+
+

गाईजात्रामा हास्यव्यंग्य : सेलायो प्यारोडी

सुशील नेपाल सुशील नेपाल
२०७८ भदौ ७ गते १८:३०

२०४० को दशक प्यारोडीको युग थियो । गाईजात्रा शुरु हुनुअघि प्यारोडीले हलचल मच्याइसकेको हुन्थ्यो । अडियो क्यासेटको त्यो जमानामा प्यारोडीका एल्बमहरु तात्तातै हातैहात बिक्री हुन्थे । शहरका चोक-गल्लीदेखि गाउँगाउँसम्म, सार्वजनिक यातायातदेखि हाटबजारसम्म प्यारोडी घन्किन्थ्यो ।

प्यारोडी सुन्नकै लागि मान्छेहरु ठाउँ-ठाउँमा झुम्मिन्थे । समसामयिक राजनीति र नेता-मन्त्रीको उछितो काडिएका गीति ठट्यौली सुन्न सबै लालयित हुन्थे । शहरका पे्रक्षालयहरुमा दर्शकको ओइरो लाग्थ्यो । प्रहसनका बीचबीचमा पनि प्यारोडी सुनाइन्थ्यो ।

बढी चलेका गीतको लयमा प्रस्तुत गरिने प्यारोडी व्यंग्य-अभिव्यक्तिको एक रुप हो । यसमा ठ्टयौली, आलोचना र उपहासको समीश्रण हुन्छ । प्रहसनमा जस्तै प्यारोडीमा पनि समसामयिक सामाजिक-राजनीतिक विसंगतिमाथि प्रहार गरिन्छ ।

प्यारोडीमा शम्भुजीत बास्कोटा

४० को दशकमा तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानले गाईजात्राको अवसरमा हास्यव्यंग्य कार्यक्रम गर्न थालेको थियो । प्रतिष्ठानमा सर्वसाधारण र राजपरिवारका लागि छुट्टै शो गरिन्थ्यो । राजपरिवारले ‘नजर गरिबक्सने’ शोमा सरकारका उच्च ओहोदाधारीहरुले हास्यव्यंग्यको मज्जा लिन्थे ।

‘प्यारोडी किङ’ शम्भुजीत बास्कोटा सम्झन्छन् ‘बाफ रे बाफ ! त्यो बेला हल खचाखच भरिन्थ्यो । टिकट नपाएर फर्किने उत्तिकै हुन्थे । प्यारोडीको स्वर्णयुग थियो त्यो ।’

२०४१ सालमा शम्भुजीत बास्कोटाले प्रतिष्ठानमा जागिर थालेका थिए । उनी बाल्यकालदेखि नै गाउँथे, नाटकहरुमा अभिनय गर्थे । त्यसबेला प्रतिष्ठानमा अधिकृत रहेका स्वर्गीय केशवमान प्रधानले गाईजात्रे प्रहसनमा प्यारोडी गाउन भनेपछि बास्कोटाले तयारी गरे ।

त्यसबेला प्रस्तुति अगाडि सेन्सर गरिन्थ्यो, तर उनले प्यारोडी पहिल्यै कण्ठस्थ पारिसकेका थिए । ‘सेन्सरमा काटिएका कुराहरु पनि राजपरिवारको अगाडि प्रस्तुत गरें,’ बास्कोटा सम्झन्छन्, ‘त्यसपछि मेरो जागिर धरापमा पर्‍यो, तर अन्ततः जोगियो ।’

त्यसपछिका वर्षहरुमा पनि उनले प्यारोडी नै गाए । त्यो निरन्तरताको मुख्य कारण श्रोता-दर्शकले अत्यधिक रुचाउनु नै थियो । गाईजात्राको बेला ‘शम्भुजीतको प्यारोडी’ भनेरै प्रचारप्रसार गरिन्थ्योे । प्रज्ञा प्रतिष्ठानको गाईजात्रा महोत्सवमा निरन्तर ६ वर्ष प्यारोडी प्रस्तुत गरेका उनी ‘प्यारोडी किङ’ नै कहलाए ।

खोसुवामा परेका प्रधानमन्त्रीमाथि गरिएको ‘बालुवाटारको बाटोमा सौता हिंडेजस्तो लाग्छ है…’ जस्ता बास्कोटाको राजनीतिक व्यंग्य औधि रुचाइए । उनका ‘पहिलेकोले के नै लछार्‍यो, अहिलेकोले झन् जनतालाई भुँईमा पछार्‍यो’, ‘हरिबोल हरिबोल हरिबोल, काम तेरो केही छैन भोड्काको बोत्तल खोल’, ‘सनराइजमा मुनराइजमा’, भन्सारबाट कार्पेट जान्छ, सुन जान्छ कुन साइजमा’ जस्ता प्यारोडी उत्तिकै रुचाइयो ।

उनले ‘कालाकाला कालाकाला कालाकाला कालाकाला बजारभरि छन् काला…’ भन्दै मधेशी समुदायलाई खुब होच्याए पनि । तर, त्यो समय नै अर्कै थियो ।

नेपाली हास्यव्यंग्य प्रदर्शनको क्षेत्रमा ‘जोडी सगरमाथा’ बनेका मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह)ले भने प्यारोडी कमै गरे । कुमार बस्नेत, गणेश रसिक लगायत सीमित गायकको गीतमा आफूहरुले प्यारोडी गरेको आचार्य सम्झन्छन् । उनी भन्छन्, ‘हामीबाट दर्शकले प्रहसन नै अपेक्षा गर्नुहुन्थ्यो ।’

५० को दशकपछि साम्दे शेर्पा, रतन सुवेदी, रामशरण नेपाली, शम्भु दाहाल, नारद खतिवडा लगायत थुप्रै कलाकारले नेपाली प्यारोडीमा ख्याति कमाए ।

प्यारोडीको स्वर्णयुग

त्यो बेला प्यारोडी क्यासेटमा निकै लगानी गरेको कम्पनी म्युजिक नेपालका सञ्चालक सन्तोष शर्मा २०४० देखि झण्डै ६० को दशकसम्म प्यारोडीको बजार गुल्जार रहेको बताउँछन् । ‘धेरै कलाकार प्यारोडी लिएर आउनुहुन्थ्यो, क्यासेटको व्यापार पनि राम्रो भयो,’ उनी भन्छन् ।

‘बाफ रे !’, बास्कोटा त्यो समयको प्यारोडी माहोल सम्झन्छन् ‘हल खचाखच भरिन्थ्यो । टिकट नपाएर फर्किने उत्तिकै हुन्थे । प्यारोडीको स्वर्णयुग थियो त्यो ।’

 

त्यो कालखण्डमा प्यारोडीका क्यासेट हजारौंको संख्यामा बिक्री हुन्थे । त्यसबाट कलाकारहरुलाई राम्रो आम्दानी हुन्थ्यो । ‘गाईजात्राका बेला स्टेज शोबाट पैसा हुन्थ्यो,’ बासकोटा भन्छन्, ‘त्यसपछि दशैं आउँदै गर्दा क्यासेट बिक्रीको टन्न पैसा हाम्रो हातमा आइपुग्थ्यो ।’

‘सनराइजमा-मुनराइजमा’, ‘दश अवतार’, ‘पञ्चकुवा’ लगायत आफ्ना प्यारोडी गीतका क्यासेट अत्यधिक बिकेको उनी बताउँछन् ।

हास्यव्यंग्यमा हास्यरस मात्र नभई चेतना, चेतावनी र क्रान्तिको फिलिङ्गो पनि हुन्छ । आफूले बनाएका र गाएका कति प्यारोडीले त्यसबेलाका उच्च पदस्थहरुलाई रातोपिरो बनाएको बास्कोटा बताउँछन् । ‘उहाँहरु सुधार पनि गर्नुहुन्थ्यो, नसुध्रिए अर्को वर्ष फेरि ठोक्छन् भन्ने डर हुन्थ्यो,’ उनी भन्छन् ।

