+
+

मुख्यमन्त्री केसीले मागे विश्वासको मत, एमालेद्वारा प्रदेशसभा बहिष्कार

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ७ गते १६:२८

७ भदौ, बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेशसभामा विश्वासको मत मागेका छन् । सोमबार अपरान्ह बसेको प्रदेशसभाको बैठकमा विश्वासको मत दिन आग्रह गरेका हुन् ।

उनले प्रदेशसभामा विश्वासको मत माग्दा प्रमुख प्रतिपक्षी नेकपा एमालेले भने बैठक बहिस्कार गरेको छ ।

‘कर्ट्सीकै लागि भए पनि शुभकामना प्राप्त होला भन्ने ठानेको थिएँ’ उनले भने, ‘यति पाको राजनीतिक पार्टी राम्रै संस्कार होला भन्ने थियो । सत्ता बहिर्गमनको आक्रोश भए पनि आन्दोलनको सहयात्री हुनुको नाताले कर्टसीकै रुपमा भए पनि अगाडि बढाउनुपर्थ्यो ।’

‘मलाई विश्वासको मत नदिनुपर्ने कारण नै छैन’ मुख्यमन्त्री केसीले भने । विपक्षी एमालेलाई आवेग, इर्श्या र बदलावको भाव नराख्न मुख्यमन्त्री केसीले आग्रह गरे ।

आफू मुख्यमन्त्री बनेपछि एमालेले शुभकामना पनि नदिएको केसीले गुनासो गरे । संविधानले निर्दिष्ट गरे अनुसार विपक्षी दलसंग पनि संवाद, सहमति र सहकार्य गरेर अघि बढ्न सरकार प्रतिवद्ध रहेको मुख्यमन्त्री केसीले बताए ।

लोकतन्त्र र संविधानको रक्षा तथा संघीयता कार्यान्वयन सरकारको प्राथमिकता हुने मुख्यमन्त्री केसीले बताए । कोभिड-१९ लाई नियन्त्रण र रोकथाम नव गठित सरकारको पहिलो प्राथमिकता हुने मुख्यमन्त्री केसीले बताएका छन् ।

उनले कोभिड नियन्त्रण, रोकथाम तथा नागरिकलाई खोप आफ्नो पहिलो प्राथमिकतामा भएको बताए । उनले मन्त्रिपरिषदले पूर्णता पाउन साथ राजधानी व्यवस्थापन, रोजगारी बढाउने काम अगाडि बढाउने बताए ।

उनले प्रतिपक्ष दल एमालेले बैठक बहिष्कार गरेको प्रति टिप्पणी गर्दै मूल पार्टी भन्ने एमालेले बैठक बहिष्कार गरेर राजनितीक संस्कार नदेखाएको बताए । उनले आफूले लोकतान्त्रिक संस्कार स्थापना गर्न सहकार्यको बातावरण बनाउन सहयोगात्मक र रचनात्मक भुमिका विपक्षी सामु राख्ने समेत बताए ।

उनले आवधिक योजना व्यववहारमा देखिने गरी कार्यान्वयन गर्नुका साथै समृद्ध प्रदेश, खुसी जनताको नारालाई जनताले साच्चै अनुभूति गर्ने गरी काम गर्ने बताए ।

त्यसबाहेक उनले संघियताको प्रभावकारिता कार्यान्वयनसंगै अघिल्लो प्रदेश सरकारले अघि सारेका रणनीतिक प्रभावका योजनालाई निरन्तरता दिने समेत बताए ।

एमाले भन्छ : हामीसँग सल्लाह भएन 

तर नेकपा एमालेले भने सांसद अजय शाही र विमलाकुमारी खत्री वलीलाई कारबाही नगरेसम्म प्रदेशसभाको बैठकमा सहभागी नहुने बताएको छ । त्यसै अनुसार मुख्यमन्त्रीले विश्वासको मत लिन बोलाएको बैठकमा एमालेका कोही पनि सांसद सहभागी भएनन् ।

एमालेले मुख्यमन्त्रीले विश्वासको मत लिनेबारे आफूहरुलाई जानकारी नभएको बताएको छ । एमाले संसदीय दलका उपनेता वैजनाथ चौधरीले अनलाइनखबरसँग भने ‘हामीले हाम्रो कुरा प्रदेशसभाको बैठकमा नै राखेका छौं, उहाँहरुले त्यसपछि सल्लाह गर्नुभएको छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?