Comments Add Comment

सागका पदक विजेता एथ्लेटिक्स खेलाडीलाई नगद पुरस्कार

११ साउन, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेता खेलाडीलाई सोमबार नेपाल एथलेटिक्स संघले नगद पुरस्कार प्रदान गरेको छ । सोमबार आयोजित कार्यक्रममा पदक विजेता आठ खेलाडीलाई संघले पुरस्कृत गरेको हो ।

एथलेटिक्स संघले १३ औं सागका स्वर्ण पदक विजेतालाई एक लाख, रजत विजेतालाई ३५ हजार र कांस्य पदक विजेता खेलाडीलाई जनही २० हजार रुपैयाँ प्रदान गरेको हो ।

पदक विजेता खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद्का निमित्त सदस्यसचिव एकेन्द्र कुँवर, बागमती प्रदेशका सदस्यसचिव सूर्य भण्डारी, एथलेटिक्स संघका अध्यक्ष राजीवविक्रम शाह र पूर्व सभासद कल्पना चौधरी (बस्नेत) ले पुरस्कार प्रदान गरे ।

दुई वर्षअघि नेपालमा आयोजना भएको १३ औं सागमा नेपालले तीन स्वर्ण, एक रजत र चार कांस्य पदक जितेको थियो । सन्तोषी श्रेष्ठले १० हजार मिटर, गोपीचन्द्र पार्कीले पाँच हजार मिटर र किरणसिंह बोगटीले म्याराथनमा स्वर्ण पदक जितेका थिए ।

यसैगरी पुष्पा भण्डारीले महिलातर्फको म्याराथनमा रजत पदक जितेकी थिइन् । यसैगरी सोमबहादुर कुमालले आठ सय मिटर, टंक कार्कीले १५ सय मिटर, हरिकुमार रिमालले पाँच हजार मिटर र दीपक अधिकारीले १० हजार मिटर दौडमा कांस्य पदक जितेका थिए ।

सोही कार्यक्रममा अल इन्डिया जुनियर एथलेटिक्स च्याम्पियनसिपमा सहभागी हुन जाने अजितकुमार यादवलाई पनि बिदाइ गरिएको थियो । उनले १५ सय मिटर दौडमा प्रतिस्पर्धा गर्ने छन् । यसैगरी केन्याको नौरबीमा आयोजना हुने वर्ल्ड यू–२० जुनियर एथलेटिक्स च्याम्पियनसिपमा पनि अजितले सहभागिता जनाउने छन् ।

उनले तीन हजार मिटर दौडमा प्रतिस्पर्धा गर्ने छन् । अजितले सन् २०१८ मा हङकङमा आयोजना भएको एसियन जुनियर एथलेटिक्स च्याम्पियनसिपको म्याराथनमा स्वर्ण पदक जितेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment