Comments Add Comment

रेष्टुरेन्टमा भ्याट हटाऔं : व्यवसायी

८ साउन, काठमाडौं । रेष्टुरेन्ट व्यवसायीले खानाको कच्चा पदार्थमा पूर्णरुपमा स्वदेशी उत्पादन  र कृषि उपज प्रयोग गर्ने भन्दै रेष्टुरेन्टमा सरकारले लिने भ्याट समेत हटाउन माग गरेका छन् । अर्थमन्त्री जनार्दन शर्मासँग भेट्दै व्यवसायीले यस्तो माग गरेका हुन् ।

यस्तो व्यवस्थाले उपभोक्तामा खानाको मूल्य सर्वसुलभ पर्ने र यसले कृषि उपज समेत खपत बढाउने व्यवसायीको तर्क छ । सोहीकारण रेष्टुरेन्टमा शून्य भ्याटको माग व्यवसायीले अर्थमन्त्रीसँग गरेका छन् । उनीहरुले मौदि्रक नीतिमै यस्तो व्यवस्थाको माग समेत गरेका हुन् ।

मौदि्रक नीतिमा रेष्टुरेन्ट तथा बार क्षेत्रका मजदुर कर्मचारीको जिविकोपार्जनका लागि कम्तिमा ३ लाखसम्मको सहुलियत ब्याजदरमा घरायसी कर्जा उपलब्ध गराउन समेत व्यवसायीले माग गरेका छन् । कोरोनापछि धरासायी बनेको पर्यटन क्षेत्र जोगाउन बैंकहरुले गर्ने लगानीको निश्चित प्रतिशत पर्यटनमै हुनुपर्ने गरि लगानीको वातावरण बनाउन समेत माग गरिएको छ ।

‘बैंकका कर्मचारीलाई पनि भ्रमण विदा’

त्यसैगरी आन्तरिक पर्यटन प्रवर्द्धन गर्दै पर्यटन व्यवसाय जिवित राख्न नेपाल सरकारले जस्तै वित्तीय संस्थाहरुमा समेत अनिवार्य भ्रमण बिदा कायम गर्न उनीहरुले सरकारको ध्यानाकर्षण गराएका छन् ।

चालु आवको बजेटमा सरकारले सरकारी कर्मचारीका लागि १० दिने भ्रमण बिदा दिने घोषणा गरेको छ । यो काज बिदा हुने छ ।

यो व्यवस्थाको स्वागत गर्दै रेष्टुरेन्ट एण्ड बार एसोसिएशन नेपालले वित्तीय संस्थामा समेत यस्तै व्यवस्था गर्न माग गरेको हो । वित्तीय संस्थाले कम्तिमा ५० हजार रुपैयाँसम्म खर्च गर्ने गरि आन्तरिक भ्रमणमा पठाउने व्यवस्था गर्न व्यवसायीले माग गरेका छन् ।

यसले कर्मचारीले मुलुक घुम्न पाउने, होटेल-रेष्टुरेन्ट व्यवसायीलाई करको दायरामा समेट्न सहज हुने, मुलुकको पैसा विदेशिन नपाउने र कोभिडबाट अति प्रभावित आतिथ्य सेवालाई केही मात्रामा भएपनि राहत पुग्ने व्यवसायीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment