+
+
विचार :

वामदेवलाई हुने मध्यरातको ऐंठन प्रधानमन्त्री पद हो ?

विष्णु गौतम विष्णु गौतम
२०७८ भदौ ८ गते ९:२२

२०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा अकल्पनीय रूपमा बर्दियाबाट चुनाव हारेपछि वामदेव गौतमले देश र जनताका नाममा एउटा सम्बोधन गरे । उक्त सम्बोधन मैले राजनीतिक रूपमा चुनावी मत परिणामपछि बोलेको सबैभन्दा ओझिलो वाक्यांशका रूपमा लिएको छु । उनले भनेका थिए- ‘प्राविधिक रूपमा मैले चुनाव हारें तर देशले जितेको छ, जनताले जितेका छन् ।’

मतगणनाको लगभग अन्तिम नतिजा आउन केही ब्यालेट बाँकी रहँदा प्राविधिक रूपमा जिताउने कि भन्दै उनका कोटरीका बीचमा चर्कै बहस पनि भएकै हो तर त्यतिबेला उनै वामदेवले भने- ‘जनमतको सम्मान गर्ने हो, अरू कुरा छोड्नुस् ।’ यत्ति बोलेर उनी काठमाडौं हान्निए । उनले अन्तिम नतिजा पनि कुरेनन् । उनलाई अन्तर्घात गर्नेहरू पनि उनको अभिव्यक्तिमा नतमस्तक थिए ! तर काम सकेपछि दैलो देख्नुको कुनै अर्थ भएन ।

मैले अनुभव गरेका नेपाली कम्युनिष्ट आन्दोलनका नेतामध्येमा सबैभन्दा प्रष्ट वक्ताको रूपमा पनि उनै वामदेव लाग्छ । मलाई लाग्छ उनी जे बोल्छन्, त्यो गर्छन् र जे गर्न सक्छन् त्यो मात्र बोल्छन् । शायद त्यही भएर उनलाई अलि बढी नै फलो पनि गरें । अत्यधिक फलोले नदेखिने कुरा पनि देखिन्छ भने झैं उनको असली रूप पनि देखिए । कतिपय स्थानमा साउथ इन्डियन फिल्मको भिलेन झैं पनि ।

जनमतबाट बहिष्कृत मान्छे जनप्रतिनिधिको स्थानमा जाने लालसा राख्दै पार्टीबाट निर्णय गराउनुले उनको चाहना दिनको घामझैं झलमल्ल भएको छ । त्यसो त तत्कालीन नेकपाको आन्तरिक बेमेलमा कहिले यता कहिले उता चहार्नुले पनि उनको नियत प्रष्ट भएको छ । उनका कारण राजनीतिमा हुने उतारचढावले एक इमानदार कम्युनिष्ट भोटरको विश्वासमा पनि गहिरो चोट लागेको छ ।

जनताले रुचाएको मान्छे नै नेतृत्वमा छन् त ?

गत वर्ष गणतन्त्र दिवसको दिनमा काठमाडौंस्थित खुलामञ्चको प्याराफिटमा उभिएर वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्रको परिभाषा दिए । उनले तीनवटा तरिकाबाट हामीलाई गणतन्त्रको परिभाषा घोकाए । जसअन्तर्गत तेस्रो नम्बरको परिभाषामा उनले भनेका थिए- ‘जनताले रुचाएको र रोजेको व्यक्तिबाट मुलुकको शासन व्यवस्था सञ्चालन हुने प्रणाली गणतन्त्र हो ।’

आज उनैले भनेको परिभाषाको गणतन्त्र उनीबाटै घाँटी निमोठिएको छ । जसका कारण पार्टी प्राइभेट लिमिटेड कम्पनीमा परिवर्तन भएको छ भने दुई तिहाइको नजिक रहेको सरकार हेर्दाहेर्दै सडकमा झरेको छ ।

रछ्यानको दम्भले भरिएको हाम्रो राजनीति हो र ?

वर्तमान अवस्थामा नेपालको राजनीतिक सत्ता, शक्ति र दम्भले उनीहरूको आँखा टालिएको छ । त्यसैले आफ्नैभित्रको कुरा बाहेक उनीहरूले केही देख्दैनन् । त्यसैले त सबैले भन्ने गरेका छन्- राजनीति फोहोरीहरूको खेल हो अर्थात् रछ्यान डुब्नका लागि गरिने प्रतिस्पर्धा । त्यसैले त पटक-पटक जनताबाट बहिष्कृत व्यक्तिहरू जनताकै नेतृत्वमा पुुग्ने गरेका छन् । यसको ज्वलन्त उदाहरणका पात्र हुन्- माधवकुमार नेपाल । उनले दुई स्थानबाट चुनाव हारे । स्वयम् पुष्पकमल दाहाल सर्लाहीको निर्वाचन क्षेत्रमा गणितमा मात्रै विजयी भए । नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ गोरखामा पराजित भए भने वामदेव बर्दियामा । यस्ता उदाहरण अरू पनि छन् । यी सबै कानूनी गणितमा सक्षम तर स्थानीय जनस्तरबाट बहिष्कृत पात्र हुन् । शायद उनीहरू सबैलाई त्यही फोहोरी खेल नै मन परेको होला ।

आफ्ना लागि आफैं गोल गर्न अब्बल वामदेव हुन् ?

राजनीतिशास्त्री प्राध्यापक कृष्ण पोखरेलले एउटा सञ्चारमाध्यममा अन्तर्वार्ता दिंदै वामदेवलाई पींध नभएको लोटाको उपमा दिए । यसको अर्थ उनमा पद बाहेक अरू कुनै पनि कुराको अडान छैन । पदको लागि जता पनि पल्टन सक्छन् ।

आजका दिनमा पनि प्रष्ट वक्ताको रूपमा वामदेव नेकपा राजनीतिको केन्द्रमा रहेका छन् । त्यसैले त नेकपाले हान्ने एक गोलमा उनैले बाजी मारे । आफैंले गोल गरे । अर्का खेलाडी प्रचण्ड र केपीको पासमा । गोलपोष्टमा थिए अर्थविद् युवराज खतिवडा, जो देशको अर्थतन्त्र जोगाउन पनि अक्षम नै देखिए । वामदेवको गोलका कारण खतिवडा जनताको गाली खाँदै बाहिरिए ।

वामदेव सत्ता बाहिर रहँदा पनि उत्तिकै शक्तिमा रहन्छन् । त्यसैले त आफ्नै प्रयासले जोडे दुई ध्रुवका कम्युनिष्टहरू । तर आफ्नो सत्ता मोहको कारण उनले पटकपटक यो जोडाइलाई चर्काउने धम्की दिए । र अन्ततः उनैका कारण तहसनहसको अवस्थामा पुग्यो । पूर्णरूपमा काम गर्ने समय अब डेढ वर्ष पनि छैन तर पनि किन त यस्तो लोभ र मोह पदको ? अहिले सबैको दिमागमा उठेको प्रश्न यही हो वामदेव गौतमप्रति ।

राजनीतिशास्त्री प्राध्यापक कृष्ण पोखरेलले एउटा सञ्चारमाध्यममा अन्तर्वार्ता दिंदै वामदेवलाई पींध नभएको लोटाको उपमा दिए । यसको अर्थ उनमा पद बाहेक अरू कुनै पनि कुराको अडान छैन । पदको लागि जता पनि पल्टन सक्छन् । पछिल्ला समयमा उनले गरेका क्रियाकलापलाई हेर्ने हो भने उनी नेपाली राजनीतिक इतिहासका सबैभन्दा ढुलमुले व्यक्ति हुन् ।

को हुन् त वामदेव ?

यही विषयमा एउटा आर्टिकल लेख्न मन लागेको कुरा हिजो मात्रै सामान्य चियापसलमा कुरा गरेको एक जना अघिल्लो चुनावमा हारेका उम्मेदवारले भने- ‘थाङ्नोलाई के पिट्नुहुन्छ ।’

सोच्दैछु- ‘के मैले विश्वास गरेको पात्र उनैले भनेको जस्तै थाङ्नो हो त ?’ अनि जंगलमा बुलेटसँग खेल्दै गरेको समूहलाई मूल राजनीतिक धारमा ल्याउने एक मात्रै व्यक्ति साँच्चिकै थाङ्नो हुनसक्छ । अनि एमाले र एमाओवादीलाई एकठाउँमा ल्याएर नेकपा बनाउने आँट भएको मान्छेको लागि थाङ्नोको पदवी ठीकै होला त ?

मेरा यी तमाम जिज्ञासाको उत्तरमा उनले एक शब्दमा भने- ‘आज भरेसम्मका सामाजिक सञ्जालमा उनी बारेमा लेखिएका अभिव्यक्तिको विश्लेषण गर्नुस् ।’ सामाजिक सञ्जालमा उनैले भने जस्तै वामदेवका सत्ता मोहको कटाक्ष र व्यङ्ग्य गर्दै पोष्ट गरेका छन् । कतिले त उनलाई रछ्यानको कीरा नै भएको अभिव्यक्ति पनि दिएका छन्- उनले नाँचेको फोटो, भिडियो र अक्षरका माध्यमबाट । लाग्दैथियो- वामदेव जनमतको होइन मनमतको हितमा र सम्मानमा काम गर्दैछन् । त्यसैले त उनलाई जसले जे भने पनि कुनै पर्वाह छैन ।

मध्यरातमा वामदेवलाई हुने ऐंठन प्रधानमन्त्री पद हो र ?

वामदेव कुनै बुद्ध, महावीर, गान्धी वा मण्डेला होइनन् । त्यसैले उनमा प्रधानमन्त्रीको पदवी भिर्ने उत्कट इच्छा थियो, कारण उनका सबै साथीहरू प्रधानमन्त्री भइसके, आफू चाहिं नभइकन मरिन्छ कि क्या हो ? पछिल्लो समयमा वामदेवलाई निद्रामा पनि ऐंठन हुने विषय यही हो ।

२०७४ सालको प्रतिनिधिसभाको निर्वाचनमा पराजय भएपछि उनी घाइते बाघ जस्तो भएका थिए । जसले जे भन्छ, त्यहीं झम्टिहाल्ने अनि सहमति जनाइहाल्ने । कारण एक मात्रै थियो- उनी सरकारमा सामेल हुनु । त्यसैले त कहिले डोल्पा, कहिले कास्की, कहिले प्युठान त कहिले काठमाडौं ।

उनको सरकार भित्र छिर्न खोज्ने चाहनाले कम्युनिष्ट आन्दोलन र योद्धाहरूमा एक खालको दाग लगाएको छ । अब चियापसलहरूमा पनि कुरा उठ्ने छ कम्युनिष्टहरूका कुनै पनि व्यक्ति पद, पैसा र शक्ति बाहिर बस्न सक्दैनन् । त्यसैले एमाले विभाजनका लागि भएको खेलमा वामदेव नलागेको भए उनको प्रतिष्ठा अझ माथि पुग्नेथियो ।

त्यसो त पछिल्लो समयमा म माधव नेपालतिर र म केपीतिर भनेर पुनः सरकारको मह चाट्ने दाउमा आफ्नो प्रतिष्ठा सौदाबाजी नगरेको भए जाती नै हुनेथियो । यदि उनी विश्लेषकहरूले भने झैं पींध भएको अवस्थामा रहन सकेको भए के थाहा, नेकपा आज जस्तो तीन चिरामा हुने थिएन कि ?

यसै पनि वामदेव तीनपटक उपप्रधानमन्त्री भई उपप्रधानमन्त्रीमा ‘हृयाटि्रक’ गरिसकेको मान्छेले जीवनमा एकपटक प्रधानमन्त्री हुने इच्छा राख्नु अस्वाभाविक हुँदैन । आˆना सबै आन्दोलन गरेका र एउटै दलका समकालीनहरू केपी ओलीे, माधव नेपाल, झलनाथ खनाल, पुष्पकमल दाहाल, बाबुराम भट्टराई प्रधानमन्त्री हुने, वामदेव किन नहुने ? मानवीय मनोविज्ञान, लोभ, महत्वाकांक्षा उत्पन्न हुनु स्वाभाविकै थियो । तर उनीमा थियो जनमतको अविश्वास । जनमतको कदर गर्ने र लोभ, मोह, क्रोध भावहरूमाथि महामानवहरूले मात्र विजय प्राप्त गर्न सक्दछन्, सामान्य राजनीतिकर्मीको आँखा अगाडि नाँच्ने भनेको पदको लोभ नै हो ।

उमेर सँगसँगै राजनीतिबाट डाँडामाथिको घाम बनेका वामदेवको लागि यो समय तमाम जनआक्रोशलाई मत्थर पार्दै वास्तविक जननेतामा परिणत हुने सुनौलो अवसर पनि थियो विधि र पद्धतिका लागि । उनको लागि यो अवसर अग्निकुण्ड हो आफ्नो जनभावना प्रमाणित गर्ने । त्यसैले आजका दिनसम्म जसले जसरी वामदेव गौतमको व्याख्या गरे पनि सच्चा कार्यकर्ता र एउटै थर/गोत्र भएका कारण सच्चा राजनीतिज्ञ महामानव वामदेव गौतमको चेलो/भाइ/भतिज भन्दा गर्व लाग्ने बनिदिनुस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?