+
+
ज्यापुया पासा ब्याँचा :

किसानको साथी भ्यागुता

कृष्णप्रसाद पौडेल कृष्णप्रसाद पौडेल
२०७८ भदौ ६ गते १८:०७

आज ऋषिको पूजा गर्ने दिन । खास गरी नेवार समुदायमा नेपालमण्डलमा छुट्टै रौनक हुन्छ । नेवार समुदायमा यो तिथिमा वर्षेनि भ्यागुतालाई वर्षा गराउने दूत तथा प्राकृतिक देवताका रूपमा पूजा गर्ने परम्परा छ । नेवारी भाषामा यसलार्ई ‘ब्याँचायात नकः वनेगु दिं’ भन्ने गरिन्छ । यो नेवारी परम्परामा प्रकृतिमैत्री खेतीपातीका सारथिलाई सम्मान गर्ने दिन हो भन्दा फरक पर्दैन ।

यसलाई प्राकृतिक देवताका रूपमा खेत–खेतमा गई पूजा गरेर यी किसानले खानाका लागि खेतीपातीको संस्कृति जोगाउँदै आएका छन् । यसै सन्दर्भमा भोलि क्वाँटी र चालमको भात सिमीको पातमा राखेर खुवाउने गरिन्छ । यो दिन अरू सांस्कृतिक गतिविधिसँगै तागाधारीले जनै र डोरो मन्त्रेर पूजा गरेको पानी धानखेतमा छर्किरहँदा, नेवार समुदाय भने ज्यापुया पासा ब्याँचालाई खाना खुवाउने चटारोमा हुन्छन् । सँगै सबैका घरघरमा नौथरी गेडागुडी मिसाएर उमारेका क्वाँटीका परिकार पाक्छन् । पोषिलो खाना खाने चेतना बढेसँगै यस्तो क्वाँटी खाने चलन भने सबैतिर बढेको छ । किनकि यस्ता गेडागुडीमा हामीलार्ई चाहिने सबै प्रकारका खाद्य तत्व पाइन्छन् ।

खाना र प्रतिरोध क्षमता

नसर्ने दीर्घरोग र कोरोना जस्तो महामारी फैलिएसँगै खानामै औषधिको चर्चा बढेको छ । यसले पनि गेडागुडी जस्तो पोषिलो खानाबारे धेरैको चासो छ । यसबारेमा केही दिन अगाडि सत्यमोहन जोशीसँग भएको छलफलमा खानामै प्रतिरोधात्मक क्षमता हुने हुँदा, क्वाँटी जस्तो परम्परागत नेवारी खाना मौसम अनुसारको पात्रोमा आधारित भएकोले यसको शारीरिक तथा मानसिक प्रभाव नै बेग्लै हुन्छ भन्दै यसको थप अनुसन्धान हुनुपर्ने कुरा बताउनुभएको थियो ।

खानेकुरा र प्रतिरोध क्षमताको अन्तरसम्बन्धको कुरा कुनै आधुनिक औषधि उपचार नभएको कोरोना जस्तो महामारीको दीर्घकालीन सम्बोधनका लागि समेत महत्वपूर्ण छ । अहिलेसम्म किसान र श्रमिक वर्गमा तुलनात्मक रूपमा यो रोग कम फैलिनुबाट पनि यसको थप खोजी गर्नुपर्ने कुरा अर्थपूर्ण छ ।

तर यस्तो पोषिलो खाना भने नेपालबाट आधुनिक कृषि बनाउने भन्दै कृत्रिम रसायन र विष हाल्न थालेदेखि निरन्तर घटिरहेको छ । सबैलाई हेक्का रहोस् यो क्वाँटी खाने गेडागुडी अहिले विदेशबाट आउँछ । यस वर्ष मात्र, अर्बको गेडागुडी भित्रिएको छ । धान र चामलको समेत त्यस्तै हालत छ ।

कृषिप्रधान देशको प्रमुख बाली धान र यसबाट आउने चामल बाहिरैबाट आयात हुन्छ । यस वर्ष मात्र ५० अर्ब बराबरको धान चामल आयात भएको छ । मीठो मसिनो चामलको भात र यिनै गेडागुडी खाएर ङिच्च दाँत देखाउँदै कृषि विकासका गुड्डी हाँक्न भने यसका सरोकारवालाले छोडेका छैनन् । यसरी खेतीपातीको सारथि भ्यागुतालाई खुवाउने क्वाँटी चामलको भात र सिमीको पात समेत बाहिरबाट आएको छ ।

भ्यागुताः खेतीपातीका सारथि

भ्यागुता उभयचर अर्थात् जमीन र पानी दुवैमा बाँच्न सक्ने प्राणीमध्ये एक हो । यो धेरै सुक्खा मरुभूमि र हिउँले ढाकेका क्षेत्र बाहेक संसारका सबै ठाउँमा पाइन्छ । विश्वव्यापी उभयचर आकलन २००६ अनुसार संसारभर ५ हजारभन्दा बढी भ्यागुताका प्रजाति रहेका छन् ।

आफ्नो जीवनको एक हिस्सा पानीमा र अर्को हिस्सा जमीनमा बिताउँछन् । जल र जमीनको वातावरण र जैविक अन्तरसम्बन्धहरू खासगरी, जैविक खाद्य शृङ्खला र वातावरणीय प्रदूषणको मर्मलार्ई सन्तुलन राख्न यिनको आनीबानी र व्यवहार अध्ययन महत्वपूर्ण छ ।

भ्यागुता खेतीकिसानीका लाभदायी प्राणी हुन् । भ्यागुताले हजारौं फुल पार्छन् भने यिनबाट सयौं चेपागाडा बन्छन् । यिनका फुल तथा चेपागाडा खेतबारीमा भएका अन्य साना जीवका खाना हुन्छन् । सामान्यतया यिनका लार्भा अर्थात् चेपागाडा शाकाहारी हुन्छन् ।

यिनले खेतबारीको लेउ र अन्य कलिला झारपात खाने गर्छन् भने वयस्क भ्यागुताले किसानले लगाएको बालीनाली बिर्गाने कीरा खाएर बालीनाली बचाउने गर्छ । भ्यागुता लगायत खेतबारीमै जीवनचक्र भएका हजारौं साना जीव, कीरा फट्याङ्गा र सूक्ष्म जीवले खेतबारी मलिलो बनाउँछन् । सँगै भ्यागुतालाई मौसम र पर्यावरणीय स्वास्थ्यको सूचक प्रजातिको रूपमा समेत लिइन्छ । शायद यिनै फाइदा भएकाले नै भ्यागुताको पूजा गर्ने र खान दिने चलन चलेको हो ।

भ्यागुता लोप हुनु भनेको हाम्रो संकटको पहिलो घण्टी हो । जुन दिन भ्यागुता मासिने छन् हामीसँग भुलचुक सच्याउने समय समेत बाँकी रहने छैन । त्यसैले समय छँदै यसलाई फर्केर हेर्न र सच्याउन तयार हुनुपर्छ । यो कुराको मनन् गरेर भ्यागुता जोगाउने संस्कृति, समुदाय र स्रोत व्यवस्थापनका प्रणालीहरूको पुनरावलोकन अपरिहार्य छ ।

विडम्बना, यी भ्यागुता भने हराउँदै जाने क्रम जारी छ । एक अनुमान अनुसार संसारभरि नै सबै उभयचर प्रजातिहरूको संख्या ४० प्रतिशत भन्दा बढीले घटेका छन् । एक अध्ययन अनुसार सन् १९७० देखि मात्र २०० भन्दा बढी भ्यागुताको प्रजाति लोप भइसकेका छन् ।

प्राकृतिक वासस्थानमा मानवीय हस्तक्षेपका कारणले नै यस्तो भएको हो । हाम्रा खेतीकिसानीका सारथि भ्यागुता प्रजातिहरू अहिले सबैतिर संकटमा छन् । हिजोआज वर्षामा भ्यागुता कराएको समेत सुन्न छोडिएको छ ।

किन हराउँदैछन् भ्यागुता ?

खेतीबालीमा प्रयोग गरिने कृत्रिम रसायन, विषादि र अहिले अपनाउँदै आएको खेती प्रणाली भ्यागुताको जीवनचक्रका लागि घातक देखिएको छ । खेतबारीमा यिनको व्यापक प्रयोगले जल र जमीन दुवै क्षेत्र निरन्तर प्रदूषित हुँदै गएका छन् । जल तथा जमीनको प्रदूषणले यिनलार्ई अरू जीवको तुलनामा छिट्टै प्रभाव पार्छ ।

उभयचर भएका कारण यो प्रजातिले यी क्षेत्रमा भएका नकारात्मक प्रभावको सबैभन्दा पहिले सामना गर्नै पर्छ । उदाहरणको लागि, भ्यागुताले छालाबाट सास फेर्छ र यस अर्थमा यो शरीरको भित्रीभागसम्म पारगम्य हुन्छ । कुनै पनि प्रकारको बाहिरी ‘विष’ को सम्पर्क हुनासाथै यिनीहरूलार्ई धेरै ठूलो असर परिहाल्छ ।

त्यस्तै, यिनको अण्डाको बाहिरी भाग अन्य प्रजातिको जस्तो बलियो हुँदैन । सँगै यिनको फुल पार्ने र बच्चा हुर्कने प्रक्रिया पानीमा हुन्छ । दूषित पदार्थ, विकिरण, रोग, जलवायु परिवर्तन र बाढी, पहिरो, अन्य पर्यावरणीय अवस्थामा आएको फेरबदलले भ्यागुताको वासस्थान समेत संकटमा छ । यिनै अहिले भ्यागुता प्रजाति लोप हुने महत्वपूर्ण कारक हुन् । यी भ्यागुता विनाशको सूचक पनि हुन् ।

यसरी कृत्रिम रसायन र विषादीको प्रयोगले यो वातावरणीय सूचक मित्र प्राणी हराउँदै गएको छ । यस्ता सूचक प्रजाति लोप हुँदै जानु आसन्न संकटको घण्टी हो । यिनको राम्ररी खोज नहुँदै कतिपय प्रजाति भने लोप हुने सम्भावना छ । अहिले भइरहेको प्राकृतिक विनाशले भ्यागुता मात्र मासिंदैनन् । हाम्रो खाद्य चक्रका महत्वपूर्ण प्रजाति मासिएसँगै मानिस जाति समेत लोप हुने कुरामा दुईमत हुनुपर्ने कुनै कारण छैन ।

खेतीपातीमा यसको प्रभाव के होला ?

यस्तै, प्राकृतिक तरिकाले कीराफट्याङ्ग्रा नियन्त्रण गर्ने भ्यागुता लगायत अन्य मित्र जीवको अवसानले खेतीपातीमा रोगकीराको प्रकोप बढ्दै जान्छ । यसको नियन्त्रण गर्न प्रयोग गरिने रसायन र विषादीले कृषि कर्म झन् झन् रासायनिक उपक्रमतिर धकेलिन्छ । यस्ता रसायन र विषादीले शत्रु कीरा मात्र मार्दैनन् । यिनै विषका कारणले नै हाम्रो खेतबारीका मित्र जीव हराएका हुन् । खै कहाँ गए गड्यौला, माकुरा, छेपारा, गाइने कीरा, भ्यागुता र माछा ?

भ्यागुता लोप हुँदै जाँदा यिनीहरू मार्फत जीवन गुजारा गर्ने प्राणी (बकुल्ला, सर्प आदि) को आहारा पनि हराउँछ । यो क्रम त्यतिमा मात्र रोकिंदैन र भ्यागुताको अन्त्यसँगै माछा, चरा र मानिस लगायतका अन्य साना तथा ठूला जीवहरूको अवसान हुनेछ किनकि यो प्राणी जगतको खाद्यचक्रको महत्वपूर्ण प्रजाति हो ।

यसरी हेर्दा भ्यागुता लोप हुनु भनेको हाम्रो संकटको पहिलो घण्टी हो । जुन दिन भ्यागुता मासिने छन् हामीसँग भुलचुक सच्याउने समय समेत बाँकी रहने छैन । त्यसैले समय छँदै यसलाई फर्केर हेर्न र सच्याउन तयार हुनुपर्छ । यो कुराको मनन् गरेर भ्यागुता जोगाउने संस्कृति, समुदाय र स्रोत व्यवस्थापनका प्रणालीहरूको पुनरावलोकन अपरिहार्य छ ।

अन्य वर्षायामका चाडपर्व र उत्सवसँगै सर्प (नाग)को पूजा गर्ने पञ्चमी र भ्यागुताको पूजा गर्ने यसैका लागि गरिएका पूर्वजका प्रयत्नहरू हुन् । तर दुर्भाग्य, अहिले यी सबै ओझेलमा परेका छन् । त्यति मात्र हैन स्थानीय समुदायले खेतीपाती जोगाउन गरेका प्रयत्नहरूमा डोजर चलाउन र खाना तथा खेतीपाती प्रणालीलाई क्षतविक्षत बनाउन बिचौलिया र दलाल नाइटोदेखिको बल लगाउँदैछन् । यसको प्रतिवादमा नेपालमण्डल र अन्य स्थानीय रैथानेले निरन्तर खबरदारी गर्दै आएका छन् । यो कुराको भुक्तभोगी किसान सत्ताको केन्द्र सिंहदरबारनेर धर्ना र जुलूसमा छन् ।

सर्प र भ्यागुताको महत्व प्रकृति तथा मानवको अस्तित्वसँग जोडिएको छ । यिनको पूजा गर्ने इतिहास र संस्कृतिले पनि यसै कुरातर्फ इंगित गरेको छ । भ्यागुता पूजा बारे यकिन साथ भन्न नसकिए पनि ६ हजार वर्ष भन्दा बढी पुरानो मानिएको ऋग्वेदमा मन्डुकाको चर्चा र नेपालमण्डलको खेतीपातीको संस्कृतिमा यसको पूजा कुनै संयोग मात्र हैन ।

यस अर्थमा, आधुनिक विज्ञानले गरेको प्रकृति विनाशको मानवीय कारण र यसलाई सच्याउनुपर्ने खबरदारी हेक्का राख्दै प्राचीन संस्कृति, मूल्यमान्यता, विवेकले निरन्तर रखबारी गरेको प्रकृतिका सारथि भ्यागुता प्रजातिलार्ई बचाउने काठमाडौंका किसानको परम्परालार्ई सचेततापूर्वक आत्मसात् गर्नुको विकल्प छैन । यसरी परम्परादेखि जोगाइएका भ्यागुता र अन्य जीवको पुनर्जीवनले मात्र समग्र प्रकृति पुनर्जीवित हुन्छ । यसले मात्र हामीलाई भावी पुस्तालाई दिगो प्रकृति, खेतीपाती, खानाको बन्दोबस्त गर्ने पूर्वजको अमूल्य नासो बुझाउन सक्षम बनाउने समेत छ ।

अन्त्यमा, किसानीमा आधारित मनसुनी खेती प्रणाली र मौसमी खाद्य संस्कृति नेपाली जीवन पद्धतिका मुख्य मानक हुन् । किसानी संस्कृतिमा आधारित सामाजिक सभ्यताले यसको निरन्तर जगेर्ना गर्दै आएका छन् । आधुनिक मानव सभ्यता नै खेतीकिसानीको परम्पराबाट विकशित भएकोले सबै समुदायका वर्षभरि मनाइने चाडपर्व कुनै कुनै हिसाबले खाना र खेतीपातीसँग जोडिएका छन् ।

समाजमा आउने सामाजिक, आर्थिक फेरबदलले यो निरन्तर परिमार्जन हुँदै जाँदा कतिपय यस्ता चाडपर्व असान्दर्भिक समेत भएका छन् । यिनको खोज र असल अभ्यासको जगेर्नाले बिराएको बाटो सच्याउन र उपयोगी ज्ञान निर्माण गर्न सघाउँछ ।

यसरी खेतीपातीको सारथि खुवाउने क्वाँटी चामलको भात र सिमीको पात जोगाउने परम्पराबाट सिक्न सके खेतीपाती उन्नत बनाउने कुरा सहजै गर्न सकिन्छ । यो कुरा खेतीपाती र खाना विषाक्त हुँदै गएको सन्दर्भमा झनै सान्दर्भिक भएको छ । यो संस्कृति फर्केर हेर्न मात्र सके खेतीपाती सच्याउनेतर्फ सद्बुद्धि पलाउँथ्यो कि ?

लेखकको बारेमा
कृष्णप्रसाद पौडेल

कृषिविज्ञ पौडेल खानाका लागि खेतीपातीका अभियन्ता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?