
७ साउन, धनगढी । कञ्चनपुरमा साउन १७ गतेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको सिफारिसमा प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेले साउन १७ गते राति १२ बजेसम्म लागु हुने गरी निषेधाज्ञा थप गरेका हुन् ।
प्रमुख जिल्ला अधिकारीले जारी गरेको आदेशमा मानिसको भीडभाड हुने सबै प्रकारका सभा सम्मेलन, सिनेमा हल, पार्टी प्यालेस, मनोरञ्जन स्थल, खेलकुद लगायतका कार्यक्रम सञ्चालन गर्न नपाइने उल्लेख छ । यसैगरी शैक्षिक संस्थाहरुमा भौतिक रुपमा उपस्थित भएर पठनपाठन नगर्ने, विवाह, ब्रतबन्ध तथा सामूहिक रुपमा गरिने धार्मिक कार्यमा १० जनासम्म सहभागी हुने पाउने जनाइएको छ ।
यस अवधिमा सबै प्रकारका पसल व्यवसाय बिहान ६ देखि साँझ ६ बजेसम्म सञ्चालन गर्न सकिने, बढीमा २५ जनाको सहभागितामा तालिम तथा गोष्ठी गर्न पाइनेछ ।
यात्रुहरुको आवागमनलाई ध्यानमा राखेर मध्यम तथा लामो दूरीका सवारीसाधन सञ्चालनका लागि सहजीकरण गर्ने र जिल्लाभित्र सञ्चालन हुने अत्यावश्यक बाहेक सबै प्रकारका सवारीसाधन बिहान ६ देखि बेलुका ७ बजेसम्म सञ्चालन गर्न सकिने व्यवस्थालाई निरन्तरता दिइएको छ ।
प्रतिक्रिया 4