+
+

अख्तियारले गर्‍यो नारायणी अस्पताल फार्मेसीको स्टोरबाट औषधिको विवरण संकलन

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ३ गते १९:२६
फाइल तस्वीर

३ भदौ, वीरगञ्ज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वीरगञ्जको नारायणी अस्पतालमा सञ्चालित फार्मेसीको स्टोरबाट औषधिको विवरण स‌ंकलन गरेको छ । सोमबार फार्मेसीमा छापा मारेपछि फर्केको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली पुनः वीरगञ्ज आएर स्टोरमा राखिएको औषधिको विवरण संकलन गरेको हो ।

फार्मेसी इन्चार्ज हरेन्द्र यादवले दिएको रेकर्ड अनुसार स्टोरमा औषधि छ कि छैन ? भनी अनुसन्धान गर्न उत्पादन गर्ने कम्पनी, ब्याच नम्बर, उत्पादन मिति, म्याद गुज्रेको मिति, अंकित मूल्य, परिमाण लगायतको विवरण संकलन गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाले जनाएको छ ।

औषधिको विवरण तयार गर्न अख्तियारले औषधि व्यवस्था विभागको वीरगञ्ज शाखा कार्यालयको सहयोग लिएको थियो । मंगलबार अख्तियारबाट ५ जना र औषधि व्यवस्था विभागबाट तीन जना कर्मचारी खटिएका थिए ।

फार्मेसीमा १ करोड २१ लाख रुपैयाँ हिनामिना भएको समाचार सार्वजनिक हुनुका साथै अख्तियारमा उजुरी समेत परेपछि अख्तियारले छानविन शुरु गरेको थियो । सोमबार आवश्यक कागजात नियन्त्रणमा लिनुका साथै फार्मेसीको स्टोर शाखामा सिल गरेर गएको अख्तियारको टोली मंगलबार पुनः आएको थियो ।

फार्मेसीको स्टोर कक्षमा लामो समयदेखि म्याद गुज्रिएका औषधि ठूलो परिमाणमा भेटिएको छ । फार्मेसी प्रमुख यादवले ७० लाखको औषधि म्याद गुज्रिएको बताउँदै आएका छन् । फार्मेसीको स्टोरमा राखिएका औषधिको विवरण एक–एक गरेर संकलन गरिएको आयोगको हेटौंडास्थित कार्यालयका सूचना अधिकारी एवं उपसचिव विष्णुप्रसाद सोपकोटाले जानकारी दिए ।

‘सिल खोलेर औषधिको विवरण संकलन गरेका छौं, मंगलबार बिहान ११ बजेदेखि राति ९ बजेसम्म लाग्यो,’ उनले भने, ‘औषधि व्यवस्था विभागलाई म्याद गुज्रिएको औषधिको व्यवस्थापन गर्न भनेका छौं, अब फार्मेसी प्रमुखले दिएको विवरण सही छ कि छैन ? तुलना गर्न सकिन्छ ।’

स्टोर कक्षमा २२८ प्रकारका औषधि भेटिएका छन् । फार्मेसी इन्चार्ज यादवले ७० लाख रुपैयाँको म्याद गुज्रिएको औषधि मौज्दात रहेको दाबी गर्दै आएका छन् ।

हिनामिना लुकाउन म्याद गुज्रिसकेका औषधि नै सस्तो मूल्यमा खरिद गरेर स्टोरमा भण्डारण गरिराखेको आरोप कतिपयले लगाउँदै आएका छन् ।

२०७६ वैशाख १७ देखि फार्मेसीको जिम्मेवारी सम्हालेका इन्चार्ज यादवले बीमाको ५० लाख रुपैयाँ आउन बाँकी रहेको, ३० लाख रुपैयाँ बैंक मौज्दात रहेको बताउँदै आएका छन् । डेढ करोड रुपैयाँ आपूर्तिकर्तालाई भुक्तानी गर्न बाँकी रहेको समेत देखिएको छ ।

अस्पताल फार्मेसी सेवा निर्देशिका २०७२ अनुसार खरिद गरिएका औषधि म्याद गुज्रिनुअघि नै आपूर्तिकर्तालाई फिर्ता गरेर रकम लिनुपर्छ । तर फार्मेसीको स्टोरकक्षमा २०७५ सालदेखि नै म्याद गुज्रिएका औषधि ठूलो परिमाणमा जम्मा पारेर राखिएको छ । सरकारले दिएको २० लाख रुपैयाँ सिडमनीबाट अस्पतालमा २०७४ सालदेखि फार्मेसी सञ्चालनमा ल्याइएको थियो ।

निर्देशिकाअनुसार फार्मेसीमा १ हजार ३ सय प्रकारका औषधि उपलब्ध हुनुपर्छ । फार्मेसीले २०७७ कात्तिकदेखि औषधि खरिद नगरेपछि स्वास्थ्य बीमा गरेकाहरु औषधि सेवा पाउनबाट वञ्चित थिए । पछि अस्पतालले पुनः १० लाख रुपैयाँ निकासा गरेर औषधि वितरण कार्य सुचारु गरेको छ । फार्मेसी इन्चार्ज यादवले भने अनियमितता गरेको नभई दुईपटकको कोरोना महामारीमा अस्पतालले जनरल सेवा बन्द गरेका कारण औषधि बिक्री नभएको दाबी गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?