अहिले त प्यारोडी गर्नुको औचित्य नै सकिएको बास्कोटा बताउँछन् । ‘पहिले वर्षमा सातदिन कलाकारहरुको प्यारोडी हुन्थ्यो,’ उनी भन्छन्, ‘अहिले नेताहरु हरेक दिन प्यारोडी सुनाइरहेका हुन्छन् । अरुको कामै छैन ।’

हास्यव्यंग्यको प्यारोडी विधालाई कलाकारहरुले पूरै माया मारेका छैनन् । कमल गाउँले, शिवशंकर रिजाल (जोगिन्दर पानवाला) लगायत कलाकारले प्यारोडी समावेश गरेर गाईजात्रे प्रहसन एल्बम निकालिरहेका छन् ।

गयो जमाना

हरिवंश आचार्य प्रविधिको विकासका कारणले अहिले प्यारोडीमा ‘क्रेज’ हराएको बताउँछन् । उनका अनुसार त्योबेला कपिराइट्सको कुरा थिएन, प्यारोडी बनाउँदा मूल गायक र रचनाकार सम्मानित भएजस्तो पनि हुन्थ्यो ।

‘उहाँहरु नै आफ्नो गीतमा प्यारोडी बनाउन भन्नुहुन्थ्यो,’ आचार्य सम्झन्छन्, ‘अहिले कपिराइटस्को कुरा हुन्छ, स्टेज शोहरु पनि कमै हुन लागे । त्यसमाथि टेलिभिजन, युट्युबको दिन आयो । प्रविधिको विकाससँगै प्यारोडीको क्रेज घट्यो ।’

त्यसो त हास्यव्यंग्यको प्यारोडी विधालाई कलाकारहरुले पूरै माया मारेका छैनन् । कमल गाउँले, शिवशंकर रिजाल (जोगिन्दर पानवाला) लगायत कलाकारले प्यारोडी समावेश गरेर गाईजात्रे प्रहसन एल्बम निकालिरहेका छन् ।

उनीहरुले यो वर्ष पनि प्यारोडीसहितको गाईजात्रे कमेडी भिडियो निकालेका छन् । दुई दशकयता लगातार यो कर्म गरिरहेका रिजाल पछिल्लो समय प्यारोडीको ‘क्रेज’ घटेको बताउँछन् ।

उनका अनुसार पहिला अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, राष्ट्रियसभा गृह, प्रज्ञा प्रतिष्ठान, राष्ट्रिय नाचघर र खुलामञ्चमा गाईजात्रा कार्यक्रम हुन्थ्यो, सबै ठाउँमा दर्शकको भीड लाग्थ्यो । अहिले यस्तो कार्यक्रम प्रज्ञा प्रतिष्ठानमा सीमित छ ।

‘पहिला मेरै प्यारोडीका क्यासेट गाडीमा, गाउँघरमा, विवाह व्रतवन्ध जताततै बजाइन्थ्यो । स्टेज शोमा टिकट काट्नेहरुको लामो लाइन हुन्थ्यो,’ रिजाल भन्छन्, ‘नयाँ-नयाँ प्रविधि आएपछि प्यारोडी त्यसैको मारमा पर्दै गएको छ ।’

दुई दशकदेखि प्यारोडीसहित गाईजात्रे कमेडी प्रहसनको एल्बम निकाल्दै आएका कमल गाउँले छ्यापछ्याप्ती नयाँ प्रविधिसँगै मानिसहरु बाहिरी कुरामा झुम्मिन थालेको बताउँछन् ।

तस्वीर : चन्द्र आले/अनलाइनखबर

लेखकको बारेमा
सुशील नेपाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment