Comments Add Comment

अष्ट्रेलियाका प्रमुख शहरमा लकडाउनविरुद्ध प्रदर्शन

१० साउन, काठमाडौं । कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि लगाइएको प्रतिबन्धको विरोधमा अष्ट्रेलियाका प्रमुख शहरहरुमा प्रदर्शन भएको छ । शनिबार अष्ट्रेलियाको सबैभन्दा ठूलो शहर सिड्नीमा हजारौं मानिसहरुले लकडाउनको विरोधमा प्रदर्शन गरेका हुन् । साथै मेलबर्न र ब्रिसबेन शहरमा पनि सानो संख्यामा मानिसहरुले कोरोना नियन्त्रणको लागि सामाजिक गतिविधिमा लगाइएको प्रतिबन्धको विरोध गरेका थिए ।

प्रदर्शनको क्रममा मानिसहरुले ‘स्वतन्त्रता देऊ’ भन्ने नारा लगाएका थिए । अधिकारीहरुका अुनसार आन्दोलनको क्रममा सिड्नीमा ५७ जना मानिसहरु पक्राउ परेका छन् । कोरोनाको नयाँ संक्रमण बढेसँगै अष्ट्रेलियाका राज्यहरुले सामाजिक गतिविधिमा लकडाउनका कार्यक्रमहरु ल्याएका छन् । कोरोनाको डेल्टा भेरियन्टले अष्ट्रेलियाको यसअघि सफल मानिएको नियन्त्रणको रणनीतिलाई चुनौती दिएको छ ।

अन्य विकसित मुलुकको तुलनामा अष्ट्रेलियामा कोरोना खोप लगाउने मानिसको संख्या पनि कम छ । अष्ट्रेलियामा अहिलेसम्म १४ प्रतिशत जनसंख्याले मात्र खोप लगाएका छन् ।

अष्ट्रेलियामा अहिले करीब एक करोड ३० लाख मानिसहरुले लकडाउनको सामना गरिरहेका छन् । सिड्नीमा विगत एक महिनादेखि लकडाउन जारी छ । तर, कोरोना संक्रमण भने अझै बढिरहेको छ । शनिबार न्यु साउथ वेल्स राज्यमा १६३ नयाँ संक्रमित फेला परेका थिए ।

जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार अष्ट्रेलियामा अहिलेसम्म ३२ हजार ५९४ संक्रमित फेला परेका छन् भने उनीहरुमध्ये ९१६ जनाको मृत्यु भएको छ ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment