Comments Add Comment

आयल निगमको सबै कारोबार एउटै अनलाइन प्रणालीमा

६ साउन, काठमाडौं । नेपाल आयल निगमले एकीकृत सूचना प्रविधिमा आधारित इन्टरप्राइज रिसोर्स प्लानिङ प्रणाली -ईआरपी) कार्यान्वयनमा ल्याएको छ । एक वर्षको तयारीपछि ईआरपीको कार्यान्वयन सुरु भएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।

पहिलो चरणमा आइतबारदेखि देशैभरका निगमको डिपोहरुबाट विद्युतीय लेखा प्रणालीमा आधारित भुक्तानी सेवा सुरु भएको उनले बताए ।

‘निगमसँग तेल खरिद गर्ने व्यापारीहरु अब घरमै बसेर विद्युतीय प्रणालीमा आधारित कारोबार गर्न सक्छन्, निगमको र लेखा प्रशासन अब विद्युतीय भएको छ,’ प्रवक्ता उपाध्यायले भने ।

अब देखि निगमले उपलब्ध गराएको युजर नाम र पासवर्डबाट प्रणालीमै व्यवसायीले तेलको अर्डर गर्न र त्यसको भुक्तानी पनि गर्न सक्ने उनको भनाइ छ ।

विद्युतीय माग र भुक्तानीकै आधारमा डिपोमा पुग्ने ट्यांकरमा तेल लोड हुने हुँदा निगममा बैंक भौचर र नगद कारोबारको युगको अन्त्य भएको प्रवक्ता उपाध्यायले बताए । ईआरपी अन्र्तगतको विद्युतीय कारोबारको थालनीको आइतबार निगमको सूदुरपश्चिम प्रादेशिक कार्यालयबाट गरिएको निगमका कार्यकारी निर्देशक सुरेन्द्र कुमार पौडेलले बताए ।

‘आइतबार हामीले सुदुरपश्चिम प्रदेशबाट विद्युतीय बिल जारी गरेका छौं, देशैभरका डिपोहरुमा यो प्रयोग भइरहेको छ,’ कार्यकारी निर्देशक पौडेलले भने ।

ईआरपीको बिभिन्न टुल्सहरुमध्ये पहिलो चरणमा निगमको सबै कारोबार विद्युतीय र डिजिटल बैकिङमा आधारित भएको उनले बताए । निगमको बागमति प्रादेशिक डिपोले नयाँ प्रविधिमा आधारित बिलिङ प्रणालीबाट सोमबार ठूलो मात्रामा डिजेल, पेट्रोल र मटीतेलको कारोबार गरेको दाबी गरेको छ । एकै दिन ९ लाख ३२ हजार लिटर पेट्रोल, ७ लाख ७६ हजार लिटर डिजेल र २० हजार लिटर मटितेलको कारोबार इआरपी बिलिङ प्रणालीबाट गरिएको डिपो प्रमुख अभिशेष ठाकुरले बताए ।

पहिले निगमको खातामा रकम डिपोजिट गरेर भौचर लिएर ट्यांकर डिपोमा आउनुपर्नेमा अब त्यो झन्झट हटेको ठाकुरले बताए ।

‘व्यवसायीले ईआरपी प्रणालीको यूजरमार्फत तेल अर्डर गरेर कनेक्ट आईपीएसमार्फत निगमको खातामा रकम भक्तानी गर्छन, त्यो जानकारी सिस्टमले हामीलाई दिन्छ, अनि हामी तेलको डेलिभरी दिन्छौं,’ डिपो प्रमुख ठाकुरले भने । नयाँ प्रणालीपछि निगमको सेवा प्रवाहमा निकै चुस्तता आएको उनले दाबी गरे ।

देशकै सबैभन्दा ठुलो इन्धन भण्डारण डिपो अमलेखगञ्जले नयाँ प्रणालीबाट शतप्रतिशत कारोबार गरेको डिपो प्रमुख प्रदीप कुमार यादवले बताए ।

पहिलो दिन तीन गते ५० लाख लिटर, चार गते ४० लाख लिटर र मंगलबार ४३ लाख लिटर इन्धन डिपोबाट नयाँ प्रणालीमार्फत बिक्री गरिएको प्रमुख यादवले जानकारी दिए । निगमका प्रवक्ता विनितमणि उपाध्यायकाअनुसार अहिले सातै प्रदेशका डिपोहरुमा यो प्रणालीबाट परिक्षण र सुधारसहितको सेवा प्रवाह भइरहेको छ ।

निगमले लागू गरेको प्रणाली नयाँ भएका कारण ब्यावहारिक सञ्चालनमा समस्या देखिएको नेपाल पेट्रोलियम डिलर राष्ट्रिय एशोसिएसनले जनाएको छ । ‘व्यवसायीले गरेको भुक्तानीको बिल निस्कन समस्या भएको छ ।

जनकपुर र दाङमा धेरै समस्या आएको गुनासो आएको छ,’ एशोसिएसनका अध्यक्ष लिलेन्द्रप्रसाद प्रधानले भने । पुरानो प्रणाली यथावत राखेर नयाँ पनि प्रयोग गर्दै जानु पर्नेमा निगमले पुरानो भत्काएर नयाँ लागू गर्दा केही समस्या देखिएको प्रधानको भनाइ छ । प्रणाली सहज कार्यान्वयनका लागि व्यवसायीलाई तालिम दिइनुपर्ने पनि उनले बताए ।

एकीकृत प्रणाली पनि छिट्टै

पहिलो चरणमा इआरपीमार्फत निगमको लेखा प्रणालीलाई विद्युतीय भूक्तानीमा आधारित बनाइएको र बिस्तारै सबै काम ईआरपी प्रणालीमै लैजाने निगमले जनाएको छ ।

भारतीय आयल कर्पोरेसनदेखि निगमको तेल बिक्री गर्ने सबै पेट्रोल पम्पसमेत एउटै सूचना प्रविधिमा जोडिने प्रणालीमा इन्धन बिक्री, कर्मचारीको हाजिरी, तलव र आर्थिक विवरण, ट्यांकरको जिपीएस ट्र्याकिङ लगायतका विषय जोडिने निगमका कार्यकारी निर्देशक सुरेन्द्र कुमार पौडेलले बताए ।

‘निगमको लेखा, प्रशासन, वितरण, इन्जिनियरिङ, सबै प्रदेशिक डिपो, शाखा कार्यालय, हवाई इन्धन डिपो तथा ट्यांकरलाई समेत यो प्रविधिसँग छिट्टै एकीकृत हुन्छ,’ कार्यकारी निर्देशक पौडेलले भने ।

प्रणाली पूर्ण फेजमा सञ्चालनमा आएपछि निगमको सबै प्रणाली एकै क्लिकबाट अनुगमन, निरिक्षण र चुहावट पहिल्याउन सकिने पौडेलको दावी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
नवीन ढुंगाना

ट्रेन्डिङ

Advertisment