Comments Add Comment

फुटबल विवादमा किरण चेम्जोङले भने : गल्ती होइन समाधान खोजौं

११ साउन, काठमाडौं । नेपाली फुटबल क्षेत्रमा देखिएको विवादमा राष्ट्रिय फुटबल टिमका कप्तान किरणकुमार लिम्बुले पनि आफ्नो धारणा सार्वजनिक गरेका छन् ।

राष्ट्रिय टिमका मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइरीले राजीनामा दिने घोषणा गरेपछि तातिएको फुटबल क्षेत्रको विवादको समाधान खोज्न कप्तान किरणले सामाजिक सञ्जालमार्फत आग्रह गरेका छन् ।

सोमबार अलमुताइरीले सामाजिक सञ्जालमै राजीनामा दिने घोषणा गर्दै आफूले अखिल नेपाल फुटबल संघ एन्फाका वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङ कारण राजीनामा घोषणा गरेको आरोप लगाएका थिए ।

त्यसपछि नेम्वाङले पनि यो आफूमाथि षड्यन्त्र भएको भन्दै छानविन गर्न माग गर्दै दोषी भए राजीनामा नै दिने बताएका छन् । आइतबार अलमुताइरीले एन्फा अध्यक्ष कर्मा छिरिङलाई भेटेपनि राजीनामा बुझाएनन् ।

किरणले को सही को गलत भन्ने विषय आफूहरुलाई थाहा नभएको तर राष्ट्रिय टिमको कोही सदस्यलाई गुमाउन नचाहेको बताएका छन् । यसको अर्थ अलमुताइरी राष्ट्रिय टिमको प्रशिक्षकमा रहिरहनुपर्नेतर्फ उनको संकेत देखिन्छ । ‘राष्ट्रिय टिम परिवार हो । परिवारको सदस्य हुनुले हामीले धेरै उतारचढाव सुनेका छौँ । हामीलाई थाहा छैन को सही र को गलत ? तर राष्ट्रिय टिमले आफ्नो कोही सदस्य गुमाउन चाहँदैन’ किरणले फेसबुकमा लेखेका छन् ।

उनले यसमा अल्झनु भन्दा आउने खेलमा केन्द्रित हुनुपर्ने बताएका छन् । ‘यो आगामी प्रतियोगिता र खेलका लागि केन्द्रित हुने समय हो । त्यसैले गल्ती पत्ता लगाउने होइन समाधान खोजौं’ किरणले आग्रह गरेका छन् ।

आगामी साफ च्याम्पियनसिप र एएफसी एसियन कपको तेस्रो चरणको छनोटका लागि नेपाली फुटबल टिमले बन्द प्रशिक्षण सुरु गरिसकेको छ । प्रारम्भिक चरणमा ५० खेलाडीलाई प्रशिक्षणमा बोलाएकोमा अहिले घटाएर ३६ खेलाडीलाई बन्द प्रशिक्षणमा राखिएको छ ।

सेप्टेम्बरमा हुने भनिएको साफ च्याम्पियनसिप, अक्टोबरमा गर्ने साफको सदस्य राष्ट्रहरुबीच सहमति भएको छ । यस्तै आयोजकको घोषणा अगष्ट पहिलो साता हुने साफले जनाएको छ । नेपाललाई पनि साफ आयोजना गर्न प्रस्ताव आएको छ । अब एन्फाले आयोजनाको विस्तृत विवरण साफलाई बुझाउनेछ । अन्तिम निर्णय भने साफकै हुनेछ ।

गत चैतमा मुख्य प्रशिक्षक नियुक्त भएका अलमुताइरीले नेपालले साफ च्याम्पियन जिताउने, नभए कम्तीमा फाइनल पुर्‍याउने लक्ष्य लिएका छन् । तर पछिल्लो घटनाक्रमले भने उनी साफसम्म नेपालमा बस्छन् वा बस्दैनन् भन्ने शंका उत्पन्न भएको छ ।

यो पनि पढ्नुहोस के हो प्रशिक्षक अलमुताइरी र उपाध्यक्ष नेम्वाङको विवाद ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment