने भए पनि ओभलले सुनिल नारिन र कोलनी इनग्रामलाई मात्र म्यानचेष्टर ओरिजिनल्स विरुद्धको खेलमा खेलाउन पाउनेछ ।

यस्तै सन्दीपले पूरै प्रतियोगिता गुमाउने अवस्था आए दक्षिण अफ्रिकन स्पीनर ताब्रेज शाम्सी सन्दीपलाई प्रतिस्थापन गर्न सक्ने खेलाडीको रुपमा रहेको क्रिकइन्फोले जनाएको छ । शाम्सी टी–२० वरीयतामा नम्बर वान बलर हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment