Comments Add Comment

‘बीमामा झन् धेरै आकर्षण बढ्नेछ’

८ साउन, काठमाडौं । गत वर्ष कोरोना संक्रमण रोक्न सरकारले लकडाउन गर्यो । लकडाउन गरे पनि बैंक तथा बीमा क्षेत्रलाई अत्यावश्यक भन्दै पासका आधारमा सिमित कार्यालयहरु खोलेर सेवा दिन सरकारले अनुमति दियो । तर पनि बीमा कम्पनीहरुले धेरै राम्रो व्यवसाय गर्न सकेनन् । लकडाउन खुलेपछि भने गत वर्ष निकै राम्रो व्यवसाय भएको भएको थियो ।

कोरोना संक्रमणको दोस्रो भेरियण्टको खतरा बढेपछि सरकारले पुनः यसपाली निषेधाज्ञा जारी गर्यो । गत वर्षको भन्दा यस वर्षको निषेधाज्ञाले बीमा क्षेत्रलाई निकै ठूलो असर गरेको युनियन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत मनोज लाल बताउँछन् । बीमा बजारलाई परेको असर र सम्भावनाबारे लालसँग गरिएको कुराकानी–

अहिलेको बीमा बजारको अवस्थालाई कसरी मूल्यांकन गर्नुहुन्छ ?

अहिले नेपाली बीमा बजार निकै राम्रो सुधारिएको छ । नागरिकमा बीमाप्रति जुन किसिमको चेतना हुनुपर्ने हो त्यो निकै बढेको छ । गाउँ–गाउँमा पनि बीमाबारे चेतनााको विकास भएको छ । पहिला–पहिला बीमा भनेको सहर केन्द्रित थियो ।

सहरमा बस्ने मान्छेहरुले मात्रै बीमा गर्थे । उनीहरुले मात्रै बीमाको महत्व बुझेका थिए । तर अहिले अवस्था फरक भएको छ । बीमा सहरका मान्छेहरुको मात्रै होइन गाउँका मान्छेहरुको पनि आकर्षण देखिएको छ । अहिले धेरै बीमा गर्नेहरु गाउँका हुनुहुन्छ ।

यसले बीमामा नागरिकको आकर्षण बढेको छ भन्ने प्रष्ट देखाउँछ । समग्रमा हेर्दा निकै राम्रो छ । तर कुनै महिनाको मात्रै कुरा गर्ने हो भने नतिजा अलि फरक आउन सक्छ । यो महिना वा अघिल्लो महिना बीमा कम भएको देखिन्छ । चैत १५ सम्म बिजनेश राम्रै थियो, त्यसपछि भने घटेको अवस्था छ ।

दोस्रो भेरियण्टको कोरोनापछि भएको बन्दाबन्दीपछि भने विजनेश ठप्प भयो । विजनेश नै नभएको होइन, भयो । तर एकदमै कम, लगभग ठप्प । अब बन्दाबन्दी भएपछि हाम्रा कर्मचारीहरु कार्यालय आउने कुरा भएन । अभिकर्ताहरुले पनि मान्छे भेटेर बीमा गराउन सक्नु भएन । भेटघाट नै ठप्प भएपछि त बिजनेश आउने कुरा भएन ।

भनेपछि कोरोनाको असर बीमा क्षेत्रमा निकै ठूलो देखियो ?

कोभिडले निकै ठूलो असर गरेको छ । शुरुमा केही जिल्ला बन्द भयो, क्रमशः देशभर बन्द भयो । सबै क्षेत्र बन्द हुँदा बीमा क्षेत्रलाई असर नपर्ने भन्ने कुरा भएन । हाम्रा सबै शाखा कार्यालयहरु बन्द भए । बन्द भएपछि बिजनेश ल्याऊ भन्ने कुरा पनि भएन ।

हाम्रा स्टाफहरुलाई, हाम्रा अभिकर्ताहरुलाई अरुबेला बिजनेश ल्याउनुस् भनिन्थ्यो भने यो बेलामा हामीले सजग रहनुस् भन्यौं । आफू सुरक्षित रहनुस् भन्नुपर्यो । यस्तो अवस्थामा कसरी बिजनेश आउँछ ? कोभिडले समग्र बीमा बजारलाई निकै ठूलो असर गरेको छ ।

गत वर्षको लककडाउनपछि त बीमा व्यवसाय बढेको थियो होइन र ?

गत साल चैत ११ लकडाउन भयो, त्यसपछि जेठ महिनामा खुल्यो । जेठमा खुल्नेवित्तिकै असार महिनामा राम्रोसँग काम गर्न पाइयो । हाम्रो कम्पनीको राम्रो बिजनेश भयो, अन्य कम्पनीहरुले पनि त्यसबेला राम्रै व्यवसाय गरे ।

तर यसपालि त्यस्तो भएन । असारसम्म पनि लकडाउन नै रह्यो । बैंक र बीमालाई अत्यावश्यक क्षेत्रको रुपमा राखेर खोल्न केही समय सरकारले दिएको थियो । हामी त कार्यालय आउथ्यौं । तर हाम्रा अभिकर्ताहरु र सबै कर्मचारीहरु कार्यालय आउन सम्भव थिएन ।

जम्मा पाँच वटा पास दिइएको थियो । अभिकर्ताहरु सुरक्षित भएर घरमा बसेको अवस्था थियो । मान्छेको मृत्यु हुने संख्या पनि निकै बढेको थियो । अस्पतालमा उपचारका लागि बेड नै नपाउने अवस्था सिर्जना भयो । यसले माहोल निकै त्रसित भएको थियो ।

गत वर्ष त्यो अवस्था थिएन । मृत्यु हुनेको संख्या थोरैमात्रै थियो । मास्क, स्यानिटाइजर लगाएर, स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर काम गरियो, आवतजावत गर्न धेरै डराउनु पर्ने अवस्था गत वर्ष थिएन । धेरै डर नभएका कारण पनि गत वर्ष असारमा निकै राम्रो बिजनेश भएको थियो । यो वर्ष पनि बिजनेश त आउला तर सोचेजस्तो आउँछ जस्तो मलाई लाग्दैन ।

कुनै विपत्ती वा महामारीपछि बीमामा आकर्षण बढ्न सक्छ पनि भनिन्छ । २०७२ सालमा भूकम्प गएपछि बीमामा एक किसिमको माहोल देखिएको थियो । अब यो कोभिडपछि त्यस्तो सम्भावना कत्तिको देख्नुहुन्छ ?

कोभिडपछि बीमा व्यवसाय बढ्न सक्छ । कोभिडको समयमा पनि अहिले बीमा दावी परिरहेको छ । धेरैको मृत्यु कोभिडले हुँदा बीमा गरेकाहरुको परिवारले ३० लाख, ४० लाख त पाइरहनु भएको छ । बिमितको मृत्यु भएपनि उसको परिवारले रकम पाउनुहुन्छ ।

कुनै परिवारमा यस्तो घटना दुर्घटना हुँदा त्यहाँ प्राक्टिकल अनुभव हासिल हुन्छ । यसले बीमाको महत्व बुझाउँछ । २०७२ सालमा भूकम्प गयो, त्यसपछि घरको बीमा गर्नुपर्ने रहेछ भन्ने भयो । त्यसबेला ९ हजार मान्छेको ज्यान गयो ।

यसले बीमा गर्नुपर्ने रहेछ भन्ने कुरा चेतना भयो । अहिले धेरैको मृत्यु भएको छ यसले पनि बीमा गर्नुपर्ने रहेछ भन्ने बुझाउँछ । बीमाका कारण धेरै सहज हुने भएका कारण पनि अब बीमा गर्नुपर्छ भन्ने चेतना कोभिडपछि पक्कै दखिनेछ ।

बीमा समितिले एकैपटक १० वटा कम्पनीलाई लाइसेन्स दिंदा अब नयाँले कसरी व्यवसाय पाउलान् भनिथ्यो । तपाईंहरुको कम्पनी पनि बजारमा नयाँ नै छ, बिजनेश राम्रै गरिरहनु भएको छ । तपाईंहरुलाई प्रतिष्पर्धा गर्न कत्तिको अप्ठेरो भयो ?

प्रतिष्पर्धा त भइहाल्छ । नयाँ कम्पनीहरुलाई पुरानालाई भन्दा अप्ठेरो त भइहाल्छ । नयाँ कम्पनी स्थापना भएपछि नयाँ कर्मचारीहरु ल्याउनुपर्यो, नयाँ अभिकर्ताहरु बनाउनु पर्यो । यसले असर त निकै गरिरहेको छ । तर यहाँ नयाँ कम्पनीहरु आएपछि पुराना कम्पनीहरुले पनि थप सक्रियता देखाएका छन् । पहिले पुराना कम्पनीहरुको थोरै बिजनेश थियो ।

नयाँ कम्पनीहरु आएपछि उनीहरुले चुनौती सामना गर्नुपर्छ भन्ने भयो र बिजनेश पनि बढाए । जतिबेलासम्म थप १० वटा कम्पनी आएको थिएन, त्यतिबेला पुरानाको धेरै बिजनेश थिएन । अहिले निकै राम्रो बिजनेश बढेको छ ।

नयाँ कम्पनीहरुलाई त यसै चुनौती थियो । निकै सक्रिय रुपमा काम गरेर बिजनेश लिए । पुरानाले पनि नयाँ कम्पनीलाई चुनौती ठाने र सक्रियता बढाए । अहिले नयाँसँगै पुराना कम्पनीहरुको पनि व्यवसाय राम्रै बढेको छ । नयाँ कम्पनीहरु सञ्चालनमा आएपछि नेपाली बीमा बजार थप विस्तार भएको छ ।

अहिले बीमा कम्पनीहरुले कोभिडबाहेक झेलिरहेको अन्य समस्याहरु पनि केही छन् कि ?

अहिले ठूलो समस्या भनेको नै कोभिड हो । कोभिडबाहेक अन्य खास समस्याहरु छैनन् । तर यो कोभिड पनि धेरै लामो समयसम्म जान्छ भन्ने मलाई लाग्दैन । कोभिड अगाडि जुन किसिमको माहोल थियो, त्यो अहिले छैन ।

मान्छेहरुसँग भेटघाट गर्ने वातावरण छैन । सबै छुट्टाछुट्टै घरमै बस्नु परेको अवस्था छ । कोही मान्छेहरु नै भेट्न नपाएपछि, सबै घरभित्रै थुनिएपछि व्यवसाय बढ्न सक्दैन । गत साल असारमा हामी बाहिर घुमेका थियौं, अहिले भित्रै छौं । माहोल नै बनेको छैन । तर यो क्षणिक समयका लागि हो र केही समय पछि आकर्षण बढ्छ ।

बीमा समितिमा थप आधा दर्जन कम्पनीहरुले सञ्चालन अनुमति माग गर्दै निवेदन दर्ता गराएका छन् । नेपाली बीमा बजारमा थप कम्पनीको आवश्यकता कत्तिको देख्नुहुन्छ ?

अब यो सरकारी तबरबाट सोच्नुपर्ने विषय हो । यो विषय हामीले बोलिहाल्नु हुन्छ जस्तो लाग्दैन । नियामक निकाय बीमा समितिले आवश्यकता छ वा छैन भन्ने अध्ययन गरेर निर्णय गर्छ । मलाई जहाँसम्म लाग्छ बीमा समितिले आवश्यकता अध्ययन उचित गरेर निर्णय लिनेछ ।

अहिले छुट्टै लघुबीमाको बहस पनि भइरहेको छ । लघुबीमाको विषयमा बीमा समितिले एउटा समिति नै बनाएर अध्ययन पनि गरिरहेको छ । छुट्टै लघुबीमाको आवश्यकता चाहिँ देख्नुहुन्छ ?

लघुबीमाको विषयमा विभिन्न कुराहरु उठिरहेका छन् । धेरै कम्पनीहरु ल्याउने होइन, १–२ वटासम्म कम्पनी ल्याए खासै फरक पर्दैन । लघुबीमा कम्पनीहरु आउँदाखेरी धेरै छुटेका स–साना बीमाहरु ल्याउन सक्छन् भन्ने मलाई लाग्छ ।

तपाईंहरुको बिजनेश त खोसिन्छ होला नि ?

हाम्रो बिजनेश लघुबीमा कम्पनी आउँदा खोसिन्छ भन्ने मलाई लाग्दैन । साना व्यवसायतिर लघु बीमा कम्पनीहरुले ध्यान दिनेछन् भने हामी ठूला कम्पनीहरुले ठूलो बीमा कम्पनीहरुतिर ध्यान दिनेछौं । अहिले लघुबीमाहरु धेरै छुटेका पनि हुनसक्छन् ।

ती कम्पनीहरु आए भने त्यो कभर हुन्छ । साना खुद्रा पसलहरु खुलेर ठूलो होलसेल पसलहरुलाई केही असर गर्दैन । हो मेरो बुझाइ त्यहीं छ । ठूलो बीमा ठूलै कम्पनीमा गर्नुपर्छ भन्ने लाग्छ । यसकारण मलाई अझ बिजनेश बढ्छ भन्ने लाग्छ ।

बीमामा भएका विकृतिहरु पनि बेलाबेलामा आइरहन्छन् । ब्याकडेटमा बीमा गराउने, कर्जा लिने अनि केही समयमा ‘सरेण्डर’ गराउने गरेको पनि पाइएको छ । यस्ता विकृतिको विषयमा तपाईंको धारणा के छ ?

यो वास्तवै विकृति हो । बीमामा यस्तो हुनुहुँदैन । यस्तो गलत काम भइरहेकोप्रति बीमा समितिले एक्सन पनि लिएको छ । बीमा समितिले गरेको निर्णयलाई म स्वागत गर्दछु । अब यसको खासै असर पर्दैन भन्ने मलाई लाग्छ ।

युनियन लाइफको पनि कुरा गरौं । भर्खरै आईपीओ जारी पनि गर्नु भएको छ । कम्पनीको बजारमा राम्रै उपस्थिति पनि देखिन्छ । बजारमा कसरी प्रतिष्पर्धा गरिरहनु भएको छ ?

हामी अहिले जुन अवस्थामा छौं, यो सफलता भनेको हाम्रो चार सय स्टाफको हो । सबैको बराबर योगदान छ । यहाँ संस्थापकहरुको योगदान छ, सञ्चालकहरुको योगदान छ, तपाईंहरु सञ्चारकर्मीको पनि योगदान छ ।

बीमाबारे बुझाउन सञ्चारमाध्यमहरुको पनि निकै राम्रो भूमिका छ । हिजो बीमाका समाचारहरुले स्थान पाउँदैन थिए, अहिले राम्रो प्राथमिकता पाएका छन् । यसले सर्वसाधारणमा बीमा सम्बन्धी चेतना बढाउन राम्रो योगदान गरेको छ । अब हाम्रा स्टाफहरुमा पनि कसैले कम वा बढी होइन, हरेक कर्मचारीहरुको उत्तिकै योगदान छ । टिमवर्कको इफोर्टले गर्दा हामीले राम्रो बिजनेश व्यापार गर्न सफल भएका छौं ।

तपाईं युनियन लाइफमा दोस्रो कार्यकालका लागि पनि नेतृत्व लिंदै हुनुहुन्छ । अब कम्पनीलाई कसरी अगाडि बढाउनु हुन्छ ? केही नयाँ योजनाहरु छन् कि ?

मैले पहिलो कार्यकालमा पूर्वाधारहरुको विकास गर्ने, कर्मचारीहरुलाई क्षमतावान बनाउने योजना बनाएको थिएँ । यो एकहदसम्म पूरा भइसकेको छ । अबको चार वर्षमा हामी बिजनेशमा ध्यान दिनेछौं । अब कम्पनीको मुनाफा राम्रो होस् भनेर काम गर्नुपर्नेछ ।

मैले सेयर होल्डरलाई राम्रो मुनाफा दिन सकुँ भन्ने सोचेको छु । अब कोरोना पनि विस्तारै सकिन्छ । हामी दौडिन्छौं, तालिमहरु दिन्छौं । कम्पनीको व्यवसाय बढाउनेतिर ध्यान दिनेछौं । स्टाफ धेरै थप्ने, शाखा खोल्ने हाम्रो योजना छैन । विगतमा कसरी बिजनेश ल्याएका थियौं, अब हामी त्योभन्दा धेरै बिजनेश ल्याउनेछौं ।

फोटो : विकास श्रेष्ठ/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
रोयल आचार्य

आर्थिक पत्रकारितामा सक्रिय आचार्य बैंक तथा वित्तीय संस्था, सेयर बजार र निजी क्षेत्रका विषयमा कलम चलाउँछन् ।

Advertisment