Comments Add Comment

बधाई दिने सुवास नेम्वाङको शैली : संसदमै सम्झिए देउवा ‘दमन’का दुई घटना

८ साउन, काठमाडौं । शुक्रबार प्रतिनिधिसभाको बैठकमा नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई दिएका छन् । रोस्टममा उभिएर सम्बोधन गरेका उनले बधाई कम, प्रश्न धेरै गरे । देउवा सत्तामा हुँदा गरेको दुई ‘दमन’का घटना स्मरण गर्दै उनले अब यस्ता घटनाहरु नदोहोरियोस् भनेका छन् ।

घटना एक- गोलीको आँखा हुँदैन

नवनियुक्त प्रधानमन्त्री देउवालाई बधाई दिंदै नेम्वाङले २०४८ सालको एक घटना स्मरण गरे । त्यतिबेला देउवा गृहमन्त्री थिए भने प्रतिपक्षी दल एमाले सडकमा थियो ।

आन्दोलनका क्रममा ७ वर्षका बालक अनिश शाक्य र १३ वर्षीया सम्झना दाहालको गोली लागेर मृत्यु भएको थियो । उक्त घटनाबारे संसदमा प्रश्न उठ्यो र जवाफ दिने क्रममा देउवाले ‘गोलीको आँखा हुँदैन’ भनेका थिए ।

नेम्वाङले गृहमन्त्रीको हैसियतमा देउवाले दिएको विवादास्पद जवाफ स्मरण गराए । यद्यपि उनले देउवाको नाम भने लिएनन् । आफ्नै शैलीमा बधाई दिँदै उनले इतिहास स्मरण गराउँदै भने, ‘कसको पालामा हो त्यो चाहिं बिर्सें । एउटा बच्चा मरेको कुरा थियो । एकजनाले जवाफ दिनुभयो- गोलीको त आँखै नहुने रहेछ, लाग्यो । यो कसको पालामा हो त्यो मैले बिर्सिएँ ।’

घटना दुई– दौरा सुरुवाल लगाउँदा पनि ‘दमन’

एमाले संसदीय दलका उपनेता नेम्वाङले देउवालाई बधाई दिने क्रममा एमाले प्रतिपक्षी दलको रुपमा संघर्षमा उत्रने संकेत गरे । उनको चाहना बुझिन्थ्यो- दौरा सुरुवाल लगाएर आन्दोलन गर्दा पनि देउवाले पहिला जस्तै दमन नगरून् ।

उनले भने, ‘तत्कालीन पार्टीका तर्फबाट सिंहदरबारबाट भद्रकाली आउँदा दौरा सुरुवाल र टोपी लगाएपछि प्रहरीले पनि चिन्छन् भन्ने थियो तर सिंहदरबारको ढोकामा चेप्टिएको हिजो अस्ति जस्तै लाग्छ, कसको पालामा हो थाहा भएन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment