Comments Add Comment
विचार :

क्रियाशील सदस्यको काँधमा कांग्रेसको भविष्य

नेपाली कांग्रेस यतिबेला आफ्नो जीवनको १४औं महाधिवेशनको संघारमा छ । घोषित कार्यतालिका अनुसार साउन १२ गते (हाल केही दिन स्थगित भएको) ६ हजार ७४३ वटा वडामा वडा अधिवेशनबाट शुरु भई भदौ १६-१९ मा केन्द्रीय महाधिवेशन सम्पन्न हुनेछ ।

कुनै पनि राजनीतिक पार्टीको आन्तरिक अधिवेशन गर्ने भनेको त्यो पार्टीलाई जीवन्त बनाइराख्नु हो । अझ लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था भएको हाम्रो देशमा नेपाली कांग्रेस जस्तो लोकतान्त्रिक मूल्यमान्यतामा आधारित पार्टीको अधिवेशनले त समग्र लोकतन्त्रवादी र राष्ट्रको भविष्यलाई नै प्रभाव पारेको हुन्छ । यस्तो महत्वपूर्ण कार्यका लागि यतिखेर हामी नेपाली कांग्रेसका कार्यकर्ताहरू बडो उत्साहका साथ पार्टीको अधिवेशनमा होमिंदैछौं । अधिवेशनमा जाँदै गर्दा हामीसँग निश्चित केही प्रश्न र जिम्मेवारी छन् ।

प्रश्न हामी आफूले आफैंलाई गर्नुपर्नेछ भने जिम्मेवारी जनताको भविष्यसँग जोडिएको छ । पहिलो मूल प्रश्न त अधिवेशन केका लागि गर्दैछौं र यो अधिवेशनले पार्टीको आगामी क्रियाकलापमा के फरक पार्छ ? अधिवेशन सम्पन्न गर्न मुख्य भूमिका कसको रहन्छ ? अधिवेशन सम्पन्न गर्दैगर्दा पार्टीको नेता/कार्यकर्ताको भूमिका कस्तो हुनुपर्छ ? पहिले हामी यी सबै प्रश्नहरूमा प्रष्ट भयौं भने मात्र यो अधिवेशनले सार्थकता पाउँछ ।

देश संघीयतामा गएपछि हालको संघीय संरचना अनुसार नेपाली कांग्रेस पार्टीको अधिवेशन हुन लागेको यो पहिलो पटक हो । यो पटक कांग्रेस पार्टीमा देशको संघीय संरचना अनुसारका ७ वटा तह (गाउँ/नगर वडा, गाउँ/नगर, प्रदेशसभा क्षेत्र, प्रतिनिधिसभा क्षेत्र, जिल्ला, प्रदेश र केन्द्र) को अधिवेशन सम्पन्न हुनेछ ।

यो अधिवेशनमार्फत बहस तथा छलफल गरिनुपर्ने मुख्य कार्यहरूलाई पन्छाएर केवल नेतृत्व चयन प्रक्रियालाई मात्रै प्राथमिकता दिइयो भने अधिवेशन अपुरो हुनेछ । औपचारिकतामा मात्र सीमित हुनेछ र यसको मूल उद्देश्य प्राप्त हुँदैन ।

सर्वप्रथम नेपाली कांग्रेस पार्टीको अधिवेशन सम्पन्न गर्न पार्टीको क्रियाशील सदस्यको मुख्य भूमिका रहन्छ । किनभने नेपाली कांग्रेसको अधिवेशनका लागि तल्लो तहका मतदाता भनेकै क्रियाशील सदस्यहरू हुन् । पार्टीको क्रियाशील सदस्य बन्नको लागि त्यसको छुट्टै प्रावधान छ । त्यो पार्टीको विधानअनुसार हुन्छ । जो पार्टीको तल्लो तह (गाउँ/नगर वडा)को अधिवेशनको सदस्य हुन्छन् ।

त्यसैले गाउँ/नगर वडा अधिवेशन अन्य तहको अधिवेशनभन्दा झनै महत्त्वपूर्ण हुन्छ । यो तहको अधिवेशनबाट छनौट भएको वडा कार्यसमितिले कांग्रेसको तल्लो तहको नेतृत्व गर्छ । सँगै उक्त वडा कार्यसमिति जनतासँग दैनन्दिन सीधा सम्पर्क तथा सम्बन्धमा रहने भएकोले पार्टी संगठनको बलियो आधार तय गर्छ । अर्को, यो तहको अधिवेशनले छनौट गरेको क्षेत्रीय प्रतिनिधि पार्टीको तीन वटा तह (प्रदेशसभा क्षेत्र, प्रतिनिधिसभा क्षेत्र र जिल्ला)को अधिवेशनमा प्रत्यक्ष सहभागी हुन्छ र तहगत नेतृत्व चयन गर्ने मुख्य भूमिकामा रहन्छ ।

गाउँ/नगर वडा अधिवेशनबाट छनौट भएका यिनै क्षेत्रीय प्रतिनिधिले प्रदेश कार्यसमिति र केन्द्रीय कार्यसमितिको नेतृत्व चयन गर्ने प्रदेश अधिवेशन प्रतिनिधि र केन्द्रीय महाधिवेशन प्रतिनिधि पनि चयन गर्दछन् । त्यसैले अरु माथिल्लो तहको अधिवेशनभन्दा गाउँ/नगर वडा अधिवेशन धेरै गुणा महत्त्वपूर्ण छ र जुन अधिवेशनमा देशभरिबाट नेपाली कांग्रेसका लगभग ९ लाख क्रियाशील सदस्यहरूले भाग लिन्छन् ।

पार्टीको अधिवेशनले एकातर्फ पार्टीको तहगत नेतृत्व चयन गर्छ भने अर्कोतर्फ पार्टीको नीति तथा कार्यक्रमका रूपमा भावी कार्ययोजना निर्माण गर्ने अति महत्त्वपूर्ण कार्य गर्दछ । हरेक तहको अधिवेशनमा सम्बन्धित तहको कार्यसमितिले पार्टीको नीति तथा कार्यक्रमका रूपमा राजनीतिक, सांगठनिक र आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुपर्दछ र सो प्रतिवेदनमाथि सहभागी प्रतिनिधिहरूले गम्भीर बहस तथा छलफल गरी आवश्यक परिमार्जनसहित पार्टीको भावी कार्ययोजना निर्माण गर्दछन् । उक्त कार्ययोजना कार्यान्वयन गर्नका लागि पार्टीको हरेक तहमा तहअनुसारको कार्यसमिति विधानसम्मत निर्माण गरिन्छ ।

पार्टीको विधानअनुसार एउटा अधिवेशनले चयन गरेको त्यस्तो नेतृत्व या कार्यसमितिको कार्यकाल चार वर्षको हुनेछ । अधिवेशनबाट पारित नीति तथा कार्यक्रमलाई उक्त कार्यकालभित्र कार्यान्वयन गर्ने प्रमुख जिम्मेवारी सम्बन्धित कार्यसमितिलाई रहन्छ ।

यति धेरै महत्त्वपूर्ण कार्यहरू गर्नका लागि देशभरिबाट पार्टीका क्रियाशील सदस्यहरू गाउँ/नगर वडा अधिवेशनमा सहभागी हुँदैछन् तर यो अधिवेशनमार्फत बहस तथा छलफल गरिनुपर्ने मुख्य कार्यहरूलाई पन्छाएर केवल नेतृत्व चयन प्रक्रियालाई मात्रै प्राथमिकता दिइयो भने अधिवेशन अपुरो हुनेछ । औपचारिकतामा मात्र सीमित हुनेछ र यसको मूल उद्देश्य प्राप्त हुँदैन ।

अहिले भैरहेका अनौपचारिक छलफल तथा बहसहरूबाट के बुझ्न सकिन्छ भने हामी अधिवेशन गर्दैछैनौं, मात्र आफू अनुकूलको नेतृत्व कसरी छनौट गर्ने भनेर आवश्यक रणनीति तयार गर्दैछौं । किनकि हामीमा अझै चेत खुलिसकेको छैन र अधिवेशन केका लागि गर्नुपर्छ भन्ने कुराबाट च्युत भएर हामी अन्तै बहकाउमा लागिरहेका छौं । अहिलेको हाम्रो व्यवहारले के दर्शाउँछ भने हाम्रो प्राथमिकता अधिवेशन गर्नमा छैन, मात्र नेतृत्वमा आफू सुरक्षित हुनका लागि वडा अधिवेशनबाट कसरी आफू अनुकूलका क्षेत्रीय प्रतिनिधि धेरैभन्दा धेरै संख्यामा ल्याउन सकिन्छ र त्यसको सहायताले अनुकूलको नेतृत्व चयन गर्न सकिन्छ भन्ने खालको अस्वाभाविक चलखेलतिर लम्किरहेका छौं । यी सबै चलखेलहरूलाई बुझेर यसले पार्टीको सर्वोपरि हित गर्छ कि गर्दैन भनेर निष्पक्ष तथा निरपेक्ष मूल्यांकन गर्ने मूल दायित्व वडा अधिवेशनमा सहभागी हुने क्रियाशील सदस्यको हो ।

सम्पूर्ण क्रियाशील सदस्यहरू अधिवेशनमा सहभागी हुँदै गर्दा यी यावत् पक्षहरूलाई किनारा लगाएर उनीहरूको पहिलो प्राथमिकता आफ्नो वडाको संगठन कस्तो बनाउने, भविष्यमा हुने स्थानीय तहको निर्वाचन र संसदीय निर्वाचनमा पार्टीलाई जनताका बीचमा पहिलो पार्टी बनाउन कस्तो किसिमको कार्यनीति तथा कार्ययोजना निर्माण गर्ने र त्यसको सफल कार्यान्वयनका लागि त्यो अनुसारको सक्षम नेतृत्व कसरी चयन गर्ने भन्नेमा रहनुपर्छ । साथै आफ्नो जिम्मेवारीमा स्पष्ट भएर उक्त अधिवेशनबाट मूल उद्देश्य प्राप्त गर्नका लागि माथि विवेचना गरिएझैं कार्यहरू सम्पन्न गर्नुपर्नेछ ।

सबैभन्दा मूल कुरा त यो अधिवेशनमार्फत चयन गरिने नेतृत्वको कार्यकालमा निकट भविष्यमै स्थानीय तहको निर्वाचन सम्पन्न हुँदैछ । २०७४ सालमा सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा पार्टीले अपेक्षाकृत परिणाम हासिल गर्न सकेन । त्यसबाट आवश्यक शिक्षा लिएर आगामी निर्वाचनमा भाग लिनुपर्नेछ । निर्वाचनमा भाग लिएर जनताका बीचमा जाँदा हाम्रो पार्टीको नीति तथा कार्यक्रम, भावी कार्ययोजना, जनताको दैनिकीसँग प्रत्यक्ष सरोकार रहने स्थानीय मुद्दाहरू सम्बोधन गर्ने विश्वासिलो प्रतिबद्धतासहित उपस्थित हुनुपर्दछ ।

त्यसका लागि हामीलाई आवश्यक भनेको हाम्रो बलियो संगठन हो । त्यो बलियो संगठन निर्माणका लागि आधारहरू तय गर्ने मुख्य थलो भनेकै पार्टीको अधिवेशन हो । त्यसैले यो अधिवेशनमा सहभागी हुनुहुने सम्पूर्ण क्रियाशील सदस्यहरूलाई पार्टीको संगठनलाई सर्वोपरि ठानेर उच्च मनोबलका साथ १४औं अधिवेशन सम्पन्न गर्नुहुन हार्दिक शुभकामना ।

(तिमल्सिना नेपाली कांग्रेस धादिङका जिल्ला सदस्य हुन् ।) 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment