Comments Add Comment

खोप लगाउन होइन, लगाएको प्रमाण लिन मध्यरातदेखि लाइनमा

७ साउन, काठमाडौं । बिहीबार दिउँसो टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाहिर ठेलमठेल लाइन थियो । अस्पताल भित्रबाट शुरु भएको लाइन मुख्य सडकसम्म आइपुगेको थियो ।

लाइन बस्दाबस्दै एक जना युवती बेहोस पनि भइन् । राति १ बजेदेखि मध्य दिउँसोसम्म कुर्दा पनि पालो नपाएको भन्दै आक्रोशको स्वर सुनिन्थ्यो । भोकै पेट घाममा बस्दाबस्दै निराश भइसकेका कतिपय भने व्यवस्थापन राम्रो भएन भन्दै नाराबाजी गरे र अस्पतालको गेट ठेल्न थाले । गेट खुलेर सबैजना भित्र छिर्न खोज्दा प्रहरीले लाठीचार्ज समेत गर्‍यो ।

त्यही बेला कोरोना संक्रमितलाई बोकेर एउटा एम्बुलेन्स आयो । तर अस्पतालको गेट लागाएका कारण सहजै प्रवेश पाएन । करिब १० मिनेट लगाएर प्रहरीले भिड पन्छाउदै गेट खोल्यो । एम्बुलेन्ससँगै केही मानिस पनि भित्र छिरे । धेरैलाई भने बाहिरै रोक्न प्रहरी सफल भयो ।

त्यही बेला कोरोनाको खोप लगाएको कार्ड प्रमाणीकरण गरेर निस्किएका सर्लाहीको रामु यादवले सुनाए, ‘यही जाबो एउटा कागजको खोस्टोका लागि १२ घण्टा भोकभोकै लाइन बस्नुपर्‍यो ।’

यो लाइनमा धेरैजसो विदेश जाने तयारीमा रहेका नेपालीहरु छन्, जसले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । तर खोप कार्ड प्रमाणीकरण गराउनुपर्ने हुनाले यहाँ लाइन लाग्न आएका छन् । खोप कार्ड प्रमाणीकरणका लागि टेकु अस्पतालमात्र तोकिएकाले अत्यधिक भिड लागेको छ ।

थोरै जनशक्तिबाट काम गर्नुपर्ने र सानो ठाउँ भएका कारण भीड व्यवस्थापन गर्न नसकेको अस्पतालका निर्देशक डा. अनुप बास्तोला बताउँछन् । गएका तीन/चार दिनयता खोप लगाउने, खोप कार्ड प्रमाणीकरण गर्ने र अन्य सेवा लिने मानिसहरुका कारण अत्यधिक भीड भएको भन्दै उनी भन्छन्, ‘मानिसहरु यति धेरै ओइरिए कि हामीले केही गर्नै सकेका छैनौं ।’

वैदेशिक रोजगारीमा जान सबै देशमा खोप अनिवार्य छैन, तर खोप नलगाई जाँदा आफ्नै खर्चमा क्वारेन्टिनमा बस्नुपर्छ । कतारमा १४ दिन बस्नुपर्ने क्वारेन्टिन बस्दा २५०० देखि ३६०० कतारी रियालसम्म खर्चिनुपर्छ । साउदीमा ७ दिन बस्नुपर्ने क्वारेन्टन खर्च ८०० देखि एक हजार डलरसम्म छ । यो खर्च आफैं तिर्नु पर्ने हुनाले नेपाली सकेसम्म खोप लगाएरै जान चाहन्छन् ।

तर खोप कार्डमा उल्लेखित विवरण अंग्रेजीमा नभरेको, आधिकारिक छाप नभएको र कतिपय ठाउँमा नेपालीमा नाम लेखेको र विवरण नभरी खाली छाडेको छन्, जसले खोप कार्ड प्रमाणीकरण गर्नुपर्ने भएको छ । भिसा तथा नागरिकताको विवरणभन्दा फरक भएको र नक्कली खोप कार्ड बनाउने सम्भावना भएकाले पनि खोप कार्ड प्रमाणीकरण गर्नुपरेको स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखा प्रमुख डा. तारानाथ पोखरेल बताउँछन् ।

उनका अनुसार खोप केन्द्रहरुले भर्नुपर्ने विवरण मनपरी भरेका कारण र नक्कली खोप कार्ड बनाउने सम्भावना भएकाले अन्य देशमा नेपालको खोप कार्डले सिधै मान्यता नपाउने स्थिति छ ।

खोप प्रमाणीकरणका लागि टेकु अस्पतालबाहिर जम्मा भएको त्यही भिडमा भेटिए काभ्रेका ३१ वर्षीय दीपेन तामाङ । बिहीबार विहान साढे ३ बजे नै टेकु अस्पताल पुगेका उनी दिउँसोको १२ बज्दासम्म लाइनमै थिए । उनी भन्दा अगाडि अझै ३०० जना थिए । ‘सबै प्रकिया पूरा भइसकेको छ, अब खोप कार्ड प्रमाणीकरण गर्नासाथ टिकट फिक्स हुन्छ,’ उनले भने ।

उनका अनुसार खोप कार्ड प्रमाणीकरण गराउन आएका केही मानिस अघिल्लो साँझ नै टेकु अस्पतालको गेटमा सुतेका थिए । ‘यतिधेरै मान्छे आएका छन्, कसरी सहज सेवा दिने भनेर अस्पताल प्रशासनले काम गरेको छैन । सिस्टम नबनाउँदा हामीले दुःख पाइरहेका छौं,’ दीपेनले भने ।

महोत्तरीका गगनदेव महतो पनि राति ३ बजे नै टेकुस्थित अस्पतालमा लाइन बस्न पुगेका थिए । भिडभाड र ठेलमठेलले खुट्टा र हातमा सामान्य चोट लागेको छ । खोप लगाउँदा नै यो सुविधा दिएको भए यो हदको सास्ती खेप्न नपर्ने उनी बताउँछन् । ‘हिजो राति खाएदेखि केही खान पाएको छैन, अझै कतिञ्जेल लाइनमा बस्नुपर्ने हो,’ उनी निराश हुँदै सुनाउँछन् ।

काभ्रेको बीएन तामाङ पनि अस्पताल प्रशासनले प्रष्ट सूचना नदिँदा दुःख पाएको बताउँछन् । खोप कार्ड प्रमाणीकरण गराउन जानेले पहिले टोकन लिनुपर्छ, त्यसपछि पैसा तिरेर रसिद लिनुपर्छ । अनि खोप कार्ड प्रमाणीकरण गराउन अर्को छुट्टै लाइन बस्नुपर्छ । ‘टोकन लिन र रसिद काट्न पनि लाइन, त्यसपछि प्रमाणीकरण गर्न अर्को लाइन, टोकन नलिनेहरुले के गर्ने भन्ने विषयमा कसैलाई जानकारी छैन’ उनी दिक्क मान्दै भन्छन् ।

टेकु अस्पतालको प्रांगणमा भिड नियण्त्रणको लागि खटिएका प्रहरीहरु समेत भिडको आक्रोश थेग्न नसकेर थकित छन् । लाइनमा बसेका धेरै मानिस त्यत्तिकै लाइन बसेका छन् । ‘आज पालो सकियो, भोलि आउनु’ भन्ने प्रहरीको आग्रहलाई अटेर गर्दै उनीहरु जवाफ दिन्छन्, ‘१२ घण्टाभन्दा बढी भो लाइनमा बसेको अब नपाएर हुन्छ ?’ प्रश्न सुनेर प्रहरी लाचार भए ।

सर्लाहीका जितेन्द्र महतो पनि खोप कार्ड प्रमाणीकरणको व्यवस्थापन देखेर आजित थिए । ‘देश वैदेशिक रोजगारीको रेमिट्यान्स चलेको छ, तर हामीलाई जतागएपनि सास्ती उस्तै छ ।’

सिरहाका अवधेश झा पनि १२ घण्टा लाइन बस्दासम्म खोप कार्ड प्रमाणीकरण नपाउँदा अन्यौलमा थिए । टोकन नपाएको र मानिसको भिड थामिनसक्नु भएकाले आज लाइनमै बस्नु मात्रै हुन्छ होला भनेर उनी डराएका थिए । ‘यत्रो लाइनमा बसेर काम भएन भने त बिजोग हुन्छ नि,’ उनले सुनाए ।

अस्पतालका निर्देशक डा. बास्तोला खोप प्रमाणीकरणको लागि अन्य केन्द्र तोक्नको लागि मन्त्रालयमा कुरा राखेको बताउँछन् । भन्छन्, ‘हामी चाप थेग्न नसक्ने अवस्थामा छौं, मन्त्रालयले सम्भवत यो विषयमा चाडै केही निर्णय गर्नेछ ।’

किन प्रमाणीकरण गराउनुपर्छ ?

स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका निर्देशक डा. तारानाथ पोखरेल नेपालको खोप कार्डमा कुनै समस्या नभएको बताउँछन् । खोप ऐन अनुसार एकापट्टी अंग्रेजी र एकापट्टी नेपालीमा विवरण भर छाप लगाउने ठाउँ छ । तर खोप केन्द्रहरुले विवरण भर्ने बेलामा ख्याल नगर्दा यस्तो समस्या आएको भन्दै उनले भने, ‘खोपको विवरण र पासपोर्टको विवरण फरक फरक र नबुझिने भएकाले विदेश गएर नेपालीले दु:ख नपाउन् भनेर खोप कार्ड प्रमाणीकरण गर्नु परेको हो ।’

स्थानीय तहबाट नै प्रमाणीकरण गर्न मिल्ने भए पनि केही देशको राजदूतावासले केन्द्रीयस्तरबाट प्रमाणीकरण गर्नुपर्ने भनेकाले भिड लागेको डा. पोखरेल बताउँछन् । उनका अनुसार नक्कली खोप कार्ड बनाउने खतरा बढेकाले पनि यस्तो व्यवस्था गरिएको हो ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीर अधिकारी विवरण खोप कार्डको विवरण सही भएको भए र सबैले अंग्रेजीमा भरेको भए यो सास्ती नहुने बताउँछन् । उनका अनुसार धेरै मानिसको पासपोर्ट र खोप कार्डको विवरण नमिलेका कारण सम्बन्धित देशको दूतावासले प्रमाणीकरण गर्नुपर्ने बाध्यकारी व्यवस्था गरेको हो ।

खोप प्रमाणीकरण गर्ने अन्य स्थान तोक्नको लागि छलफल गर्ने उनले बताए । ‘यस्तो थेगिनसक्नुको भिड होला भन्ने अनुमान थिएन, छिट्टै हामी यो विषयमा निर्णय गर्छौं’ उनले भने ।

यो पनि पढ्नुहोस कोरोना खोप लगाएको प्रमाणपत्र लिन ठेलमठेल

तस्वीर र भिडियो : विकास श्रेष्ठ/आर्यन धिमाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
सागर बुढाथोकी

ट्रेन्डिङ

Advertisment