Comments Add Comment

धनुषामा दुई सातामा दुईजना युवकको हत्या

१४ साउन, जनकपुरधाम । धनुषाको शहीदनगर नगरपालिकामा दुई साताभित्र दुईजना युवक मारिएका छन् । एक जनाको हत्याका कारण बाहिर नआउँदै अर्का युवकको हत्या भएको छ ।

पछिल्लो पटक नगरपालिकाको वडा नम्बर ३ गोठकुहाका एक युवकको हत्या भएको छ । २१ बर्षीय गोबिन्द यादवलाई उनकै साथीहरुले हत्या गरेका छन् ।

टाउको, छातीसहित शरीरका बिभिन्न ठाउँमा चोट लागेको अवस्थामा घर नजिकैको सडक छेउमा फेला परेका उनलाई उपचारका लागि विराटनगर लग्दा त्यहीं मृत्यु भएको छ ।

धनुषाका प्रहरी प्रवक्ता एवं डीएसपी मकेन्द्र कुमार मिश्रले झगडा भएर कुटपिट गरिँदा उनी घाइते भएको र उपचारका क्रममा मृत्यु भएको बताए । ‘साउन १२ गते गम्भीर घाइते अवस्थामा फेला परेका उनलाई उपचारका लागि प्रादेशिक अस्पतालमा ल्याइयो । उहाँबाट रेफर गरेपछि विराटनगरको न्यूरो अस्पतालमा उपचारकै क्रममा बुधबार मृत्यु भयो’ डीएसपी मिश्रले भने, ‘झगडा हुँदा उनलाई निर्घात कुटपिट गरिएको रहेछ ।’

घट्नामा संलग्न भएको आशंकामा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ । उनीहरुलाई नियन्त्रणमा लिएर घट्ना सम्बन्धमा थप अनुसन्धान गरिरहेको डीएसपी मिश्रले बताए । शहीदनगर नगरपालिकाकै वडा नम्बर ९ का एक युवकको दुई साताअघि हत्या भएको थियो।

श्राद्धको भोज खान भारत गएका शहीदनगर नगरपालिका-९ का दीपेश रजकको भारतमै हत्या भएको थियो । २७ असारको राति साथीसँगै भोज खान गएका २३ वर्षीय दीपेश बिहारको छतौनी पञ्चायतस्थित बछराजा नदीमा ३ साउनमा मृत भेटिएका थिए ।

शहीदनगर नगरपालिका वडा नम्बर ८ का दुर्गानन्द रजक र वडा नम्बर ७ का रञ्जित मण्डलका साथ मोटरसाइकलमा उनी भारत गएका थिए । दिपेश मृत फेला परेपछि दुर्गानन्द र रंजित पनि फरार भएका छन् । घट्ना सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

दुई साताभित्रै दुई जना युवकको हत्या हुनु दुःखद भएको शहीदनगर नगरपालिकाका समाजसेवी विनोद रोहिता बताउँछन् । रक्सी र लागूऔषधका कारण युवाबीच झगडा हुनेदेखि कुटाकुटको स्थिति भइरहनु पनि यस्ता घट्नाको कारण भएको उनको बुझाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment