Comments Add Comment

१३ औं साफ च्याम्पियनसिप नेपालमा गर्न प्रस्ताव

१० साउन, काठमाडौं । दक्षिण एसियाको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता साफ च्याम्पियनसिप आयोजना गर्न नेपाललाई आधिकारिक प्रस्ताव आएको छ ।

साफको १३ औं संस्करण आगामी अक्टोबरमा गर्ने सदस्य राष्ट्रहरु सहमति भइसकेको छ । त्यसका लागि आयोजकको आधिकारिक प्रस्ताव आएको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ ।

शुक्रबार बसेको साफको जुम बैठकमा साफ च्याम्पियनसिप अक्टोबरमा गर्ने सहमति भएको थियो । तर आयोजकको विषयमा टुंगो लाग्न सकेको थिएन ।

यसअघि बंगलादेशले नै साफ आयोजना गर्ने भने पनि बढ्दो कोरोना संक्रमणका कारण आयोजना गर्न नसक्ने जानकारी दिएको थियो । त्यसपछि साफले नेपाल, भारत र माल्दिभ्सले साफ आयोजनामा इच्छा देखाएको र अगष्ट पहिलो साता आयोजकको टुंगो लाग्ने जनाएको थियो ।

साफ महासचिव अनवरुल हकले एन्फा महासचिव इन्द्रमान तुलाधरलाई साफ च्याम्पियन आयोजनाको प्रस्ताव पठाएको एन्फाले जनाएको छ । एन्फा महासचिव तुलाधरले अब एन्फाले साफ च्याम्पियनसिका लागि विस्तृत प्रस्ताव बनाएर स्वीकृतिका लागि साफमा पठाउने बताएका छन् ।

एन्फाको प्रस्तावलाई अध्ययन गरेर साफ आयोजनाको अन्तिम निर्णय भने साफ अध्यक्ष र साफ कार्यसमितिले नै गर्नेले एन्फाले बताएको छ ।

साफ च्याम्पियनसिपमा यस पटक ५ टिमले मात्र खेल्ने लगभग पक्का छ । पाकिस्तान फिफाको प्रतिबन्धमा रहेकाले साफ खेल्ने छैन । यस्तै भुटानले कोभिड–१९ का कारण देशबाहिर जान प्रतिबन्ध रहेका कारण सहभागिता जनाउने छैन । अब नेपालसँगै बंगलादेश, भारत, माल्दिभ्स र श्रीलंकाले मात्र साफमा सहभागिता जनाउनेछन् ।

नेपालमा यसअघि सन् १९९७ र २०१३ मा साफ च्याम्पियनसिप आयोजना भएको थियो । नेपाल अहिलेसम्म साफको फाइनल पुग्न सकेको छैन । यसपटक फाइनल पुग्दै उपाधि जित्ने लक्ष्य राखेको नेपालले बन्द प्रशिक्षण शुरु गरिसकेको छ ।

तर आइतबार नेपालका मुख्य प्रशिक्षक अबुदुल्लाह अलमुताइरीले भने राजीनामा दिने घोषणा गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment