+
+
Shares

हतियार देखाई सुन पसल लुट्न खोजेको आरोपमा मोरङमा ६ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन १३ गते १६:१४

१३ साउन, काठमाडौं । मोरङको सुन्दरहरैंचा नगरपालिकास्थित एक सुनचाँदी पसलमा हतियार देखाई लुटपाट गर्न खोजेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।

सुन्दरहरैचा नगरपालिका–१० त्रिवेणी चोकका खगेन्द्र थापाको शिव पञ्चायन ज्वेलर्समा हतियार देखाई लुटपाट गर्न खोजेको अभियोगमा सुनसरीको इटहरी उपमहानगरपालिका–२० तरहरा डेरा गरी बस्नेहरु संखुवासभा सभापोखरी गाउँपालिका–४ घर भएका ३९ वर्षीय प्रकाश भन्ने चन्द्रबहादुर राई, संखुवासभा बारबिसे गाउँपालिका–६ घर भएका ३० वर्षीय चिरञ्जीवी राई र भोजपुर पौवादुम्मा गाउँपालिका–३ घर भएका ३० वर्षीय नगेन्द्र राई छन् ।

यसैगरी सुनसरी गढी गाउँपालिका–१ का ४५ वर्षीय डाइमण्ड भन्ने प्रमोद चौधरी, मोरङ सुन्दरहरैचा नगरपालिका–५ का २२ वर्षीय मिशन राई र सुन्दरहरैचा नगरपालिका–७ का ३१ वर्षीय सन्तोष राईलाई प्रहरीले बुधबार पक्राउ गरेको हो ।

उक्त ज्वेलर्समा असार ३१ गते ६ जना मोटरसाइकलमा आई लुटपाट गर्ने योजना बनाए पनि सफल हुन नसकेपछि बुढी खोलाको बाटो हुँदै इटहरीतर्फ गएको र साथमा लगेको हतियार नमुना सामुदायिक वन जंगलमा रूखको टोड्कोमा लुकाइ राखेको प्रहरीको भनाइ छ ।

साउन १ गते दिउँसो उक्त ज्वेलर्समा लुटपाट गर्ने उद्देश्यले हतियार सहित प्रमोद चौधरी लगायत तीन जना प्रवेश गरेको र अन्य तीन जना उक्त पसलको वरिपरि निगरानी गरी बसेको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ ।

साथै सुन्दरहरैंचा नगरपालिका–५ नमुना सामुदायिक वनको करमको रूखको टोड्कोभित्र लुकाइ राखेको अवस्थामा घटनामा प्रयोग भएका १ थान एसएमजी, सोको १ थान म्याग्जिन, ६२ राउण्ड गोली, १ थान अटोमेटिक पेस्तोल, सोको १ थान म्याग्जिन, २ राउण्ड गोली, १ थान कटुवा पेस्तोल, थ्रिनटथ्री राइफलको ४ राउण्ड गोली र २ थान सञ्चार सेट प्रहरीले बरामद गरेको छ ।

उनीहरुको साथबाट को २ ह २७३६ नम्बरको अटो रिक्सा, प्रदेश १–०२–०४४ प ५९९५ मोटरसाइकल, को २० प १८६ मोटरसाइकल, को ८ प ६५८३ मोटरसाइकल, को २१ प ६७०३ मोटरसाइकल,  ८ थान मोबाइल र १६ हजार १ सय रुपैयाँ नगद समेत प्रहरीले बरामद गरेको छ ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?