Comments Add Comment

कोरोनासँग होलिडे !

शायद कामको प्रकृतिले नै भन्न मिल्छ, बिहान चाँडो उठ्ने आदत कहिल्यै पार्न सकिएन । बिदाको दिन बिहानै उठ्ने अठोट लिएर राति सुत्यो, आखिर उही हो पारा। चारदिने बिदा मनाउन दुई परिवारको योजना हुनुले पनि बिहान सात बजेदेखि नै उनको कन्कन आज अलिक तेज नै थियो।

उनको पहिलो सूचना सदाझैं आज पनि दुई घन्टा अगावै थियो। आज त झन् आफूलाई शनिबार साँझको व्यस्त र थकाइ नै लाग्ने कामको चापले होला, टाउको भारी, नाक स्वाँक्कसुँक्कको स्थितिले ओछ्यान छोड्ने मुड बनेकै थिएन।

मैले जिस्क्याएँ- म त होलिडे जान सक्दिनँ जस्तो छ।  उनलाई थाहा भइसकेछ- ल यो बिस्कुट खाएर दुई ट्याब्लेट सिटामोल लिनुस्। फेरि एक घन्टा टारें। तर आदेश मान्नुको विकल्प थिएन, सोही गरें र भएँ तयार होलिडे जानका लागि।

यो सिजनकै गर्मी हुने मानिएको त्यस आइतबारको बिहान दश बजे नै २२-२३ डिग्री तापक्रम, खुल्ला आकाश र होलिडे योजना शायदै जुर्ने गर्छ, जुन हामीले पाएका थियौं। हामी दुई परिवार जम्मा सात जनाको डफ्फा महीना दिन पहिलेदेखिको योजना बमोजिम प्रस्थान गर्‍यौं- ‘ए-वान’को हाईवेमा ७०-८० मिल प्रतिघन्टाको वेगमा।

गाडी चलाउनका लागि चार-चार जना चालक इच्छुकमध्येको कम जाँगर देखाएको आज मैले (शायदै पहिलोपटक होला) देखेर भरतजीले जिस्काउनुभयो, आज हामी दुवैले आराम गर्ने ! मलाई लाग्यो- उहाँले मेरो विचार बुझ्नुभयो। मैले भनें- ल बधाई हामी दुवैलाई।

गाडीभित्र रमाइलो गर्ने हाम्रो सधैंको बानीलाई यसपटक मबाट खासै उत्साह नदेखिनुले केटाकेटीले नौलो मानिरहेका थिए। वातानुकूलित गाडीभित्रको मौसम, इच्छाबमोजिमको गीतको धुनले पनि मेरो यात्रा सोचेजस्तो आनन्दित हुन नसक्नुले हिजोको थकाइ एवं सामान्य रूघाभन्दा अरू पनि केही हो भन्न कर लागिरहेथ्यो मेरो मनलाई।

हामीले दुई घन्टाभन्दा लामो यात्रा तय गर्दा बाटोमा चिया–चमेनामा रोकिने सबैको सहमतिमा “सर्भिसेजमा” गाडी रोकियो। गाडी बाहिरको वातावरण त झनै तातो, अझ भनौं होलिडे टोलीलाई फेभरेवल लाग्ने गरी चर्किंदो थियो। कालो चश्माको आवरणले छोपिएका मेरा आँखा केटाहरूले एक डालो तारेका कुखुराका पँखेटा र खुट्टाहरू चिसो कोकका साथ हाम्रा लागि टेबुलमा पस्केपछि खुले। अंकलका आँखा किन रातो? भन्ने आयुष्माको प्रश्नमा बाँकी सबैले त्यस्तो खासै प्रतिक्रिया त जनाएनन्, बरू डाक्टर बन्दै अरू दुई सिटामोल थप्न प्रेस्क्राइब गरे। मैले पनि आज्ञाकारी बालक जस्तै आदेशको पालना गरें। यात्रा जारी रह्यो।

मध्यदिन हुँदै गर्दा हामी पहिलो गन्तव्य डोरसेट पुग्यौं। समुद्रीतटमा सीधै प्रस्थान गर्ने हाम्रो योजनालाई बाटोको चापलाई नियन्त्रण गर्न बसेका सुरक्षाकर्मीले तगारो हाले। अबको दुईघन्टालाई कुनै पार्किङ नभएको र तटमा मान्छेको अत्यधिक भीड सम्हाल्न त्यहाँ हम्मे परेको जानकारी पाएर हामी पनि अलमलमा पर्‍यौं।

केहीबेरको जामको रमिता हेरेर हामीले आफ्नो बाटो समुद्रतटतर्फ नै सोझ्यायौं। गाडीभित्र सबैलाई बाजी मारेजस्तो महसूस भएपनि आफूलाई भने कतै आराम गर्न पाए हुने अनुभूति भइरहेथ्यो। कुरो मनमै राखें, थोरै रिंगटा, टाउको दुखाइ र सिंक्क सिंक्कलाई दबाएरै उनीहरूसँग रमाउन प्रयत्न गरें। हुलमा म पनि लागें।

२० मिनेटको ओरालो झरेर समुद्रको पानीले मुख धोएँ । आमाले भनेको याद थियो- ‘गंगाको पानीले चोखिएपछि शुद्ध भइन्छ ।’ सोही गरें । साथीभाइ तयारीका साथ सागरमा डुबे। संगिनीहरू टिकटकमा व्यस्त हुन थाले। म बबुरो आफ्नै टोपीले टाउकोमा ओझेल पारेर मुडो लडेझैं लडें । दुई-तीन घन्टाको हाम्रो समुद्रीतटको घुमाइपश्चात हाम्रो यात्रा बासस्थानतर्फ लाग्यो।

गंगाको तीरैतीर गाडी हुइँकियो। मनोरम दृश्य, गोधूलि प्रहर, संगीतको बहारले पनि मेरो मनलाई खुस पार्न सकेन। हामी होटल आइपुग्यौं- बेलुकी सात बजे। वेमाउथमा एकजना गुरूङजीको गुर्खा ओरेन्टल बफेट रेष्टुरेन्ट रहेछ । हाम्रो टोलीले खाना ‘इन्ज्वाय’ गरे। मैले पनि खुशी मिसाएँ सबैसँग । अब मलाई सुत्न कसले रोक्ने ? तर राति त ज्वरो नै आयो, बिहान कहिले होला झैं भयो।

मेरो स्थिति होलिडे सुहाउँदो नभएपछि सबैलाई खल्लो महसूस भयो। मैले ढाडस दिन खोजें । भनें- ‘तपाईंहरू जानुस्, म अलिक पछि जोडिन्छु ।’

दोमनमा रहेका उनीहरूलाई मैले जितें र म एक्लै होटलमा बसें, उनीहरू घुम्न निस्के। दिउँसो कोभिड टेस्ट किट ल्याएर चेक गरें । पोजेटिभ देखियो। अचम्म, आश्चर्य दुवै एकैसाथ भयो। उनीहरू पनि अलमलमा परे, के कतिलाई सर्‍यो होला। हामी आधाजसो दुवै डोज खोप लिने मध्येका थियौं। आयुष्मा खोपको एक डोज पनि नलगाउनेमा पर्थिन् भने दुई बाबुहरू एक डोज लगाउने मध्येका थिए। सबैमा थोरै चिन्ता र धेरै अन्योल एकैसाथ पार्‍यो । मैले फेरि ढाडस थपें- यो र्‍यापिड टेस्ट त्यति भरपर्दो हुँदैन, म ठीक छु।

अब चाहिं मेरो झुट मान्न एकजना पनि तयार थिएनन्। मेरो अनुहारको रङ्ग र अगाडिको प्रमाण झुट थिएन। खानेकुरा कोठामा आयो, टन्न खायौं। मैले स्वाद खासै पाइनँ, तर मजाले खाएँ। साँझपख घुम्न जाउँ भने । उनीहरूले पत्याएनन् मलाई। झ्यालबाट समुद्री किनारको चहलपहल र रमाइलो सिगल्सको चिरबिरले बाध्य पार्‍यो बाहिर निस्कन।

साडीको फन्को मार्दै एकजोडी टिकटक कलाकारको पछि लाग्नुभयो मेरा मित्र, फिल्म निर्देशक जस्तै। अब मलाई फेरि शान्त र रिलिफयुक्त लाग्यो, मेरो कोठाको वातावरण। तर बिरामी मनलाई एकान्तपन पनि लामो समय निको नलाग्ने रहेछ। छोरो पनि गयो कि? छोरीलाई एक कल गरूँ कि झैं भयो।

सूर्यास्तपछिको साँझ समुद्रको किनारमा उभिन पाए भन्ने छट्पटी मेरो मनमा पनि आइरह्यो। भर्खरै सिटामोल खाएकोले होला- जान सक्छु झैं भो र म पनि निस्कें। उनीहरूलाई एकछिन साथ दिने प्रयास गरें।

दुईदिन जसोतसो टारेको मैले मेरा होलिडे टोलीलाई, तेस्रो दिन टार्न सकिनँ । हामीले होलिडे छोट्याएर फर्क्यौं। घर फर्केकै दिन पीसीआर परीक्षण केन्द्रमा गयौं र कोभिड परीक्षणको लागि। भोलिपल्ट मेरो भन्दा पहिला उनको रिजल्ट आयो- पोजेटिभ !  मेरो त अपेक्षित नै थियो र आयो पनि त्यही नै।

केहीलाई भ्रम रहेछ- अस्ट्राजेनेका खोपको त्यति भर छैन। मेरो हकमा सही होला। तर उनले लगाएको खोप फाइजर हो र उनलाई मलाई भन्दा धेरै लक्षणहरू- खोकी लाग्ने, टाउको दुख्ने, रूघा र ज्वरो सबै नै भयो। तैपनि धन्यवाद भन्नैपर्छ- दुवै खोपको डोजले नै होला, हामी दुवैलाई सिकिस्त हुन दिएन। हामी जोगियौं।

जोगिएर रहनुहोला । कोभिडलाई गम्भीरतापूर्वक लिनुहोला। सतर्कता अपनाउनुहोला। हजुरहरू कसैलाई पनि कोरोना नलागोस्- कामना !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment