Comments Add Comment

दीपक चाहर नायक बन्दा भारतले एक खेल अगावै जित्यो सिरिज

६ साउन, काठमाडौं । बलर दीपक चाहरले शानदार ब्याटिङ गर्दै अर्धशतक बनाएपछि भारतले दोस्रो एकदिवसीयमा श्रीलंकालाई ३ विकेटले पराजित गर्दै एक खेल अगावै सिरिज आफ्नो पक्षमा पारेको छ । तीन खेलको सिरिज भारतले २-० ले जितिसकेको छ ।

पहिलो एकदिवसीयमा सहज जित हात पारेको भारतले दोस्रो खेलमा भने श्रीलंकालाई हराउन संघर्ष गर्नुपर्‍यो । तर आठौं नम्बरमा ब्याटिङ गर्दै दीपक चाहरले शानदार ब्याटिङ गरेपछि भारतले पाँच बल अगावै ७ विकेट गुमाएर २७६ रनको लक्ष्य पूरा गरेको हो ।

अलराउण्ड प्रदर्शन गरेका चाहरले अविजित ६९ रन बनाए । त्यसअघि उनल दुई विकेट लिएका थिए । ८२ बल खेलेका चाहरले सात चौका र एक छक्का प्रहार गरे । उनलाई साथ दिएका भुवनेश्वर कुमार १९ रनमा अविजित रहे । यी दुईले आठौं विकेटका लागि अविजित ८४ रनको साझेदारी गरे ।

यसबाहेक भारतका लागि सूर्यकुमार यादवले ५३, मनिष पाण्डले ३७, क्रुनल पाण्ड्याले ३५ र कप्तान शिखर धवनले २९ रन जोडे ।

बलिङमा श्रीलंकाका वानिन्नदु हासारंगाले १० ओभरमा ३७ रन मात्र खर्चेर तीन विकेट लिए ।

त्यसअघि कोलोम्बोस्थित आर प्रेमदासा स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले चरिथ असालांकाको अर्धशतकमा पूरै ५० ओभर खेल्दै ९ विकेट गुमाएर २७५ रन बनाएको थियो । असालांकाले ६८ बल खेल्दै ६ चौका मद्दतमा ६५ रन बनाए । यस्तै ओपनर आभिस्का फर्नान्डोले ५०, विकेटकिपर मिनोद भानुकाले ३६ र धनन्जय डा शिल्भाले ३२ रन जोडेचमिका करुणारत्नेले अविजित ४४ रन बनाए ।

भारतका लागि बलिङमा भुवनेश्वर कुमार युजभेन्द्र चहालले ३-३ तथा दीपक चाहरले दुई विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment