Comments Add Comment

मानव बेचबिखन तथा ओसारपसार ऐन संशोधन गर्न जोड

११ असार, काठमाडौं । मानव बेचबिखन तथा ओसारपसार ऐनमा रहेको बेचबिखनसम्बन्धी परिभाषा संशोधन गर्नुपर्ने यो क्षेत्रका विज्ञहरुले बताएका छन् ।

महिला, कानून र विकास मञ्च (एफडब्लुएलडी)ले सोमबार काठमाडौंमा गरेको कार्यक्रममा ऐनमा भएको बेचबिखनको परिभाषा अन्तर्राष्ट्रिय कानूनसँग मेल नखाने भएकाले संशोधन गर्न जरुरी रहेको अधिवक्ता एवं मञ्चका कार्यकारी निर्देशक सविन श्रेष्ठले बताए ।

अन्तर्राष्ट्रिय कानूनले मानव बेचबिखन, आन्तरिक ओसारपसार, वैदेशिक रोजगारीमा ठगीलाई अलग परिभाषा गरेको छैन । ऐनमा बेचबिखनको लागि छुट्टै र वैदेशिक रोजगारीमा ठगीमा पर्नेको लागि छुट्टै कारबाहीको प्रावधान नै नराखिएकाले पीडक उम्कने गरेको उनको भनाइ छ ।

बेचबिखन भन्नेवित्तिकै समाजले लगाउने लाञ्छनाका कारण वैदेशिक रोजगारीको ठगीमा परेकाले बेचबिखनमा परेको स्वीकार नगर्ने श्रेष्ठ बताउँछन् । नेपालको कानूनले पनि वैदेशिक रोजगार ठगीमा परेकाले मानव बेचबिखन विरुद्घ उजुरी र कारबाही गर्न नपाउने भनेको छ । तर यो दुई छुट्टाछुट्टै अपराध भएकोले दुवैको कानूनी उपचारको लागि अलग व्यवस्था गर्नुपर्ने श्रेष्ठको तर्क छ । उनी भन्छन्, ‘यो दुई छुट्टाछुट्टै अपराध भएकोले दुवैको कानूनी उपचारको लागि व्यवस्था हुनुपर्छ ।’

मानव बेचबिखन ऐनले नेपालभित्रको आन्तरिक ओसारपसारलाई बेचबिखन मानेको छैन । विदेशमा हुने ओसारपसारलाई मात्र बेचबिखन भनी मानेको छ ।

कार्यक्रममा सहभागी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको मानव बेचबिखन शाखा प्रमुख मीना पौडेलले पनि नेपालको कानून, ऐन संशोधन गर्न आवश्यक रहेको स्वीकार गरिन् । प्राप्त सुझाव अनुसार सरकारले कानून संशोधनको तयारी गरिरहेको समेत जानकारी दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment