+
+

त्रिविमा उच्च शिक्षा लिने महिलाको संख्या बढी

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ९ गते १९:११

९ भदौ, काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा उच्च शिक्षा अध्ययन गर्नेमा पुरुषकोभन्दा महिलाको संख्या बढी रहेको पाइएको छ ।

त्रिवि योजना निर्देशनालयको तथ्यांकअनुसार उच्च शिक्षा अध्ययन गर्नेमा पुरुषकोभन्दा महिलाको संख्या बढी देखिएको हो । शैक्षिक सत्र २०७६/०७७ मा ४ लाख १५ हजार ७७७ विद्यार्थीमध्ये महिलाको संख्या २ लाख २२ हजार २८७ र पुरुषको संख्या १ लाख ८३ हजार ४९० रहेको तथ्यांकमा उल्लेख छ ।

त्रिवि योजना निर्देशनालयका प्रमुख डा. ऋदिश पोख्रेल त्रिविमा उच्च शिक्षा लिने महिलाको संख्या शैक्षिक सत्र २०७३/०७४ देखि क्रमशः बढेको बताउँछन् ।

शैक्षिक सत्र २०७३/०७४ मा १ लाख ९९ हजार ५७० जना, २०७४/०७५ मा २ लाख ६ हजार ९२८ र २०७५/०७६ मा २ लाख १५ हजार ८८४ जना महिलाले उच्च शिक्षा लिएका छन् ।

छोरी-बुहारीले पनि पढ्नुपर्छ, आत्मनिर्भर बन्नुपर्छ भन्ने चेतना बढ्दा उच्च शिक्षा लिने महिलाको संख्या बढेको डा. पोखरेल बताउँछन् । उनी भन्छन्, ‘पहिला छोरीलाई किन धेरै पढाउने भन्ने सोच थियो । समयसँगै बुहारी पनि पढाउनुपर्छ है भन्ने सोच बढ्दै गएको देखिन्छ । अहिलेका छोरी- बुहारीले आफ्नो पढ्न पाउने अधिकार उपयोग गरिरहेका छन् ।’

उच्च शिक्षा लिने महिलाको संख्या बढ्नु सकारात्मक : शिक्षाविद्

शिक्षाविद् डा.विद्यानाथ कोईराला त्रिविमा उच्च शिक्षा पढ्ने महिलाको संख्या बढ्नु सकारात्मक भएको बताउँछन् । तर ती शिक्षित महिलाहरुलाई रोजगारी दिने वातावरण बनाउन सरोकार पक्षसँग संवाद गरी सम्भावना खोज्नुपर्ने उनको सुझाव छ ।

शिक्षित महिलाहरुका लागि समयमै रोजगारीको अवसर सिर्जना गर्न नसकेको अवस्थामा अर्को समस्या आउने उनको बुझाइ छ । उनी भन्छन् ‘महिलाले पढ्नु भनेको ठूलो उपलब्धी हो, तर उनीहरु पढेर अवसर पाएनन् भने फेरि पनि उनीहरुले पढेर के भयो त भन्ने सोचको विकास भयो भने समस्या आरउन सक्छ ।‘

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?