+
+

फास्ट बलर गुल्शन झा : गति र बाउन्सको समिश्रण

यति चाँडै राष्ट्रिय टिममा पर्छु भनेर सोचेको थिइनँ

गोविन्दराज नेपाल गोविन्दराज नेपाल
२०७८ भदौ ६ गते २०:१८

६ भदौ, काठमाडौं । सर्लाहीका गुल्शन झाको उमेर भर्खर १७ वर्ष भयो । ६ फिटभन्दा अग्ला उनी नेपाली क्रिकेटसँग जोडिएको मुस्किलले ६ महिना भयो ।

गत फागुनमा भएको प्रथम काठमाडौं मेयर्स कप एकदिवसीय क्रिकेटबाट उनको नेपाली क्रिकेटमा इन्ट्री भयो । नेपाल पुलिस क्लबको अन्तिम दुई खेलमा पाएको मौकामा ‘हीरा फोरेका’ उनी राष्ट्रिय टिममा स्थान बनाउन सफल भएका छन् ।

नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी विश्व क्रिकेट लिग-टू अन्तर्गत नेपाल, ओमान र अमेरिकाबीच हुने त्रिकोणात्मक सिरिजका लागि घोषणा गरेको १७ सदस्यीय नेपाली टोलीमा उनी पनि छन् । सम्भवतः अबको एक महिनापछि नेपालका लागि ओडीआई क्रिकेट खेल्नेहरुको सूचीमा गुल्शन पनि हुनेछन् ।

नेपाल, ओमान र अमेरिकाबीचको त्रिकोणात्मक सिरिज आगामी सेप्टेम्बर १३ देखि २० मा ओमानमा हुनेछ । त्यसअघि ओमानमै सेप्टेम्बर ५ र ८ मा नेपालले पपुवा न्यूगिनी (पीएनजी) सँग दुई ओडीआई म्याच खेल्नेछ । यो अभ्यास खेल पनि भएकाले प्रशिक्षक डेभ वाट्मोरले गुल्शनलाई अवसर दिन सक्छन् ।

राँचीदेखि राष्ट्रिय टिमसम्म

सर्लाहीमा हुर्किएका गुल्शन क्रिकेट सिक्नकै लागि सन् २०१६ मा भारत गएका थिए । उनले झारखण्डको राँचीस्थित अरुणोदय क्रिकेट एकेडेमीमा चार वर्ष क्रिकेट सिके । भन्छन्, ‘मेरो प्रोफेसनल क्रिकेट त्यहींबाट शुरु भएको हो ।’

कोभिड–१९ महामारीका कारण भारतमा लकडाउन भएपछि उनी नेपाल फर्किए । त्यही बेला प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटका लागि प्रदेश २ को छनोटमा भाग लिए । तर उनी अन्तिम टोलीमा पर्न सकेनन् । फागुनमा मेयर्स कप हुने भयो, नेपाल पुलिस क्लबमा आवद्ध भए । तर धेरै अवसर पाएनन् ।

काठमाडौं मेयर्स टिमविरुद्ध डेब्यु गरेका उनले किफायती बलिङ गरे पनि विकेट लिन सकेनन् । ६ ओभरमा १ मेडन राखेर २२ रन दिएका उनले ब्याटिङमा ५ रन बनाएका थिए । तर बलियो टोली सशस्त्र प्रहरी क्लब (एपीएफ) विरुद्ध फाइनल खेल्दा उनी नेपाल पुलिसको टोलीका सरप्राइज प्याकेज बन्न पुगे । ७ ओभरमा ३६ रन खर्चिएर ४ विकेट लिने क्रममा एपीएफको टप अर्डर ध्वस्त पारेका थिए ।

फाइनलमा म्यान अफ दी म्याच बनाउने त्यही प्रदर्शनले सिनियर टिमको बन्द प्रशिक्षणसम्म उनलाई ल्यायो ।

तस्वीर : गुल्शनको फेसबुकबाट

यति चाँडै टिममा पर्छु जस्तो लागेको थिएन

अहिले नेपाली टिममा पर्न निकै प्रतिस्पर्धा छ । त्यसमाथि उनी फास्ट बलर हुन् । नेपाली टोलीमा फास्ट बलरहरु सोमपाल कामी, करण केसी र अविनाश बोहरा छन् । अर्का फास्ट बलर विक्रम सोबले पनि कमब्याक गरेका छन् ।

त्यो अवस्थामा पनि उनले राष्ट्रिय टिममा स्थान बनाएका छन्, जुन गुल्शन आफैंले अपेक्षा गरेका थिएनन् । निकै कम बोल्ने गुल्शनले आइतबार राष्ट्रिय टिमको अन्तिम ट्रेनिङ सेसनमा भने, ‘तयारी गरिरहेको थिएँ, तर यतिसम्म सोचेको थिइनँ ।’

उनले अघि भने, ‘अभ्यास सकेर गएपछि क्यानबाट थाहा पाएँ, त्यो बेलाको खुशी म शब्दमा व्यक्त गर्न सक्दिनँ ।’

गति र बाउन्सको समिश्रण

राष्ट्रिय टोलीको दुई साता लामो बन्द प्रशिक्षणका क्रममा प्रशिक्षक र सिनियरहरुबाट ब्याटिङ, बलिङ र फिल्डिङ मात्र होइन, अनुशासन पनि सिक्न पाएको उनले सुनाए । अब अवसर पाउँदा राम्रो प्रदर्शन देखाउने उनको चाहना छ ।

‘बस्दा धेरै फरक अनुभव छ । दाइहरुसँग धेरै सिक्न पाएँ, कोचले पनि धेरै सपोर्ट गर्नुभयो,’ उनी भन्छन्, ‘अब टिमका लागि बेस्टभन्दा बेस्ट गर्ने प्रयास गर्नेछु ।’

उनको विशेषता गति र बाउन्स हो । तर प्लेइङ सेटमा स्थान बनाउन सहज छैन । किनकि सोमपाल कामी, करण केसी, अविनाश बोहरा र विक्रम सोब टिममै छन् । गुल्शन भने सिनियर टिममा फास्ट बलर धेरै हुँदा पनि फाइदा भएको सुनाउँछन् । ‘कस्तो बल कसरी फाल्ने ? ब्याट्सम्यानले के सोचिरा’को हुन्छ ? उनीहरुलाई कसरी रिड गर्ने भनेर सिक्न पाएँ,’ उनले भने ।

प्रशिक्षकले पनि अवसर पाएको बेला दबाब नलिई खेल्न सुझाएको गुल्शनले सुनाए ।

टिम नेपाल

ज्ञानेन्द्र मल्ल (कप्तान), दीपेन्द्र सिंह ऐरी (उपकप्तान), कुशल भुर्तेल, आसिफ शेख, गुल्शन झा, आरिफ शेख, कुशल मल्ल, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, सन्दीप लामिछाने, पवन सर्राफ, अविनाश बोहरा, रोहित पौडेल, सुशन भारी, शरद् भेषवाकर, विक्रम सोब

डेभ वाटमोर (मुख्य प्रशिक्षक)

तस्वीर : आर्यल धिमाल/अनलाइनखबर

लेखकको बारेमा
गोविन्दराज नेपाल

नेपाल अनलाइनखबर डटकमका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?