+
+

कोरोना कहरकै बीच डोटीमा पनि मनाइयो गाईजात्रा

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ७ गते १९:२६

७ भदौ, डोटी । गत वर्ष कोरोना संक्रमणका कारण औपचारिकतामा मात्रै मनाइएको गाईजात्रा यस वर्ष भने डोटीमा धुमधामसँग मनाइएको छ ।

जिल्ला सदरमुकाम सिलगढीमा विगतका वर्ष झैं यस वर्ष गाईजात्रा मनाइएको हो । गत वर्षको गाईजात्रादेखि यस गाईजात्राको अवधिमा मृत्यु भएका नेवार समुदायका व्यक्तिहरुको सम्झनामा सोमबार एक रड र दुई टारीटाई (निगालोको फ्रेममा कपडाको पुलता) निकाली बजार घुमाइएको छ ।

डोटीमा गाईजात्रालाई तीन प्रकारले मनाउने गरेको पाइन्छ । सम्पन्न परिवारले काठको रथ तयार गरी रथमाथि विभिन्न प्रकारले सजाइएको गाईको मूर्ति राखेर जात्रासँगै बजार घुमाउने गर्छन् । सामान्य परिवारले भने टारीटाई बनाउने चलन छ भने विपन्न परिवारले घरमै भजनकीर्तन गरेर सम्झने गर्दछन् ।

गाईजात्रामा नेवार समुदायमा पितृगणको सम्झनामा गाईको रूप धारण गरी टोलटोल घुम्ने गर्दछन् । यस दिन भजन कीर्तन पनि गरिन्छ । भाद्र कृष्ण प्रतिपदा अर्थात् जनैपूर्णिमाको भोलिपल्ट मनाईने यो पर्व वर्ष दिनभित्र मरेका मान्छेको दिवंगत आफन्तको सम्झनामा मनाइने गरिन्छ ।

अन्यत्रको तुलनामा डोटीमा गाईजात्रा मनाउने परम्परा अलि फराकिलो बन्दै गएको छ । नेवार समुदायको पितृ कार्य भए पनि उक्त कार्यमा अन्य समुदायको पनि सक्रिय सहभागिता रहने गरेको छ । रथ, टारीटाई सिंगार्न, किर्तन गर्न, प्रसाद बाँड्न जात्रामा ढोलक बजाउने जस्ता कार्यमा गैरनेवार समुदायले सहभागिता जनाउने गर्दछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?