+
+

समकक्षताको प्रमाणपत्र लिन दुई वर्षदेखि त्रिवि धाइरहेका लालबाबु

नुनुता राई नुनुता राई
२०७८ साउन ६ गते २०:४५

६ साउन, काठमाडौं । महोत्तरीका लालबाबु कुमार यादवले भारतबाट अप्रेसन थिएटर टेक्नोलोजीमा बीएस्सी उतीर्ण गरेको दुई वर्ष भयो ।

हरियाणाको महाऋषि मार्कन्डेश्वर विश्वविद्यालयबाट साढे ३ वर्षको कोर्स पूरा गरी उनी नेपालमै रोजगारी गर्ने र उच्च शिक्षा हासिल गर्ने उद्देश्यले स्वदेश फर्किए ।

लालबाबुजस्तै विदेशी विश्वविद्यालय अध्ययन गर्नेहरुले नेपालको त्रिभुवन विश्वविद्यालयको पाठ्यक्रम विकास केन्द्रबाट समकक्षता लिनुपर्छ । त्यसै अनुसार उनले आवश्यक कागजातसहित २०७६ साल असार १२ गते निवेदन दिए ।

उनलाई ४५ दिनपछि कागजात लिन आउन भनियो । ४५ दिनपछि कागजात लिन जाँदा उनलाई त्यहाँका कर्मचारीले अध्ययन अवधि छोटो भएको भन्दै चार वर्ष स्नातक पढेको कागजात ल्याउन अथवा ६ महिना इन्टर्न गरेको प्रमाण ल्याउन भने ।

लालबाबुले कोर्स नै साढे तीन वर्षको हो कसरी थप कागजात ल्याउने भन्दा ‘त्यो त कसरी ल्याउने तिम्रो समस्या हो’ भने ।

लालबाबुले आफूले पढेको कलेजमा फोन गरे । कलेजले प्रमाणीकरण (समकक्षी मान्यता) का लागि मागेको कागजातप्रति अचम्म मान्दै कोर्स नै साढे तीन वर्षको भएकोले चार वर्षको कागजात नै नहुने जानकारी दियो ।

लालबाबुले जागिरका लागि तेह्रथुमको जिल्ला अस्पतालमा आवेदन दिएका थिए । त्यसैले त्रिविबाट समकक्षताका लागि आवेदन दिएको पत्र लिए र त्यसै आधारमा जागिरका लागि तेह्रथुम जिल्ला अस्पताल पुगे ।

५ महिनापछि लालबाबु फेरि त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खु पुगे । शुरुमा कागजात बुझाएको एक नम्बर झ्यालमा गए । समकक्षताको प्रमाणपत्र तयार भएको वा नभएको जानकारी मागे । यसपटक त्यहाँकी कर्मचारीले कलेजको पाठ्यक्रम, छापसहित कागजात बुझाउन सुझाव दिइन् ।

लालबाबुले शुरुमा नै ओरिजिनल पाठ्यक्रम र कलेजको छापसहितका कागजात बुझाएका थिए । कुनै कारणवश हराएको हुन सक्छ भनेर कलेजमा अध्ययनरत साथीसँग ती कागजपत्र इमेलमा मगाए र प्रिन्ट गरेर बुझाए ।

त्यसबेला उनले समकक्षी मान्यता शाखाका सुशील दाहाललाई पनि भेटे । दाहालले ‘अब तिम्रो काम हुन्छ । अब बस्ने मिटिङले इक्वीभ्यालेन्ट गर्छ’ भन्ने जवाफ दिएको लालबाबु बताउँछन् । उनी ढुक्क भएर पुनः तेह्रथुममा जागिरमा फर्किए । त्यसपछि कोरोना महामारी रोकथामका लागि लकडाउन भयो । यही क्रममा उनले तेह्रथुमको जागिर छाडे र दार्चुला जिल्ला अस्पतालमा जागिर शुरु गरे ।

त्रिविले छिट्टै काम हुन्छ भनेकाले कागजात लिन भाइलाई पठाए । उनका भाइले त्रिविमा बुझ्दा फेरि आधिकारिक पाठ्यक्रम नभएकोले समकक्षता दिन नसकिने उत्तर पाए । त्रिविका कर्मचारीले पुनः आधिकारिक पाठ्यक्रमसहित सम्पूर्ण कागजात बुझाउन भने । उनका भाइले फेरि बुझाए । त्यसपछि दोस्रो लहरको कोरोना संक्रमण तीव्र गतिमा फैलन थालेपछि फेरि निषेधाज्ञा भयो ।

समकक्षी मान्यताको प्रक्रियामा रहेको कागजातले ६ महिना मात्रै जागिर खान मिल्छ । तर उनले कोरोना महामारीको समय हुनाले काम छाड्नुपरेको छैन । तर सधैं यसरी चल्दैन भनेर समकक्षताको प्रमाणपत्र लिन दार्चुलाबाट मोटरसाइकलमै काठमाडौं आइपुगेका छन् ।

असार ४ गते पुनः परीक्षा नियन्त्रण कार्यालय बल्खु पुगे । तर मिटिङ हुन नसकेको भन्दै समकक्षताको प्रमाणपत्र दिइएन । उनलाई शंका लागेपछि कागजात हेर्न मागे । कागजात हेर्न कोठा नम्बर एकमा पुग्दा त्यहाँको कर्मचारीले ‘कहाँ गएको धोती बाहिर जा’ भनेर हप्काए ।

असार ५ गते पुनः अनुरोध गरेर कागजात माग्दा उनको कागजातको फाइलभित्र आफूले बुझाएको कलेजको पाठ्यक्रम भेटेनन् । उनी भन्छन् ‘मलाई विभिन्न बहाना बनाए पनि सम्बन्धित ठाउँमा नै कागजात पुग्न दिइएको छैन ।

आफूसँगै अर्को कलेज पढेर आएका साथीहरुले समकक्षी मान्यता प्राप्त गरेर जागिर खाइरहेको लालबाबु बताउँछन् ।

पहिलो पटक कागजात बुझाउन जाँदा नै त्यहाँका एक कर्मचारीले आफूलाई घुस मागेको, तर आफूले नदिएका कारण समकक्षताको प्रमाणपत्र नपाएको लालबाबुको भनाइ छ ।

एक दिन त्रिविका मिश्रा थरका एक कर्मचारीले लालबाबुलाई स्कुटरमा राखेर कार्यालयदेखि परको कुनै ठाउँमा लगे । ‘जनकपुरको अञ्चल अस्पताल जाउ । त्यहाँ मेरो साथी छ उसलाई भेट । तिमीले केही गर्नुपर्दैन, प्रमाणपत्र उसले दिन्छ । दश हजार जत्ति दिनुपर्छ’ ती कर्मचारीले आफूसँग गरेको प्रस्तावबारे लालबाबुले भने ।

तर लालबाबुले उनको प्रस्ताव स्वीकार गरेनन् । उनले नियमित प्रक्रियाबाटै प्रमाणपत्र पाउने आशा गरिरहे । अहिले आएर सोच्दा लालबाबुलाई यसरी झुलाउनुको कारण उनले भनेको नमान्नु हो कि भन्ने लाग्छ । त्रिविमा बुझाएको कागजात उनैले त गायब बनाइदिएको हो कि भन्ने आशंका पनि लालबाबुमा छ ।

‘दुई वर्षमा मैले ४ पटक प्रमाणीकरणका लागि कागजात बुझाइसकेको छु । पटक पटक हराउँछ । कर्मचारीको लापरबाहीले मेरो भविष्य अलमलमा छ’ उनी भन्छन् ।

त्रिवि पाठ्यक्रम विकास केन्द्रका प्रमुख प्रा. डा. पारसनाथ यादव भने कागजात पुगेको अवस्थामा समकक्षी मान्यता दिन समय नलाग्ने बताउँछन् ।

प्रा. डा. यादव भन्छन् ‘मलाई यो विषयमा जानकारी छैन । तर केही कागजात नपुगेको कारण ढिलाई भएको हुनसक्छ । पूर्वाग्राही काम गर्न अल्छी गरेर कसैलाई पनि ढिलाई गरिदिने काम यहाँबाट हुँदैन ।’

हेर्नुहोस् भिडियो

लेखकको बारेमा
नुनुता राई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?