+
+
संस्मरण :

विद्यालय हाताभित्रै यातना पाएँ, गुरुहरू बोलेनन्

कृष्णउदास खनाल कृष्णउदास खनाल
२०७८ भदौ ११ गते ७:०८

भदौको महीना । दोस्रो हप्तातिर हुनुपर्छ । चारैतिर हरियाली । पहाडको ठाउँ । खोलानाला बढिरहेका थिए भने साना खोल्साहरूले पनि बाटो छेक्दै थिए । गोरखा जिल्लाको तत्कालीन हंसपुर गाविस (हालको अजिरकोट गाउँपालिका-३) मा एउटा विद्यालय छ- जुन अहिले पनि छ । तत्कालीन ज्ञानज्योति मावि अहिले उच्च मावि भइसकेको छ ।
गाउँको अलि उँचाइमा पर्छ विद्यालय । त्यसलाई स्थानीय घलटाकुरा पनि भन्छन् । म लगभग त्यही विद्यालयमा पढें । करीब दश वर्षको पढाइ मेरो त्यही विद्यालयमा भयो । कखरादेखि मावि तहसम्मको शिक्षा त्यहींबाट लिएँ ।

सुन्दर छ विद्यालय अनि भूगोल पनि तर राजनीति लागेपछि सबै कुरा कुरुप लाग्छ । कुरा २०५६ सालको हो । समय त मैले उल्लेख गरिसकें नै, यही भदौतिरको । म कक्षा दशमा पढ्थें त्यो ताका । गाउँको पढाइ ढिलै गरी शुरू भएकाले मेरो केही उमेर ढल्किए पनि म फेल भएको थिइनँ । पढाइमा मध्यम थिएँ । कुनैमा राम्रो जान्ने कुनैमा मध्यम । करीब दुई बजेको हुँदो हो । विद्यालयले दिने हाफ छुट्टीपछिको समय भने पनि पाँचौं पिरियडको समय । शिक्षक आएका थिएनन् त्यो दिन । शायद योजना पनि थियो होला । खाली पिरियड । म साथीहरूसँगै बाहिर टहलिंदै थिएँ ।

‘तँ माओवादी होस् भनेर कसैले उजुरी दिएकोले प्रहरी खोज्न आएको छ । घरमा पनि छिर्‍यो । बन्दूक खोज्ने भन्दै घर भत्काइदियो । मलाई र आमालाई पनि पिट्यो । प्रहरी अलि तल छ । मलाई तँलाई खबर गर् भनेर माथि पठाएका हुन्’, बुवाले एकै सासमा भन्नुभयो

विद्यालयको पल्लोपट्ट िछेउमा मैले बुवा आएको देखें । विद्यालयबाट मेरो घर करीब आधा घण्टाको दूरीमा छ । विद्यालयमा बुवाको काम थिएन । किनभने सबै विद्यालयको काम म आफैंले गर्न सक्थें । मैले गल्ती पनि गरेको थिइनँ । त्यसैले बुवाले सरहरूलाई कुरा लगाउने कुरा पनि थिएन । त्यसैले विद्यालयमा बुवासँग मेरो कुनै काम थिएन । उहाँले बोलाउनुभयो । म उहाँको नजिक गएँ । मसँग मेरो मिल्ने साथी पनि सँगै थिए ।

बुवाले सीधै भन्नुभयो- ‘तँलाई खोज्न प्रहरी आएको छ ।’

म छाँगाबाट खसे जसरी झसङ्ग भएँ । ‘मलाई खोज्न प्रहरी … किन ?’ सोधें ।

‘तँ माओवादी होस् भनेर कसैले उजुरी दिएकोले खोज्न आएको छ प्रहरी । घरमा पनि छिर्‍यो । बन्दूक खोज्ने भन्दै घर भत्काइदियो । मलाई र आमालाई पनि पिट्यो । प्रहरी अलि तल छ । मलाई तँलाई खबर गर् भनेर माथि पठाएका हुन्’, बुवाले एकै सासमा भन्नुभयो ।

बुवा अलि तल प्रहरी थियो, त्यतै जानुभयो । अब छैटौं पिरियड शुरू भयो । मेरो मनमा ठूलो प्रश्न उब्जियो- ‘म कसरी माओवादी भएँ ? विद्यालयमा पढ्दै गरेको मान्छे ?’ जवाफ थिएन ।

हेर्दाहेर्दै विद्यालयलाई पूरै प्रहरीले घेरामा हाल्यो । शिक्षक बस्ने अफिसमा प्रहरीका उच्च अधिकारी छिरे । त्यतिबेला विद्यालयमा लगभग सबै कांग्रेस समर्थक शिक्षक थिए । तैपनि प्रहरीले शिक्षकहरूलाई गाली गरेछ तर विद्यालयका केही शिक्षककै योजनामा प्रहरी आएकाले जसले उजुरी गरेका थिए उनले भने थाहा नपाएको नाटक मात्रै गर्दै थिए ।

सातौं घण्टी सकियो । हातले बुनेको अलि मैलो झोला थियो । म विद्यालयको ड्रेसमा नै थिएँ । करीब एक हजार ६०० जति विद्यार्थी त्यतिबेला त्यो विद्यालयमा पढ्थे । बिदा भएपछि म घर जाने मेरो बाटोबाट लम्कन थालें । विद्यालयमा खैलाबैला भयो । मलाई समात्न प्रहरी आएको कुरा हल्ला भयो । सबैले थाहा पाए कि म पक्राउ पर्दैछु भनेर ।

एक मनमा त ‘यत्तिका मान्छेको अगाडि प्रहरीले समात्दैछ, मार्दैन होला’ भन्ने लागेको थियो भने अर्को मनले बाँच्ने आशा कमै देख्न थालें । अलि तल खाल्डो जस्तो ठाउँमा पुगेपछि जौवारीका प्रहरी इन्चार्ज प्रहरी निरीक्षक दीनानाथ मैनालीको करीब डेढ सय जनाको टोलीले मलाई पक्राउ गर्‍यो । मैले त्यतिबेला दाह्री पालेको थिएँ । उनीहरूले ‘बाबुराम भट्टराई पो हो कि क्या हो’ भन्दै गाली गर्न थाले ।

खाल्डो भए पनि बाटो थियो त्यो । सबै शिक्षक र विद्यार्थी एक-एक गरेर गएपछि मलाई बुवासहित पुनः विद्यालयमा फर्काइयो । मैले एक वर्ष अगाडि अथवा कक्षा नौमा पढेको कक्षा कोठामा लगेर कुट्दै हतियार तथा माओवादीको विषयमा मसँग जानकारी लिने प्रयास भयो ।

मसँग हतियार पनि थिएन अनि माओवादीको बारेमा खास जानकारी पनि थिएन । किनभने माओवादी त एक ठाउँमा बस्ने थिएनन् । त्यतिबेला मलाई चैं मेरै भान्दाइ श्रीनाथ अधिकारी र बाबुराम भट्टराई लगायत नेताको बारेमा सोधेर प्रहरीले पिटेको थियो । करीब तीन घण्टा निर्घात कुटेपछि मलाई भच्चेक प्रहरी चौकी लैजाने कुरा भयो । भच्चेक प्रहरी चौकी त्यहाँबाट पैदल डेढ घण्टाको बाटोमा पर्दथ्यो । मलाई विद्यालयको कक्षा कोठामा यातना दिंदै गर्दा बुवालाई बाहिर राखिएको थियो ।

अब चौकी लैजाने तयारी भएपछि प्रहरीले बुवालाई ‘घर जा’ भन्यो । बुवा रुँदै घर र्फकनुभयो, म पनि रोएँ । बाटोमा हिंड्दै गर्दा ठूलो पानी पर्‍यो । मसँग ओढ्ने केही थिएन । प्रहरीहरूले बर्साती ओढे । म भिजें । बीच बाटोमा घोइनी भन्ने स्थान छ । त्यहाँ नाताले मामा पर्ने तुलसी अधिकारीको पसल थियो । उहाँले म भिजेको देखेर मनमनै धेरै नमज्जा मान्नुभयो तर त्यतिबेला अधिकारीले मसँग चिनजान भएको व्यवहार गर्न सक्ने अवस्था नै थिएन । मेरो मुखमा हेर्नुभयो तर बोल्न सक्नुभएन ।

प्रहरीले मलाई चिया दे भनेपछि एकदमै खुशी भएर उहाँले चिया दिनुभयो । किनभने उहाँ खुङ्खार कम्युनिष्ट हुनुहुन्थ्यो । शायद नाताले भान्जा भए पनि नचिनेको जस्तो गर्नुपर्दा तुलसी मामाको मन आज पनि पोल्छ भन्ने सुनेको छु ।

राति ९ बजे चौकी लगेपछि फेरि कुटाइ शुरू भयो । उनीहरूले रक्सी खाएका थिए । रक्सीको सुरमा कुट्नुसम्म कुटे । मसँग खास कुरा केही थिएन किनभने म विद्यार्थी थिएँ सामान्य कृषकको छोरा । खाना चाहिं खान दिए राति । राति भान्सेसँग सुत्ने व्यवस्था मिलाए । तर, भान्से म माओवादी भएको भन्दै सँगै सुत्न मानेन । अन्ततः भोलिपल्ट बिहान पुनः तारेखमा आउने शर्तमा बुवा र अर्का एकजना दाइलाई साक्षी राखेर माओवादीमा नलाग्ने शर्तमा छाडियो ।

म अलि ढिला विद्यालय गएँ, त्यहाँ खैलाबैला थियो । तर मलाई खोज्ने वा मेरो गिरफ्तारीका विषयमा विद्यालय मौन थियो । स्कूल हाताभित्र आफ्नै विद्यार्थी समातिंदा नबोल्ने मेरा कथित गुुरुहरू म झल्झली सम्झँदैछु !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment