+
+

यी सामान्य गल्ती, जसले गंभीर असर गर्न सक्छ

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ७ गते १०:४६

तपाईं कसरी बस्नुहुन्छ ? कस्तो पहिरन लगाउनुहुन्छ ? खाना कसरी खानुहुन्छ ? कसरी सुत्नुहुन्छ ?

हामीलाई यावत् कुरा अत्यान्तै सामान्य लाग्छ । खानु, बस्नु, सुत्नु आदि कुरामा हामी बेपर्वाह छौं । ‘नानीदेखि लागेको बानी’ भनेर पनि धेरै कुरामा ख्याल राख्दैनौं । जबकि हामीले सामान्य वा झिनामसिना भनिएका कतिपय कुरा वा आनीबानीले शारीरिक स्वास्थ्यमा भने ठूलो असर पु¥याउन सक्छ ।

जस्तो हामी हतारमा खाना खान्छौं । यो हामीलाई ठूलो कुरा लाग्दैन । तर, यो बानीले क्रमिक रुपमा हाम्रो पाचन यन्त्रलाई यति कमजोर बनाउँछ कि, सामान्य खानेकुरा पनि पचाउन कठिन हुन्छ । त्यती मात्र होइन, पेट, आन्द्रा एवं मलद्वार सम्बन्धि अनेक समस्या निम्त्याउन सक्छ ।

हामीलाई पानी पिउनु सामान्य लाग्छ । अर्थात पानी पिउनका लागि कुनै तौर तरिका चाहिँदैन भन्ने लाग्छ । जबकि यसको पनि मात्रा, तौर तरिका र खास समय छ ।

बिहान उठ्नसाथ मनतातो पानी पिउनु शारीरिक स्वास्थ्यका लागि राम्रो मात्र होइन अपरिहार्य पनि छ । तर, भात खानुअघि वा पछि पानी पिउँदा पाचन प्रणालीमै समस्या आउँछ । यसैगरी राती सुत्नुअघि पानी पिउँदा निद्रा विथोलिने मात्र होइन, मिर्गौला लगायतका अंगहरुमा बोझ थपिन्छ ।

उभिएर घटघट पानी पिउनु पनि राम्रो मानिदैन । पानी पिउँदा सकेसम्म बसेर र विस्तारै पिउनुपर्छ ।

हामी दिनभर केही न केही काम गर्छौं र बस्छौं । बस्दा कसरी बस्ने ? यो कुराको हामीले ख्याल गर्दैर्नौं । जबकि झुकेर वा नुहिएर बस्दा स्वास्थ्यमा निकै असर पुग्छ । यसले श्वासप्रश्वास प्रक्रियादेखि मेरुदण्डसम्मलाई असर गर्छ । त्यसैले यस्ता सामान्य एवं आधारभूत कुराको पनि जानकारी हुनुपर्छ ।

कसिलो बेल्ट बाँध्नु

दिनभर बेल्ट कसिलो गरी बाँध्दा पेट कसिन्छ । यस्तोमा खाएको कुरा राम्ररी पच्न पाउँदैन । यसबाट एसिडिटी वा कब्जियतको समस्या उत्पन्न हुन सक्छ ।

झुकेर बस्नु

घन्टौंसम्म तल निहुरिएर काम गर्ने बानीले शरीरलाई हानी गर्छ । यसबाट मांशपेशीमा दवाव पर्ने हुनाले गर्दन, कम्मर र काँधमा दुखाई हुन सक्छ ।

लामो समय गाडी चलाउनु

विश्राम नलिइकन लामो समयसम्म गाडी चलाएँदा खुट्टामा ब्लड क्लटिङ हुन थाल्छ । यसबाट खुट्टा सुन्निन्छ । त्यसैले लामो यात्रामा जाँदा हरेक दुई घन्टामा ड्राइभरले ब्रेक लिनुपर्छ ।

काँधमा झोला झुन्ड्याउनु

गह्रुंगो झोला काँधमा झुण्ड्याएर हिँड्दा त्यहाँ रक्तसञ्चार राम्रोसँग हुन पाउँदैन । यसबाट काँधको दुखाई वा ऐठनको समस्या हुन सक्छ ।

ओछ्यानबाट जुरुक्कै उठ्नु

बिहान ओछ्यानमा सुतिरहेको बेला हाम्रो शरीर ‘रिल्याक्स्ड’ अवस्थामा हुन्छ । एकाएक ओछ्यानबाट जुरुक्कै उठ्यो भने रक्तसञ्चार बढ्छ भने मांशपेसीमा दवाव बढ्न सक्छ । त्यसैले ओछ्यानबाट उठ्नुभन्दा अगाडि शरीरलाई राम्ररी तन्काउनुपर्छ ।

मसालायुक्त खाना

दिनभर केही न केही मसलादार खानेकुरा खाइरहँदा पेटभित्र एसिडको मात्रा बढ्छ । यस्तोमा एसिडिटीको समस्या हुन सक्छ ।

उपरखुट्टी लगाएर बस्नु

लामो समयसम्म उपरखुट्टी लगाएर बस्नाले खुट्टामा सही तरिकाले रक्तसञ्चार हुन सक्दैन । यस्तोमा रगत खुट्टातर्फ नगएर मुटुमा फिर्ता आउन सक्छ र यसले मुटुलाई हानी पु¥याउँछ ।

पेट थिचेर सुत्नु

पेट थिचेर सुत्दा शरीर आफ्नो स्वभाविक आकारमा रहँदैन । साथै शरीरमा रक्तसञ्चार सरलरुपमा हुन सक्दैन । यस्तोमा टाउको दुख्ने, ढाड दुख्ने, जोर्नी दुख्ने वा मांशपेसी दुख्ने जस्ता समस्या उत्पन्न हुन सक्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?