Comments Add Comment

राहदानी संग्रहालय स्थापना हुँदै, ऐतिहासिक राहदानी उपलब्ध गराउन आग्रह

१४ साउन, काठमाडौं । राहदानी संग्रहालय स्थापनाका लागि पुराना र ऐतिहासिक राहदानी संकलनको काम शुरु गरिएको छ ।

राहदानी विभागले आफ्नो घर परिवारमा रहेका संग्रहणीय राहदानी वा विदेश यात्रा गर्नका लागि जारी गरिएका कागजात उपलब्ध गराउन सर्वसाधारणलाई आग्रह गरेको छ । यसरी प्राप्त सामग्रीहरु उपलब्ध गराउने व्यक्ति वा संस्थाको सहमतिमा नाम ठेगाना समेत उल्लेख गरी सुरक्षित संग्रहालयमा राखिने जानकारी विभागले दिएको छ ।

यसैबीच इन्दुशमशेर थापाको सन् १९५९ नोभेम्बर १९ मा जारी भएको राहदानी उनका छोरा गौरवशमशेर थापाले विभागका महानिर्देशक डोरनाथ अर्याललाई बुधबार हस्तान्तरण गरेका छन् । सो राहदानीको भित्री पाना तथा भिसा पेजहरूमा उल्लेखित विवरणहरू संग्रहालयको लागि महत्वपूर्ण रहेको विभागले जनाएको छ ।

विभागले भनेको छ, ‘विभागमा हालसम्म प्राप्त यसप्रकारको यो सबैभन्दा पुरानो राहदानी हो जसमा नेपाल सरकारको नामबाट छपाइ भएको र पछि हातले श्री ५ को सरकार बनाएको देखिन्छ ।’ उक्त राहदानी बेलायतस्थित नेपाली राजदूतावास, लण्डनबाट जारी गरिएको र उक्त राजदूतावासका तत्कालीन प्रथम सचिव श्री झरेन्द्र नारायण सिंहले हस्ताक्षर गरेको देखिन्छ ।

विभागले राहदानीसँग सम्बन्धित लेख रचना र अन्य कागजातहरुको संकलन समेत थालेको छ ।  राहदानी बुझाएका थापाले आफूले आफ्नो बुबाको राहदानी सुरक्षित रुपमा राखेको र विभागले सर्वसाधारणलाई उपलब्ध गराउन सार्वजनिक सूचना जारी गरेपछि हस्तान्तरण गरेको बताए । उनले भने, ‘तर यो नै सबैभन्दा पुरानो राहदानी हो भन्ने चाहिँ यकिन छैन, यद्यपि विभागले एक पुरानो राहदानी प्राप्त गरेको छ ।’

राहदानी विभागका प्रवक्ता राजेन्द्र पाण्डेले सर्वसाधारणको तर्फबाट विभागलाई प्राप्त भएको यो पहिलो र पुरानो पासपोर्ट भएको बताए । उनले विभाग आफैंसँग सन् १९६० पछि जारी भएका राहदानीहरु सुरक्षित रहेको बताए । पाण्डेले भने,‘राहदानी विभागले आफूसँग भएका र सर्वसाधारणले उपलब्ध गराएका राहदानी जम्मा पारेर संग्रहालय निर्माण गर्न थालेका छौं । आफूसँग भएका पासपोर्ट उपलब्ध गराउन हामी आग्रह गर्दछौं ।’

विभागले भीमसेन थापाको पालामा काठमाडौं बाहिर जानका लागि जारी गरिने राहदानीदेखि यताका सबै संकलन गर्ने योजना बनाएको छ । विदेश जानका लागि नेपालले कहिलेबाट राहदानी जारी गर्न शुरु गरेको हो भन्ने यकिन जानकारी भने छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment