Comments Add Comment

एमाले फुटाउन अध्यादेश ल्याए आगो बाल्छौं : महेश बस्नेत

९ साउन, काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले अघिल्लो सरकारले गरेको राजनीतिक नियुक्ति खारेज गर्ने र एमाले फुटाउने अध्यादेश ल्याए देशभर आगो बाल्ने चेतावनी दिएका छन् ।

शनिबार युथ फोर्सको भ्याली कमान्ड गठन गर्दै नेता बस्नेतले एमाले सरकारले गरेको राजनीतिक नियुक्ति खारेज गर्ने षड्यन्त्र भएको र एमाले फुटाउन अध्यादेश ल्याउने षड्यन्त्र भइरहेको बताए । ‘पहिले एमाले बलियो बनाउन अध्यादेश ल्याउँदा, अध्यादेश फेल गराइयो, अहिले फेरि एमाले फुटाउन अध्यादेश ल्याउनुभयो भने देशभरि अगो बल्छ’ उनले भने ।

नेता बस्नेतले राष्ट्रपतिविरुद्ध महाभियोग लगाउनेबारे नसोच्न पनि सत्तारुढ गठबन्धनलाई आग्रह गरे । हालको सत्तारुढ गठबन्धनसँग नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी उपेन्द्र यादव पक्षको गरी जम्मा १२९ सांसदको समर्थन रहेको पनि बस्नेतले दावी गरे ।

अघिल्लो सरकारले गरेको कामलाई निरन्तरता नदिई भत्काउन खोजेमा युथ फोर्सले प्रतिरोध गर्ने बस्नेतले बताए । उनले एमालेका मान्छेले भ्रष्टाचार गरेको प्रमाणित गर्न पनि चुनौती दिए । ‘एमालेका मान्छे समातेर देखाउ, कहिँ भ्रष्टाचारी छन् भने प्रुभ गरेर देखाउ, होइन भने काँक्रो चोरे आफू खाने बियाँ अर्काको मुखमा लगाएर स्याल हुइयाँ गर्ने दिन सकिए’ उनले भने ।

नेता बस्नेतले पूरक बजेट ल्याउने, नीति तथा कार्यक्रम ल्याउने, मन्त्रिपरिषदको संख्या बढाउन संविधान संशोधन गर्ने कुरा आइरहेको भन्दै त्यसो गरेमा युथ फोर्सले तह लगाउने जिकिर गरे ।

मन्त्री बन्ने, फ्लाटदेखि घडेरी पाउने लोभमा एमालेका २२ सांसदले प्रधानमन्त्री देउवालाई साथ दिएको उनको आरोप छ । उनले अघि भने, ‘अब मन्त्री खान कसरी खाुनुहुन्छ ? कि एमालेले सरकारलाई समर्थन गर्नुपर्छ कि एमाले छोड्नुपर्छ ।’

एमालेले सरकारलाई समर्थन नगर्ने र एमाले छाडे सांसद पद जाने भएकाले २२ जनाको मन्त्री बन्ने सपना पुरा नहुने बताए ।
२ साउनमा प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा विश्वासको मत लिँदा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसहित २२ सांसदले मत दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment