Comments Add Comment

अखिल क्रान्तिकारीले पूर्वाञ्चल विश्वविद्यालय समक्ष राख्यो ११ बुँदे माग

१० साउन, विराटनगर । नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियू (क्रान्तिकारी)ले पूर्वाञ्चल विश्वविद्यालय समक्ष ११ बुँदे माग पेश गरेको छ ।

अखिल क्रान्तिकारीको पूर्वाञ्चल विश्वविद्यालय समितिले मोरङको गोठगाउँस्थित विश्वविद्यालयको केन्द्रीय कार्यालय पुगेर उपकुलपति प्रा. डा. यादवराज कोइराला समक्ष ११ बुँदे माग पेश गरेको छ ।

क्रान्तिकारीले अनलाइन माध्यमबाट गत वर्ष लिइएको परीक्षाको नतिजा झण्डै एक वर्ष बितिसक्दा पनि प्रकाशित नभएकोले उक्त परीक्षाफल तत्काल प्रकाशित गर्न माग गरेको छ । यसैगरी प्रदेश १ को भूगोल समेटिने गरी विश्वविद्यालयका आंगिक क्याम्पसहरु विस्तार गर्न माग गरिएको छ । विद्यार्थीको घनत्व रहेका काठमाडौं उपत्यका लगायतका अन्य ठाउँमा पनि विश्वविद्यालयका आंगिक क्याम्पस विस्तार गर्न माग गरिएको छ ।

विश्वविद्यालयको आंगिक मेडिकल कलेज अविलम्ब सञ्चालनको लागि तत्काल प्रक्रिया अघि बढाउन पनि अखिल क्रान्तिकारीले माग गरेको संयोजक बालकुमार केसीले बताए । चलिरहेका कार्यक्रमको गुणस्तर कायम गर्न लाग्नुको सट्टा नयाँ र निजीलाई सम्बन्धन दिने र कोटा थप गर्ने कार्य तत्काल रोक्न समेत माग गरिएको छ ।

विश्वविद्यालयको हरेक सिनेटमा विद्यार्थी प्रतिनिधि सहभागी हुँदै आएकोमा केही समय यताबाट विद्यार्थी प्रतिनिधि समावेश नगरिएकोले अब उप्रान्त सिनेटमा विद्यार्थी संगठनका प्रतिनिधिहरुको सहभागिता सुनिश्चित गर्न अखिल क्रान्तिकारीले माग गरेको छ ।

यसैगरी कोरोना महामारीले शैक्षिक गतिविधि ठप्प भएको समयको शैक्षिक शुल्क मिनाहा गर्न र कोभिडले आक्रान्त विद्यार्थी र अभिभावकलाई राहत प्रदान गर्न माग गरिएको छ । यस्तै अखिल क्रान्तिकारीले विश्वविद्यालयका सम्पूर्ण विद्यार्थी, कर्मचारी र शिक्षकलाई तत्काल  कोरोना खोप लगाउन पाउने व्यवस्था सुनिश्चित गर्न समेत माग गरेको छ ।

११ बुँदे माग तत्काल पूरा नगरिए कडा आन्दोलनमा उत्रन बाध्य हुने अहिल क्रान्तिकारीका पूर्वाञ्चल विश्वविद्यालयका संयोजक केसीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment