+
+

बच्चाले धन-दौलत होइन, स्नेह र स्पर्श खोज्छन्

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २ गते १०:२८

हामी बालबच्चाको भविष्यलाई लिएर चिन्तित हुन्छौं । उनीहरुले दुःख भोग्न नपरोस्, कष्ट खेप्न नपरोस्, अभाव सहन नपरोस् । हामी यस्तै चाहन्छौं ।

त्यसैले हामी उनीहरुका लागि भविष्य सुरक्षित गर्न चाहन्छौं । यसका लागि उनीहरुलाई पढाउने, लेखाउने वा सक्षम बनाउने यत्न गर्छौं । कसरी उनीहरु गरिखाने हुन्छन् र आफ्नो जीवन निर्वाह गर्न सक्छन् भनेर हामी घोत्लिने गर्छौं ।

यसका साथै हामी उनीहरुका लागि धन–सम्पति जगेडा गरिदिने प्रयास गर्छौं । भोलिका दिनमा उनीहरुले कसैलाई मागेर खान नपरोस् । चोरेर, लुटेर खान नपरोस् । ठगेर खान नपरोस् । हामी यस्तै कामना गर्छौं ।

त्यसैले घरजग्गा, संभव भए गाडी वा भौतिक आवश्यक्ताहरु पुरा गरिदिनतर्फ लाग्र्छौं । यसैको चक्करमा लागेर हामी दिनरात काममा खटिन्छौं । आफ्नो उद्यम व्यवसायमा लाग्छौं ।

बिहान उठ्नसाथ हामीलाई आफ्नो कारोबारको बारेमा सम्झन थाल्छौं । कहाँ के गर्ने, कसरी पैसा कमाउने, कसरी जग्गा जमिन जोड्ने, कसरी बैंक ब्यालेन्स बढाउने ? इत्यादि कुरामा हामी घोत्लिन थाल्छौं । अनि हतार–हतार गाँस टिपेर आफ्नो कामधन्दामा लाग्छौं ।

साँझ अबेर घर फर्कन्छौं । घर फर्कदा हामी थकित हुन्छौं ।

हामीले दिनभर छोराछोरी वा परिवारकै लागि काम ग¥यौं । उनीहरुकै खातिर दौडधूप ग¥यौं । तर, आमा वा बुवा हुनुको नाताले हाम्रो दायित्व यतिमा सकिन्छ ? यो नै हाम्रो मूल जिम्मेवारी हो ?

दिनभर काम र व्यवहारको चक्कर लगाउँदा लगाउँदै हामीले आफ्नो बालबच्चालाई समय दिदैनौं । उनीहरुसँग भलाकुसारी गर्दैनौं । उनीहरुको कुरा सुन्दैनौं । उनीहरुसँग रमाउने र खेल्ने गर्दैनौं ।

वास्तवमा हाम्रा बालबच्चालाई यो समयमा अथाह धन दौलत भन्दा सामिप्य र स्नेहको खाँचो हुन्छ । उनीहरुलाई आमाबुवाको काख र काँध जरुरी हुन्छ । आमाबुवाको मायालु स्पर्शको आवश्यक्ता हुन्छ ।

हामी यसरी दौडधूपमा लागिरहेका छौं कि आफ्ना बालबच्चासँग हाँस्ने, बोल्ने, खेल्ने, रमाउने समय हामीसँग छैन । हामी आफ्ना बालबच्चालाई भन्दा प्राथमिकता कामलाई दिन थालेका छौं । यही कारण बालबच्चाहरु एक्लिदै गएका छन् ।

यतिबेला अधिकांश बालबच्चा घरमा छन् । उनीहरु साथीभाईसँग खेल्न पाएका छैनन् । घुमफिर गर्ने अनुकुलता छैन । उन्मुक्त मनोरञ्जन गर्न पाएका छैनन् । कतिपय बालबालिकासँग त खेल्नका लागि आफ्ना दाजुभाई, दिदीबहिनी हुनसक्छन् । तर, कतिपय बालबालिका भने नितान्त एक्लो छन् । किनभने धेरै अभिभावकले अहिले एकल सन्तान हुर्काइरहेका छन् ।

यी बालबच्चालाई यतिबेला खेल्ने, बोल्ने, रमाइलो गर्ने साथी चाहिन्छ । जबकि आमाबुवा काममा व्यस्त हुन्छन् । अरु खेल्ने दौतरी छैनन् । उनीहरु एक्लो छन् ।

यसर्थ हामीले आफ्नो बालबच्चाको लागि निश्चित समय छुट्याउनुपर्छ । उनीहरुसँग भलाकुसारी गर्नुपर्छ । उनीहरु के चाहन्छन्, के गर्दा रमाउँछन् ? थाहा हुनुपर्छ ।

कतिपय अभिभावक आफ्ना बालबच्चासँगै घरमा बसेका छन् । उनीहरु ठान्छन्, मैले अधिकांश समय बालबच्चालाई दिएको छु । तर, कति समय बालबच्चालाई दिइयो भन्ने कुरा त्यती महत्वपूर्ण हुँदैन जति कि कस्तो समय उनीहरुलाई दिइयो ।

बालबच्चासँग तपाईं एक घण्टा, दुई घण्टा बस्नुहोस् । यसले खास फरक पार्दैन । तर, सो अवधिमा तपाईंले बालबच्चासँग कस्तो समय बिताउनुभयो ? कति रमाउनुभयो ? कति खेल्नुभयो ? कति ख्याल–ठट्टा गर्नुभयो ? कति जीवनोपयोगी कुरा बाढ्नुयो ? कति कथा सुनाउनुभयो ? यसले अर्थ राख्छ ।

जब आमाबुवा बच्चाको साथी हुन्छन्, बच्चाको आनीबानीमा सुधार गर्न पनि धेरै सहज हुन्छ । किनभने यस क्रममा उनीहरुले नजिकबाट बच्चाको भावना बुझ्न सक्छन् । बच्चासँग संवाद हुन्छ । उनीहरुको गुनासो र अप्ठ्यारो सुन्न सकिन्छ ।

जब कुनै बच्चा हामीमाथि हावी हुन्छन्, उनीहरु मन खोलेर कुराकानी गर्छन् । यसले गर्दा बच्चा के चाहन्छन्, के कुरामा असहज मान्छन्, के कुरामा रमाउँछन् भन्ने कुरा थाहा पाउन सकिन्छ ।

साथसाथै उनीहरुलाई खेलकै माध्यामबाट नयाँ नयाँ अभ्यास गर्न लगाउन सकिन्छ । भान्साको काममा सहभागी गराउन सकिन्छ । घरको सरसफाई वा बगैंचाको काममा खटाउन सकिन्छ । यसले गर्दा उनीहरुको क्षमता विकास हुन्छ । शारीरिक सक्रियता बढ्छ । श्रमको मूल्य बुझ्छ ।

बालबालिकासँग हामीले यसरी नै समय व्यतित गर्नुपर्छ, जसले उनीहरुलाई केही उत्प्रेरणा, केही हौसला, केही जाँगर, केही खुसी दिलाउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment