Comments Add Comment

एसईईको नतिजा नआइ ११ कक्षामा, १२ को परीक्षा नभइ भर्ना

६ साउन, काठमाडौं । उपत्यकाका निजी तथा सामुदायिक विद्यालय, कलेजहरुले एसईईको नतिजा नआउँदै कक्षा ११ मा र १२ को परीक्षा नै नभइ स्नातक तहमा धमाधम भर्ना लिन शुरु गरेका छन् ।

परीक्षा बोर्डले एसईईको नतिजा साउन मसान्तभित्र १२ को परीक्षा साउन ३१ गतेदेखि हुने भएको छ । तर यता माध्यामिक तहसम्म सञ्चालन गरिरहेका विद्यालय एवं कक्षा ११ देखि माथिका कक्षाहरु चलाउँदै आइरहेका कलेजहरुले भने कक्षा ११ र स्नातक तहमा भर्ना लिन थालेका छन् ।

कक्षा ११ मा प्रि-एडमिसन, प्रि-बुक, प्रि-रजिष्ट्रेसनलगायतका नाम दिएर भर्ना शुरु गरेको पाइन्छ । स्नातक तहमा भने एडमिसन भनेर बीबीए, बीएचम, बीबीएसलगायतको संकायमा भर्ना शुरु गरेको पाइन्छ । उपत्यकाका अधिकांश माध्यामिक विद्यालय, कलेजहरुले भर्ना खुला गरिएको सूचना आफ्ना वेबसाइटहरुमा राखेको देख्न सकिन्छ ।

एसईईको नतिजा नआइ भर्ना लिन थालेको काठमाडौं महानगरको शिक्षा शाखामा गुनासो आएपछि नतिजा नआइ भर्ना नलिन सूचना जारी गरेको छ ।

शाखा प्रमुख रामप्रसाद सुवेदीले सूचना जारी गर्दै ११ कक्षामा भर्ना गरेको पाइए कारबाही गर्ने समेत चेतावनी दिएका छन् । तर अहिले पनि भर्ना लिने काम भने रोकिएको छैन ।

अभिभावक तथा विद्यार्थीहरुले गुनासो गरेपछि काठमाडौं मोडल कलेज (केएमसी), ग्लोबल कलेजलगायत ६ वटा विभिन्न कलेज तथा विद्यालयमा फोन गरेर भर्ना कार्यक्रम स्थगित गर्न निर्देशन गरेको महानगर शिक्षा शाखा प्रमुख सुवेदीले बताए ।

महानगरले सूचना जारी गरेपछि ५० प्रतिशत भर्ना कार्यक्रम रोकिएको सुवेदीको दाबी छ । उनले भने, ‘विद्यालयले त बन्द नै गरेका छन् । तर कक्षा ११ देखि मात्रै कक्षा सञ्चालन गरिरहेका कलेजहरुले भने केहीले गरेका छन् । केहीले भने अझै भर्ना गरिरहेको जानकारी पाएका छौं ।’

नियमन गर्न दोधारमा स्थानीय सरकार

महानगर शिक्षा शाखा सुवेदी कक्षा ११ देखि कलेजको नाम दिएर कक्षा सञ्चालन गर्दै आइरहेकाहरुलाई कसले नियमन गर्ने हो भन्ने स्पष्ट नहुँदा समस्या भएको बताए ।

संविधानले माध्यामिक तह (कक्षा १२) सम्मको जिम्मेवारी र अधिकार स्थानीय सरकार मातहत व्यवस्था गरेको छ । ‘विद्यालयसँग जोडिएकालाई हामीले नियमन गर्दै आएका छौं । तर कक्षा ११ देखि कलेजको नाम दिएर संचालन गरिरहेकालाई कसले नियमन गर्ने हो भन्ने स्पष्ट नहुँदा समस्या भइरहेको छ,’ सुवेदीले भने ।

नियमनका लागि स्पष्ट नभए पनि कक्षा १२ सम्म माध्यामिक तह भएकोले अहिले ती कलेजहरुलाई पनि एसईईको नतिजा नआइ ११ कक्षामा भर्ना नलिन निर्देशन दिएको सुवेदी जानकारी दिए ।

शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्मा कक्षा १२ सम्म विद्यालय तह पर्ने भएकोले स्थानीयको क्षेत्रधिकार भित्र पर्ने बताए । उनले भने, ‘कसले र कसरी चलायो भन्ने सरोकार रहँदैन । १२ कक्षासम्म स्थानीय तहको जिम्मेवारीभित्र पर्छ । नियमन पनि स्थानीयले नै गर्ने हो,’ स्नातक तहदेखि माथिकालाई भने सम्बन्धित विश्वविद्यालयले नियमन गर्ने प्रवक्ता शर्माले बताए ।

११ कक्षामा भर्ना नलिनेलाई दबाब

जी तथा सामुदायिक विद्यालय तथा कलेजहरुले एसईईको नतिजा नआइ भर्ना शुरु गरेपछि नतिजा आएपछि भर्ना गर्ने तयारीमा रहेका विद्यालयलाई पनि भर्ना गर्न दबाब बढेको बताउँछन् ।

त्रिपुरेश्वरस्थित विश्व निकेतन माविका प्रधानाध्यापक हेरम्बराज कँडेलका अनुसार भर्ना शुरु गर्न अभिभावक तथा विद्यार्थीबाटै दबाब आउन थालेको बताउँछन् । ‘सबैले भर्ना लिन थालेका छन् । हाम्रो विद्यालयमा चाहिँ किन ढिलो भनेर आत्तिन थालेका छन् अभिभावक तथा विद्यार्थीहरु’ उनी भन्छन्, ‘११, १२ मा पढ्न आउन चाहने विद्यार्थी र उनका अभिभावकहरुले पनि भर्ना लिइदिन आग्रह गरिरहेका छन् ।’

शैक्षिक संस्थाहरुबीच हुने अस्वस्थ्य प्रतिस्पर्धाका कारण नतिजा नै नआइ भर्ना शुरु गर्ने अनैतिक र अवैधानिक काम भइरहेको नेपाल अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारी बताउँछन् । उनी भन्छन्, ‘शिक्षा व्यापारीकरण भयो । जसले गर्दा शैक्षिक संस्थाहरुबीच अस्वस्थ प्रतिस्पर्धा बढ्दै गइरहेको छ । त्यसैले यस्ता अनैतिक र अवैधानिक काम भइरहेको छ ।’

शैक्षिक संस्थाहरुले प्रि-एडमिसन, प्रि-बुकिङलगायतको शीर्षकमा आकर्षक छात्रवृत्तिको लोभ देखाएर नतिजा नै नआइ भर्ना गराउने काम स्थानीय सरकार, प्रदेश सरकार, केन्द्र सरकारले तत्काल बन्द गर्नुपर्ने उनको जोड छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
नुनुता राई

ट्रेन्डिङ

Advertisment