Comments Add Comment

अनि माधव नेपालले सांसदलाई भने : प्रतिगमनको मतियार ! बाहिर जानुस्

१० साउन, काठमाडौं । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र सांसद नारदमुनि रानाबीच भनाभन भएको छ ।

प्रतिनिधिसभा पुनर्स्थापना भएपछि पहिलो पटक बसेको समितिको बैठकमा आर्थिक वर्ष २०७७/७८ मा गरेको कामको समीक्षा हुँदै थियो । तर बैठकमा सांसदहरुले संसद पुनर्स्थापना भएकोमा खुशी साटे । समितिका सदस्य नेपालले पनि संसद जोगिएको भन्दै बधाइ दिएका थिए ।

तर एमाले सांसद रानाले नेता नेपाललाई आफ्नै सरकार ढालेको भन्दै आक्षेप लगाए । बैठक चलिरहेका बेला आएका कैलालीका सांसद तथा पूर्वमन्त्री नारदमुनि रानाले यो संसद जनादेशबाट नभई परमादेशबाट आएको टिप्पणी गरे ।

आफ्नै पार्टीका प्रधानमन्त्रीले विश्वासको मत लिंदा घरमा सुतेर बसेर आफ्नै सरकार ढाल्ने भन्दै माधवकुमार नेपालमाथि खनिए । उनले अहिले पार्टी विवादको मुख्य दोषी माधव नेपाल रहेको भन्दै यसको जिम्मा उनैले लिनुपर्ने बताए ।

आफूमाथि निरन्तर खनिएपछि नेता नेपालले प्रतिप्रश्न गरे, ‘प्रतिगमनको मतियार बन्ने !’

समिति सभापति पवित्रा निरौला खरेलले समितिको विषयमा बोल्न रुलिङ गरिन् । ‘पार्टीको कुरा पार्टीमा गर्नुस्, समितिमा समितिकै विषयमा बोल्नुस्’ उनले भनिन् ।

तर सांसद रानाले प्रसंग उठेका कारण भनेको हुँ भन्ने अड्डी कसेपछि नेता नेपाल आक्रोशित भए । उनले रानातिर चोर औंला ठड्याउँदै भने, ‘प्रतिगमनको मतियार भएर यहाँ बोल्न पाइँदैन । अहिले राजीनामा दिनुस्, गइहाल्नुस् ।’

त्यसपछि बैठक हलमा भएका सबै बोल्न थाले । सांसदहरुले नियम विपरीत पूर्वमन्त्रीलाई बैठकमा नराख्न आफूले दिएको सल्लाह नमानेको भन्दै सभापतिकै आलोचना गरे ।

‘सरकारमा जानेहरु समितिबाट विदा हुन्छन्, पुनः त्यही समितिमा आउनुपरे पनि सम्बन्धित दलले सभामुखलाई पत्र लेख्नुपर्छ’ माधव नेपाल पक्षका सांसद दीपकप्रकाश भट्टले भने । उनले सांसद रानालाई भनेका थिए, ‘यो समितिमा बस्ने अधिकार छैन तपाईंलाई, बाहिर जानुस् र निवेदन हालेर आउनुस्’ उनले भने ।

संसद विघटनपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई मन्त्री बनाएका थिए । तर सर्वोच्चको आदेशमा १३ दिनमै उनी पदमुक्त भएका थिए ।

एमाले सांसद राना पनि के कम ? मलाई बाहिर जाऊ भन्ने तपाईं को हो भन्ने प्रतिप्रश्न गरिरहे । सभापति खरेलले बैठकलाई एजेण्डामा ल्याउन पटक पटक प्रयास गर्दा पनि भनाभन चलिरह्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment