+
+

काठमाडौं महानगरले कर नतिर्नेको घर-आँगनमा बजाउन थाल्यो पञ्चेबाजा

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ९ गते १९:०४

९ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाले सम्पत्ति कर नतिर्नेहरुको घर आँगन तथा कार्यालय परिसरमा पञ्चेबाजा बजाएर सूचना टाँस्न थालेको छ ।

बुधबार काठमाडौं महानगरपालिकाले न्युरोडस्थित केशा प्लाजालाई सम्पत्ति कर नतिरेको भन्दै प्लाजा परिसरमा पञ्चेबाजा बजाउँदै सूचना टाँस गरेको छ । गत असार १६ र साउन २४ गते सूचना प्रकाशित गरी ३० दिनभित्र कर तिर्नका लागि भनिएकोमा अटेर गरेकाले प्लाजालाई सचेत गराइएको महानगरपालिकाले जनाएको छ ।

महानगरपालिकाले सात दिनभित्र कर नबुझाएमा कानूनअनुसार प्लाजाका सम्पूर्ण पसल तथा व्यावसायिक गतिविधि बन्द गराउने समेत चेतावनी दिएको छ ।

महानगरपालिकाले यसअघि नै घरजग्गा र सम्पत्ति कर नबुझाउने ५२ करदातालाई ३० दिने सूचना दिएर नाम सार्वजनिक गरिसकेको छ । यसअघि २० जना करदाताको नाम सार्वजनिक गरेको थियो ।

तीमध्ये कर तिर्ने गरी प्रक्रियामा नआउने करदाताको कार्यालय तथा घर–आँगन परिसरमा बुधबारदेखि पञ्चेबाजा बजाउने महानगरपालिकाले निर्णय गरेको थियो ।  महानगरपालिको राजस्व विभाग प्रमुख डा. शिवराज अधिकारीका अनुसार ती करदाताबाट करीब ७० करोड रुपैयाँ सम्पत्ति कर उठाउन बाँकी छ ।

नेपाल विद्युत प्राधिकरण, खाद्य संस्थान, साझा भण्डार, राष्ट्रिय नाँचघर, कर्मचारी सञ्चयकोष लगायतका सरकारी तथा सार्वजनिक निकाय तथा संस्थानले पनि कर तिर्न अटेरी गरेको महानगरपालिकाले जनाएको छ । महानगरपालिकाको राजस्व विभागले लामो समयदेखि वडामार्फत भएको ताकेतालाई अटेर गरेका कारण नाम सार्वजनिक गर्नुपरेको जनाएको छ ।

नाम सार्वजनिक गरिएका करदाताले करको विवरण, कर र जरिवाना नबुझाए सेवा बन्द गर्ने, सम्पत्ति रोक्का गर्नेलगायतका कानूनी प्रक्रियाबाट सरकारी बाँकीसरह कर असुल गरिने विभागका प्रमुख डा. अधिकारीको भनाइ छ ।

तस्वीर : आर्यन धिमाल/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?