+
+

नक्कली नागरिकता र कागजात देखाएर ठगी गरेको आरोपमा भारतीय नागरिक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ३ गते १८:३०

३ भदौ, काठमाडौं । नक्कली नागरिकता र अन्य कागजात बनाई विभिन्न व्यक्तिलाई ठगी गरेको आरोपमा प्रहरीले एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । भारतको हिमाञ्चल प्रदेश राज्यको रामपुर गसेरा सिम्ला जिल्ला नोगली पञ्चायत घर भएका रविकुमार सिंहलाई महानगरीय अपराध महाशाखाको टोलीले सोमबार साँझ ललितपुरको महालक्ष्मी नगरपालिका–५ सेतीपाखाबाट पक्राउ गरेको हो ।

उनले कैलाली टीकापुर नगरपालिका–९ स्थायी ठेगाना र सुर्खेतको साविका लाटीकोइली गाविस–७ जन्मस्थानको ठेगाना उल्लेख भएको नक्कली नागरिकताको प्रतिलिपि देखाएर कैलाली र सुर्खेत आफ्नो घर भन्दै विभिन्न व्यक्तिबाट रकम र सवारी साधन ठगी गरेको देखिएको प्रहरीले जनाएको छ ।

सिंहले बुटवल उपमहानगरपालिका–८ का हरि मल्ल र महेन्द्रकुमार श्रेष्ठलाई बुटवल–नारायणघाट सडकखण्डको रुख कटानको आफूसँग सब–कन्ट्रयाक्ट भएको र त्यसमा लगानी गरे फाइदा हुन्छ भनी ४३ लाख ७३ हजार रुपैयाँ लिएर खातामा पैसा नभएको चेक दिएर सम्पर्कविहीन भएको उजुरी परेको छ ।

यस्तै रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–६ का कृष्णबहादुर गुरुङसँग बा १२ च ३८५९ नम्बरको कार लिई सम्पर्कविहीन भएको र सोही कार नक्कली ब्लुबुक देखाएर ८ लाख ३५ हजार रुपैयाँमा भक्तपुर बस्ने प्रदीप रायसँग धितो राखी ठगी गरेको प्रहरीले जनाएको छ ।

चुरियामाई इन्टरप्राइजेज जडिबुटी, काठमाडौंका सञ्चालक कृष्णहरि गौतमसँग बजाज कम्पनीको बा ९५ प १६८ नम्बरको मोटरसाइकल ३ लाख ३० हजार रुपैयाँमा खरिद गर्ने भनी ३० हजार दिएर बाँकी पैसा पछि दिन्छु भन्दै सम्पर्कविहीन भएको उजुरी परेको छ ।

यसैगरी सिंहले जनकपुरधाम उपमहानगरपालिकाको न्यू साह एण्ड इन्टरप्राइजेजका सञ्चालक प्रदीपकुमार साहलाई रोयल हाइड्रो कन्सट्रक्सन प्रालिको म्यानेजिङ डाइरेक्टर हुँ भन्दै कम्पनीको प्रदेश ३–०१–०२३ च ००५० नम्बरको ब्रेजा कार मासिक १ लाख ५० हजार रुपैयाँ भाडा दिन्छु भन्दै लगेर सम्पर्कविहीन भएको खुल्न आएको महाशाखाको भनाइ छ ।

यस्तै रोयल हाइड्रोकै नक्कली लेटरप्याड, कम्पनीको छाप र नक्कली दस्तखत प्रयोग गरेर आफूलाई संस्थापक अध्यक्ष हुँ भन्दै विभिन्न व्यक्तिहरुलाई करीब एक करोड रुपैयाँ ठगी गरेको भन्दै पीडितहरुले जाहेरी दिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका सिंहलाई महानगरीय प्रहरी परिसर टेकूमा बैंकिङ कसूरमा मुद्दा दर्ता भई पक्राउ पूर्जी जारी भएकाले थप अनुसन्धानका लागि परिसरमा पठाइएको महाशाखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?