+
+
Shares

बीपी प्रतिष्ठानबाट फर्कियो उच्चस्तरीय कार्यदल, १५ दिनभित्र प्रतिवेदन दिने

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन ६ गते १७:५६
फाइल तस्वीर

६ साउन, धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको समस्या समाधान गर्न गठित उच्चस्तरीय अध्ययन कार्यदल काठमाडौं फर्केको छ ।

प्रधानमन्त्री एवं मन्त्रिपरिषद् कार्यालयका सचिव डा. बैकुण्ठ अर्यालको संयोजकत्वको कार्यदलले धरान पुगी आन्दोलनरत समूह, प्रतिष्ठानका पदाधिकारी, विभागीय प्रमुखसँग छलफल गरी मंगलबार काठमाडौं फर्किएको हो ।

कार्यदलका सदस्य सचिव सहसचिव शंकर नेपालले कार्यदलले १५ दिनभित्र प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाउने बताए । प्रतिष्ठानका पदाधिकारीसँग वार्ता गरी अनियमितता भएको भनिएका विषयमा छानबिन गरी प्रतिवेदन पेश गर्ने गरी कार्यदल गठन भएको थियो ।

‘हामीले सबै पक्षसँग बसेर छलफल गरेर फर्केका छौं । सक्दो छिटो प्रतिवेदन बुझाउने छौं,’ उनले भने ।

प्रतिष्ठानको शुद्धीकरण गर्ने भन्दै चिकित्सक, विद्यार्थी, कर्मचारी र नर्सहरुले ३५ दिनदेखि निरन्तर आन्दोलन गर्दै आएका छन् । गत असार १५ गते आन्दोलनरत समूहलाई वार्तामा बोलाएर उपकुलपति डा. ज्ञानेन्द्र गिरीले मदिरा सेवन गरेर आएको भन्दै वार्ता भंग भएको थियो । असार १६ गते चारैजना पदाधिकारीहरुको राजीनामाको माग गर्दै आन्दोलनरत पक्षले उनीहरुको कार्यकक्षमा तालाबन्दी गरेका थिए ।

आन्दोलनरत पक्षले बीपी प्रतिष्ठानका  पदाधिकारीसँग वार्ता नगर्ने, प्रधानमन्त्री अथवा स्वास्थ्यमन्त्रीद्वारा गठित उच्चस्तरीय समितिसँग मात्र वार्ता गर्ने अडान लिंदै आएका थिए । शेरबहादुर देउवा प्रधानमन्त्री भएलगत्तै आन्दोलनकारीले ४८ घण्टाभित्र माग पूरा नगरे सम्पूर्ण सेवा बहिष्कार गर्ने चेतावनी दिएपछि प्रधानमन्त्री एवं कुलपति देउवाले असार ३१ गते कार्यदल गठन गरेका थिए । बीपी प्रतिष्ठानको आन्दोलनलाई समर्थन गर्दै काठमाडौंमा पनि बृहत नागरिक आन्दोलनले प्रदर्शन गरेको थियो ।

कार्यदलका सदस्यहरुमा शिक्षा मन्त्रालयका सहसचिव डा. बैकुण्ठ लम्साल, स्वास्थ्य मन्त्रालयका सहसचिव डा. गुणराज लोहनी, कानून मन्त्रालयका सहसचिव सुशील कोइराला, महालेखा नियन्त्रक कार्यालयका सहमहालेखा नियन्त्रक ज्ञानेन्द्र पौडेल, सार्वजनिक खरिद अनुगमन कार्यालयबाट सहसचिव विष्णु कोइराला छन् । बीपी प्रतिष्ठानका सिनेटर एवं प्राध्यापक डा. सञ्जीव शर्मा पनि कार्यदल सदस्य छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?