Comments Add Comment

असोजसम्म एक तिहाई नागरिकले खोप पाउलान् ? यस्तो छ हिसावकिताव

कोरोना खोप लगाउनेहरुको लाइन

१० साउन, काठमाडौं । असोजसम्म एक तिहाई नागरिकलाई कोरोना खोप दिने प्रधानमन्त्री शेरबहादुर देउवा सरकारको पहिलो निर्णय हो । २९ असारमा पाँचौं पटक प्रधानमन्त्री नियुक्त भएका देउवाको पहिलो मन्त्रिपरिषद् बैठकले असोज मसान्तसम्म एक तिहाई नागरिकलाई खोप लगाउने र चैत मसान्तसम्म खोप लगाउन योग्य सबै नागरिकलाई खोप लगाउने निर्णय गरेको थियो ।

तर स्वास्थ्य तथा जनसंख्या मन्त्रालय आफैंसँग राखेका देउवाले आइतबार व्यापारी पृष्ठभूमिका सांसद उमेश श्रेष्ठलाई राज्यमन्त्री नियुक्त गरेका छन् । के सरकारको खोपको लक्ष्य पूरा हुन्छ त ?

अपेक्षा गरे अनुसारको खोप उपलब्ध भएमा असोजभित्र एक तिहाई नागरिकलाई खोप लगाउन सकिने मन्त्रालयका अधिकारीहरु बताउँछन् ।

खरिद सम्झौता, कोभ्याक्स सुविधा, अनुदान एवं खरिदका लागि सरकारले बढाएको प्रक्रिया खोप आउने आधार हेरेर नै सरकारले यस्तो प्रक्षेपण गरेको स्वास्थ्य सेवा विभाग अन्तर्गत बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. झलक शर्मा गौतम बताउँछन् ।

तर सरकारको खोप सल्लाहकार समितिका संयोजक डा. श्यामराज सरकारी लक्ष्यलाई महत्वकांक्षी मान्छन् । उनका अनुसार यो आर्थिक वर्षको अन्तिमसम्म ५० प्रतिशतभन्दा बढी जनसंख्याले खोप पाउने देखिन्छ । ‘खोप खरिदका लागि प्रक्रिया अघि बढेको भए पनि खोप उत्पादक कम्पनीले अहिलेसम्म सकारात्मक जवाफ फर्काएको छैन,’ उनले भने, ‘कोभ्याक्स सुविधामार्फत छिटोमा सन् २०२२ भित्र खोप प्राप्त हुने विश्वास लिएका छौं ।’

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वप्रमुख डा. बाबुराम मरासिनी पनि चैत मसान्तभित्रमा लक्षित नागरिकलाई खोप लगाउन सम्भव नभएको बताउँछन् । ‘सरकारको टार्गेट मिट गर्न दैनिक सरदर एक लाख नागरिकलाई खोप लगाउनुपर्छ । त्यसअनुसार खोप उपलब्ध हुनुपर्छ । विविध कारणले त्यो सम्भव छैन,’ उनले भने ।

साउन र भदौमा बाढी–पहिरोको जोखिम बढी हुने भएकाले सहजताको आधारमा संक्रमणको सम्भावित इपिसेन्टरहरुलाई  प्राथमिकतामा राखेर खोप कार्यक्रम अघि बढाउनुपर्ने उनको सुझाव छ । डा. मरासिनी भन्छन्, ‘साउन–भदौमा सबैतिर खोप लगाउन सहज छैन । काठमाडौं उपत्यकाका सबै नागरिकलाई खोप दिँदा उत्तम हुन्छ ।’ त्यसपछि क्रमशः पोखरा, भैरहवा, बुटवल, चितवन लगायतका सहज हुने क्षेत्रमा खोप कार्यक्रम सञ्चालन गर्न उनी सुझाउँछन् । असोज–कात्तिकमा तराईका जिल्लाका नागरिकलाई र मौसमको अनुकूलतालाई मध्यनजर गरी पहाडी एवं हिमाली जिल्लाहरुमा खोप लगाउन सकिने उनले बताए ।

कति खोप आपूर्ति भयो ? कति चाहिन्छ ?

सरकारले १८ वर्षभन्दा माथिका ७२ प्रतिशत जनसंख्यालाई खोप लगाउने लक्ष्य राखेको छ ।

संख्यात्मक हिसाबमा करिब २ करोड १७ लाख नागरिकलाई खोप लगाउने भनेको हो । खोप लगाउन प्रक्षेपण गरिएको जनसंख्यामध्ये सरकारले आगामी असोजभित्र एक तिहाई जनसंख्या अर्थात् करिब ७२ लाख ३३ हजार ३३३ जनालाई खोप लगाउने भनेको छ ।

नेपालले आइतबारसम्म ७३ लाख ८२ हजार ८५० डोज खोप प्राप्त गरेको छ ।

जसमध्ये भारतबाट अनुदानमा ११ लाख र खरिद सम्झौताबाट १० लाख गरी २१ लाख डोज कोभिशिल्ड खोप प्राप्त भएको छ । चीनबाट अनुदानमा १८ लाख र खरिद सम्झौताबाट १६ लाख गरी कुल ३४ लाख डोज भेरोसेल खोप प्राप्त भएको छ । यसैगरी कोभ्याक्स सुविधामार्फत ३ लाख ४८ हजार कोभिशिल्ड खोप प्राप्त भइसकेको छ । यो सबै खोप एक जनालाई दुई डोज लगाउनुपर्ने हुन्छ ।

यस्तै अमेरिकाले कोभ्याक्समार्फत उपलब्ध गराएको जोन्सन एण्ड जोन्सनको १५ लाख ३४ हजार ५८० डोज खोप भने एक मात्रा लगाए हुन्छ ।

सरकारले असोजभित्र खोप लगाइसक्ने एक तिहाई जनसंख्या भनेको करिब ७२ लाख हो । उनीहरुका लागि दुवै डोज लगाउन १ करोड ४४ लाख खोप चाहिन्छ । अर्थात् अझै ७० लाख बढी खोप अपुग छ ।

खोप आउने सुनिश्चितता कति ?

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपाललाई थप ५० लाख डोज खोप प्राप्त हुने सुनिश्चित छ । चीनसँग खरिद सम्झौता भएको २४ लाख डोज भेरोसेल र भारतसँग खरिद सम्झौता भएको १० लाख डोज कोभिशिल्ड खोप छिट्टै प्राप्त हुने अपेक्षा गरिएको छ ।

यस्तै जापानले कोभ्याक्स सुविधा अन्तर्गत एस्ट्राजेनेकाको १६ लाख डोज उपलब्ध गराउने बताइसकेको छ । गत बिहीबार मात्रै नेपालस्थित जापानी राजदूतले प्रधानमन्त्री देउवालाई भेटेर घोषणा गरेअनुसार छिट्टै खोप उपलब्ध हुने आश्वासन दिएका थिए ।

यो सबै जोड्दा असोजभित्र खोप लगाउने प्रक्षेपित जनसंख्या र उपलब्धतामा ठूलो अन्तर देखिँदैन । २० लाखभन्दा बढी डोज खोप अपुग देखिन्छ । चीनले उपलब्ध गराउने भनेको थप खोप छिट्टै आइपुगे यो रित्तता पूर्ति हुनेछ ।

तर आगामी चैतभित्रै सबै नागरिकलाई खोप लगाउने लक्ष्यप्रति भने जनस्वास्थ्य विज्ञहरु विश्वस्त छैनन् ।

सरकारले कोभ्याक्स कार्यक्रममार्फत २० प्रतिशत जनसंख्यालाई पुग्ने अर्थात् १ करोड २० लाख डोज खोप प्राप्त गर्ने अपेक्षा राखेको छ । जसमध्ये १८ लाख ८२ हजार ५८० डोज खोप प्राप्त भइसकेको छ ।

बाँकी खोप २०२१ भित्र आउने भनिएको छ । तर यो समयभित्र खोप आउने सुनिश्चित भइनसकेको मन्त्रालयका अधिकारीहरु बताउँछन् ।

कोभिड–१९ खोप प्राविधिक सल्लाहकार समितिका संयोजक डा. उप्रेती कोभ्याक्समार्फत प्राप्त हुने बाँकी खोप २०२२ भित्र आउने अपेक्षा रहेको बताउँछन् । कोभ्याक्स कार्यक्रममार्फत नै थप डेढ करोड डोज खोप खरिदका लागि प्रक्रिया अगाडि बढेको उनले बताए ।

कोभ्याक्स कार्यक्रममार्फत खोप खरिद गर्दा सस्तो पर्ने देखिएकाले आवेदन दिने काम भइसकेको र उक्त खोप प्राप्त भएमा २० प्रतिशतभन्दा बढी नागरिकलाई खोप पुग्ने विश्वास लिएको उनले बताए ।

कतिले लगाए पूर्ण खोप ?

नेपालमा आइतबारसम्म १३ लाख ९८ हजार १७८ जनाले कोरोना विरुद्धको पूर्ण खोप लगाएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । प्रतिशतको हिसाबको पूर्ण खोप लगाउने दर ५.९८ प्रतिशत हो ।

जसमध्ये कोभिशिल्डको पूर्ण खोप लगाउने ४ लाख ६० हजार ३०८ र भेरोसेलको पूर्ण खोप लगाउने जनसंख्या ६ लाख ९४ हजार ५५५ जना छन् । जोन्सन एण्ड जोन्सनको खोप लगाउने २ लाख ४३ हजार ३१५ पुगेको छ । जे एण्ड जे खोप एक डोज मात्र लगाए हुने भएकोले यसलाई पनि पूर्ण खोप मानिएको हो ।

कोभिशिल्ड र भेरोसेल खोप एक मात्रा लगाउने संख्या २२  लाख २८ हजार १७५ पुगेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । जसमध्ये कोभिशिल्ड खोप लगाउने १३ लाख ६८ हजार १७६ र भेरोसेल लगाउने ८ लाख ५९ हजार ९९९ जना छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Author Info
प्रेम लामा

ट्रेन्डिङ

Advertisment