+
+

दशबुँदे कार्यान्वयन गर्ने ओलीको प्रतिबद्धता, तर अझै आशंका

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ७ गते २२:३७

७ भदौ, काठमाडौं । नेकपा एकीकृत समाजवादी दल दर्ता गराएका पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको साथ छोडेका नौ जना स्थायी कमिटी सदस्यहरूसँग नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दशबुँदे सहमति कार्यान्वयनको प्रतिबद्धता जनाएका छन् ।

आफ्नै निवास बालकोटमा सोमबार चार घण्टाभन्दा लामो सम्वाद गरेका ओलीले दशबुँदे सहमति कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका हुन् । तर कसरी कार्यान्वयन गर्ने भन्नेबारे भने मंगलबारको स्थायी कमिटी बैठकबाट तय हुनेछ । ‘दशबुँदे सहमति कार्यान्वयनको कस्तो प्रस्ताव आउँछ, त्यसमा भर पर्छ’, एक स्थायी कमिटी सदस्य भन्छन् ।

२ भदौमा एमालेबाट अलग भएर माधव नेपालले नयाँ दल दर्ता गराउँदा तीन उपाध्यक्ष (युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य र भीम रावल), उपमहासचिव घनश्याम भूसाल, तीन सचिव (गोकर्ण बिष्ट, भीम आचार्य र योगेश भट्टराई) अनि स्थायी कमिटी सदस्यद्वय सुरेन्द्र पाण्डे र रघुजी पन्त साथ दिएका थिएनन् ।

माधव नेपालको साथ छोडेका यी नेताहरुले एमाले एकता जोगाउन २७ असारमा जुटेको दशबुँदे सहमति कार्यान्वयन गर्न अल्टिमेटमयुक्त विद्रोहको चेतावनी दिएका थिए । उनीहरुको अल्टिमेटम ९ भदौ अगाडि दशबुँदे सहमति कार्यान्वयन गरिनुपर्ने, माधव नेपाल सहित १४ सांसदलाई गरिएको कारबाही फिर्ता हुनुपर्ने र निर्वाचन आयोगबाट दल दर्ता प्रक्रिया रोक्नुपर्ने थियो । त्यसैअनुसार, अध्यक्ष ओली र माधव नेपालसँग सम्वाद चलिरहेको छ ।

‘पूर्वमाधव नेपाल तर्फका हामी नौ जना र केपी करमेडबीच जमेरै कुराकानी भएको छ । अब दशबुँदे कार्यान्वयन हुन्छ भन्ने विश्वास छ’, उपाध्यक्ष युवराज ज्ञवाली भन्छन् । सहमति कार्यान्वयनको प्रस्ताव तयार पार्ने जिम्मा भने उपाध्यक्ष रावल, महासचिव ईश्वर पोखरेल र उपमहासचिव विष्णुप्रसाद पौडेललाई दिइएको छ ।

तीन नेताले ल्याउने प्रस्ताव र त्यसको कार्यान्वयन प्रक्रियाआधारमा थप निर्णय लिने नौ नेताको तयारी छ । अध्यक्ष ओली तर्फका नेताहरुले भने दशबुँदे कार्यान्वयनसँगै माधव नेपाल छोडेका नेताहरु अब एमालेमै बस्ने आधार तयार भएको दाबी गरेका छन् । ‘सहमति भयो । भोलि (मंगलबार) बैठक बसेर एमाले अगाडि बढ्छ’, संसदीय दलका उपनेता सुवास नेम्वाङ भन्छन् ।

जबकी, अध्यक्ष ओलीसँग दशबुँदे सहमति कार्यान्वयन गरेर अगाडि बढ्ने सहमति गरेका नेताहरु भने अझै ढुक्क देखिँदैनन् । ‘उहाँले (केपी ओली) दश बुँदे कार्यान्वयन गर्न र पार्टी एकता गर्न कति दतारुकताका साथ भूमिका खेल्नु हुन्छ, त्यसमा धेरै कुरा भर पर्छ’, स्थायी कमिटी सदस्य रघुजी पन्त भन्छन् ।

दशबुँदे कार्यान्वयनको सैद्धान्तिक सहमतिले मात्रै अध्यक्ष ओलीको नेतृत्व स्वीकारेर एमालेमै बस्ने निश्चित भइनसकेको उनीहरुको भनाइ छ । अर्थात्, २ जेठ २०७५ को अवस्थामा एमाले पार्टी संरचना, विधान र नेतृत्व कायम हुनेगरी आउने दशबुँदे सहमति कार्यान्वयनको प्रस्ताव र कार्यान्वयन गर्ने निर्णयले बाँकी रहेको एमाले जोगिने वा नजोगिने तय हुने देखिन्छ । तर नयाँ दल दर्ता प्रक्रियामा गइसकेका माधव नेपाल सहितको एकता भने नहुने निश्चित भएको छ । ‘नयाँ पार्टी दर्ता गराइसक्नुभयो । अब उहाँसँग के कुरा हुन्छ र ! बैठक त एमालेको बस्छ नि’, ओली निकट नेता नेम्वाङ भन्छन् ।

माधव नेपाल छोडेका नेताहरु पनि अब माधव नेपाल-झलनाथ खनाल सहितको एकता तत्काल संभव नरहेको स्वीर्काछन् । ‘उहाँ (माधव नेपाल) त गइसक्नु भयो नि । अर्को (नयाँ दल) खोलिसक्नुभयो । तर उहाँहरुलाई ल्याउने प्रयत्न निरन्तर हुन्छ’, उपाध्यक्ष ज्ञवाली भन्छन् ।

आशंका कायमै

दशबुँदे कार्यान्वयन गरी एमालेमै रहने सहमति गरेका नौ नेता अझै पनि अध्यक्ष ओलीसँग सशंकित छन् । सहमति गर्ने, तर कार्यान्वयन नगर्ने अध्यक्ष ओलीको बिगत भएकाले ढुक्क हुन नसकिएको यी नेताहरु बताउँछन् । ‘माधव नेपालको पार्टीमा जान रोक्नका लागि मात्रै अध्यक्ष ओलीले दश बुँदे कार्यान्वयनको प्रतिबद्धता जनाएको हुनसक्ने आशंका त छदैछ । तर स्थायी कमिटी बैठक कसरी अगाडि बढ्छ भन्नेले त्यो निर्धारण हुन्छ’, अर्का स्थायी कमिटी सदस्य भन्छन् ।

माधव नेपाल छोडेका यी नेताहरु, दशबुँदे कार्यान्वयन गर्दा सम्पूर्ण रुपमा २ जेठ २०७५ अगाडिको कमिटीमार्फत् निर्णय हुनुपर्ने पक्षमा छन् । ‘यसअघि केपी कमरेडले बोलेपछि निर्णय हुने, फेरि उहाँलाई मन लागेपछि फिर्ता हुने हुन्थ्यो । त्यो रोकिएर एमाले पार्टीको निर्णय शुरु हुनुपर्छ’, ती नेता भन्छन् । विशेष गरी यी नेताहरु अझैपनि पार्टी एकताकै पक्षमा निर्णय गराउन चाहनामा छन् ।

‘नवौं महाधिवेशनबाट बनेको स्थायी कमिटी बैठकबाटै एकतालाई बल पुग्ने निर्णय गरिनुपर्छ’, उनी भन्छन् । सोमबारको बालकोट बैठकमा पनि माधव नेपाल सहित नेताहरुलाई गरिएको कारबाही फिर्ताको प्रशंग उठेको थियो । तर अध्यक्ष ओलीले घोषणा गरेर होइन, पार्टी कमिटीको बैठकले निर्णय लिइनुपर्ने प्रस्ताव पछि रोकिएको थियो ।

मंगलबार बस्ने बैठकबाटै यी नेताहरु एमाले दशबुँदे सहमति मार्फत् २ जेठ २०७५ अगाडिको संरचनामा फर्किएको अन्तरपार्टी निर्देशिका (अपानि) जारी गराउने पक्षमा छन् । जबकी अध्यक्ष ओलीले भने भदौमा विधान महाधिवेशन र मंसिरमा दशौं महाधिवेशन गर्ने कार्यतालिका सहित धेरै अगाडि बढेका छन् ।

दशबुँदे सहमतिमा गएको २३ फागुन यता गरिएको सवै निर्णय खारेज हुने उल्लेख छ । तर माधव नेपालले बनाएको अधिकांश समानान्तर पार्टी संरचना भने नयाँ पार्टीमा रुपान्तरित भएको छ । एमालेबाट अलग भएर नयाँ पार्टीमा लागेका नेताहरु भने दशबुँदे सहमति कार्यान्वयनको आश्वासन दिएर अध्यक्ष ओली माधव समूहलाई किस्ताबन्दीमा सिध्याउन लागिपरेको बताउँछन् । ‘दशबुँदेको औचित्य सकियो । बरु, उहाँहरु (नौ जना) लाई पनि छिन्नभिन्न पार्ने षडयन्त्र भइरहेको छ’, एकीकृत समाजवादीका नेता जगनाथ खतिवडा भन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?