+
+

क्रियाशील सदस्यता सार्वजनिक नगरी अधिवेशनमा गए समस्या हुनसक्छ : गगन थापा

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ८ गते १७:१८
फाइल तस्वीर

८ भदौ, काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले क्रियाशील सदस्यता अविलम्ब सार्वजनिक गर्नुपर्ने जिल्ला सभापतिहरुको माग जायज भएको बताएका छन् । उनले क्रियाशील सदस्यताबारे सबैले थाहा पाउनुपर्नेमा जोड दिँदै सार्वजनिक नगरी एकैपटक अधिवेशनमा जाँदा समस्या हुन सक्नेतर्फ नेतृत्वको ध्यानाकर्षण गराए ।

मंगलबार पार्टी कार्यालय सानेपामा जिल्ला सभापतिहरुको धर्नामा सहभागी हुँदै नेता थापाले क्रियाशील सदस्यताबारे उठेका प्रश्नको सम्बोधन गर्न सार्वजनिक गर्नुपर्ने बताए । ‘कतिपय जिल्लामा नियतवस क्रियाशील सदस्यता छुटाइएको छ, कतिपयको भुलवस छुटेको छ । त्यो सबै थाहा पाउनुपर्छ,’ उनले भने, ‘क्रियाशील सदस्यता सार्वजनिक हुनुपर्छ भन्ने कुरामा मेरो ऐक्यवद्धता छ । यसबारेमा पार्टी सभापति र पदाधिकारीहरुलाई पनि भन्छु ।’

उनले अधिवेशनमा सहभागी हुन गाउँमा जाँदै गर्दा क्रियाशील सदस्यताबारे जानकारी पाउनुपर्नेमा जोड दिए । ‘देशभरका साथीहरु पार्टी अधिवेशनमा सहभागी हुन जाँदै गर्दा मलाई अन्याय भयो, विभेद भयो भन्ने अवस्था नआओस् । र, यो नगरी एकैपटक निर्वाचन समितिमार्फत अधिवेशनमा गयौं भने वडा–वडामा समस्या आउन सक्छ । भोलि अप्ठ्यारो आउन नदिन हामी आज सजग हुनैपर्छ ।’

कांग्रेस डडेल्धुरा जिल्ला सभापति कर्णबहादुर मल्लले केन्द्रबाटै क्रियाशील सदस्यको नाम थप्ने काम भइरहेको बताए । ‘वडा, क्षेत्रबाट इन्ट्री नभएका नामहरु केन्द्रबाट समावेश गर्ने काम भएको छ,’ उनले भने, ‘स्थानीय तहको निर्वाचनमा बागी उम्मेदवारी दिएकाहरुको  क्रियाशील सदर गरिएको छ भने आधिकारिकलाई सदस्यता दिने काम भएको छ । यसलाई हामी स्वीकार गर्न सक्दैनौं ।’ कांग्रेस सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा समायोजनको विवाद थियो ।

सुर्खेतका जिल्ला सभापति कमलराज रेग्मीले जिल्लाबाट सर्वसम्मत पठाइएको क्रियाशील सदस्यतामा केन्द्रबाट विवाद निकाल्ने काम भएको दाबी गरे । उनले केन्द्रमा विवाद देखाएर सात सय बढी क्रियाशील सदस्यता स्थगन गरिएको बताए । सुर्खेत कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काको गृहजिल्ला हो ।

सानेपामा वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका जिल्ला सभापतिहरुले सदस्यता सार्वजनिक गर्न माग गर्दै धर्ना शुरु गरेका छन् ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले क्रियाशील सदस्यता सार्वजनिक गर्न सभापतिले निर्देशन दिइसकेको बताए । उनले निर्वाचन समितिमार्फत सदस्यता सार्वजनिक हुने क्रममा रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?