+
+

एमालेको स्थायी कमिटी बैठक बस्दै

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ८ गते ७:२९
फाइल तस्वीर

८ भदौ, काठमाडौं । नेकपा एमालेको स्थायी कमिटीको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा बस्ने एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

बैठकमा एकता पक्षधर नेताहरुले १० बुँदे सहमति अक्षरशः कार्यान्वयन गर्न गरेको माग लगायतका विषयमा छलफल हुने एक नेताले बताए ।

माधव नेपाल नेतृत्वको नयाँ पार्टीमा नगएका युवराज ज्ञवाली, भिम आचार्य, भीम रावल, गोकर्ण विष्ट, योगेश भट्टराई, घनश्याम भूसाल, सुरेन्द्र पाण्डे, अष्टलक्ष्मी शाक्य लगायतका नेताहरुले १० बुँदे सहमति अक्षरशः कार्यान्वयन गर्न सोमबारसम्म अल्टिमेटम दिएका थिए । एमाले अध्यक्ष ओलीले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको साथ छोडेका नौ जना स्थायी कमिटी सदस्यहरूसँग सहमति कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छन् ।

स्थायी कमिटी बैठकले १० बुँदे सहमतिअनुसार एमालेलाई २०७५ जेठ २ गते अगाडिको अवस्थामा फर्काउने कार्यतालिका बनाउने नेताहरुको भनाइ छ ।

ओली र नेपाल पक्षका ५-५ जना नेताहरु सम्मिलित कार्यदलले पार्टीको आन्तरिक एकताका लागि २७ असारमा १० बुँदे सहमति तयार पारेको थियो । तर उक्त सहमति कार्यान्वयन नहुँदै नेता नेपालले आफ्नो अध्यक्षतामा नेकपा एकीकृत समाजवादी नामको नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?