+
+

एउटै कार्यालयमा महीनामा २७ ठगीका उजुरी : कतै आइफोन, कतै डलरको लोभमा लाखौं स्वाहा

प्रहरी भन्छ - सामाजिक सञ्जालले सूचना नदिंदा अनुसन्धानमा समस्या

गौरव पोखरेल गौरव पोखरेल
२०७८ भदौ ११ गते ९:३६

११ भदौ, काठमाडौं । सोलुखुम्बुकी २८ वर्षीया अनिता (नाम परिवर्तन) लाई असार अन्तिम साता एप्पल कम्पनीमा काम गर्छु भन्दै चुम ली नामक व्यक्तिले फ्रेण्ड रिक्वेस्ट पठाए । झट्ट हेर्दा विदेशी नागरिक जस्तै देखिने चुम लिले अन्तर्राष्ट्रिय कम्पनीमा काम गर्छु भनेर फोटो पठाएपछि उनले सहजै विश्वास गरिन् ।

सामान्य कुराकानी भएको केही समयमै उनले ‘भ्वाइस कल’ गर्न भन्दै ह्वाटस् एप नम्बर मागे । विदेशी नागरिक भनेपछि नम्बर दिन उनले पनि समय लगाइनन् । त्यसपछि +९२९-४५४६६४१ नम्बरबाट उनलाई निरन्तर म्यासेज र अडियो रेकर्ड आउन थाल्यो । विस्तारै उनले कोरिया घर बताउने ती व्यक्तिलाई विश्वास गर्न थालिन् ।

गत २ असारमा अनितालाई चुम लीले नेपाल भेट्न आउने बताए । त्योभन्दा अगाडि लगेज आउने बताए, जसलाई रिसिभ गर्न विमानस्थलमा ७० हजार रुपैयाँ तिर्नुपर्ने बताए । ‘पैसा पठाउनु भनेपछि अचम्म लाग्यो र प्रहरीकहाँ उजुरी दिएँ’, अनिता भन्छिन् ।

हाल घटनामा उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरले छानबिन गरिरहेको छ ।

कार्यालयले अहिले बाग्लुङकी १९ वर्षीया युवती ठगिएको अर्को घटनाको पनि अनुसन्धान गरिरहेको छ । फेसबुकमा सस्तोमा आइफोन-७ पाउने विज्ञापन देखेपछि १ साउनमा उनले अर्डर गरेकी थिइन् ।

सुरुवातमा इ-सेवाबाट २० हजार रुपैयाँ पठाउन उनलाई भनियो, फेरि १० हजार मागियो । तर अझै पैसा माग्ने क्रम नरोकिएपछि उनी प्रहरीको शरणमा पुगेकी छन् ।

नक्कली जहाजको क्याप्टेनको भर पर्दा…

कार्यालयले अनुसन्धान गरिरहेको अर्को घटनामा पानीजहाजको क्याप्टेन बताउने व्यक्तिले एक युवतीलाई ठगेका छन् । युके घर बताउने डेभिड नामक व्यक्तिले ४४७४५९८.. नम्बरबाट ह्वाट्स एप म्यासेज गर्दै एक युवतीलाई जुत्ता पठाइदिन्छु भने । उनले झोलामा सुनको चुरा र ४० लाख डलर पनि राखिदिएको बताए।

सामान पठाएको चार दिनपछि उनले आफैं भ्वाइस म्यासेज पठाएर विमानस्थलमा सामान अड्किएको भनेका छन् । सामान छुटाउन एक व्यक्तिको बैंक खातामा तीन लाख रुपैयाँ पठाउनुपर्ने भनेका छन् । रकम डुबेपछि बल्ल पीडित प्रहरीकहाँ पुगेकी छन् ।

दाङका २३ वर्षीय आशिष खड्कालाई अपराध अनुसन्धान कार्यालयले मात्र दुई पटक पक्राउ गरिसक्यो । काठमाडौं प्रहरी परिसर, टेकुले थप तीन पटक समातिसक्यो । तर अझै उनले ठगी धन्दा रोकेका छैनन् ।

अपराध अनुसन्धान कार्यालयका एक अनुसन्धान अधिकृतका अनुसार उनले विभिन्न पसलमा गएर मोबाइल हात मारेर इ-सेवामा नयाँ ई-मेल थपेर रकम चोरी गर्ने गरेका थिए । २१ फागुन २०७७ को घटनामा चाहिं उनले जिमेलमा सेभ भएको पासवर्ड नै पत्ता लगाएर ठगी गरेका छन् ।

कारिन्दा समातिन्छन्, मुख्य आरोपी खुलेआम

उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक (एसपी) कृष्ण कोइरालाका अनुसार पछिल्लाे समय अनलाइनबाट हुने ठगीका उजुरी बढेका छन् । तर अधिकांश घटनामा कारिन्दा मात्रै समातिने गरेका छन् ।

‘विदेशमा बस्ने व्यक्तिले ह्वाट्स एपबाट कल गरेर ठगी गरेको हुन्छ, त्यस सम्बन्धी सूचना पाउनै गाह्रो हुन्छ’ कोइरालाले अनलाइनखबरसँग भने, ‘त्यही कारण मुख्य व्यक्तिलाई समात्न गाह्रो छ ।’ मुख्य आरोपी नसमातिंदा जति नै एजेन्ट पक्राउ परे पनि अनलाइनबाट हुने ठगीका घटना रोकिन सकेका छैनन् ।

आर्थिक वर्ष २०७७/७८ मा कार्यालयबाट चलेको मुद्दाका १० वटा घटनामा १९ जना पक्राउ परेका छन् । तर तीमध्ये कुनै पनि मुख्य आरोपी होइनन् । सबैलाई नाइजेरिया, भारत लगायतका मुलुकमा बस्ने योजनाकारले प्रयोग गरेको अनुसन्धानबाट खुलेको छ ।

कार्यालयले १३ पुस २०७७ मा गरेको एउटा अनुसन्धान हेरौं –

फेसबुकमा फेभर विलफ्रेण्ड नामक आईडीबाट दीपक, किशोर र सन्तोष श्रेष्ठलाई फ्रेण्ड रिक्वेस्ट आउँछ । नेदरल्याण्डमा बस्छु भन्ने ती व्यक्तिले नेपाल घुम्न आउन चाहेको बताउँछन् ।

नेपाल आउँदा आइफोन, सुनका गहना र डलर दिने प्रलोभन देखाउँछन् । त्यही प्रलोभनमा एक जनालाई ३ वटा आइफोन पठाइदिन्छु भनेर पटकपटक गरी ३ लाख १५ हजार रुपैयाँ हात पारेका छन् ।

स्रोतः Getty Image

अरु दुई जनाबाट २ लाख १० हजार र २ लाख रुपैयाँ लिएका छन् । घटनामा प्रहरीले सुन्धाराबाट सन्तोष श्रेष्ठ र आशाखा श्रेष्ठलाई पक्राउ त गरेको छ तर उनीहरु पैसा निकाल्न र पठाउन प्रयोग भएका मोहोरा मात्र भएको अनुसन्धानबाट खुलेको छ ।

अपराध महाशाखाले १५ पुस २०७७ मा रुपन्देहीको मर्चवारी-४ का २९ वर्षीय धर्मेन्द्र उपाध्याय र सोही ठाउँका ४५ वर्षीय अनन्तकुमार उपाध्यायलाई पक्राउ गर्‍यो । उनीहरुमाथि सामाजिक सञ्जाल ह्वाट्स एप, फेसबुक, इन्स्टाग्राम लगायत प्रयोग गरेर ठगी गरेकाे अभियोग थियो ।

पीडितहरुलाई ह्वाट्स एपमा क्योङ पल र बेक्ररा एलिजा ग्यारी नामक व्यक्तिले निरन्तर कुराकानी गरेर जुत्ता, घडी, मोबाइल तथा डलर पठाइदिने आश्वासन दिएका छन् । त्यही प्रलोभनमा दुई जना पीडितले २ लाख ९७ हजार र ६९ हजार ६०० बुझाएका छन् ।

यस प्रकरणमा संलग्न नेपाली नगारिक समातिए भने उनीहरुलाई प्रयोग गर्ने विदेशी नागरिकबारे प्रहरी बेखबर छ ।

अपराध महाशाखाले १८ माघ २०७७ मा काठमाडौं प्रहरी परिसर, टेकुलाई एउटा अनुसन्धान प्रतिवेदन बुझाएको छ, जसमा तनहुँको शुक्लागण्डकी-६ की सन्दीपा परियार प्रतिवादी छिन् । उनीमाथि सामाजिक सञ्जाल फेसबुकमा इम्युनेल जोर्ज नामक आईडीबाट विभिन्न व्यक्तिलाई साथी बनाएर ठगी गरेको अभियोग छ ।

विभिन्न सुनका गहना, ब्याग र डलरसहितको पार्सल पठाउने भनेर ठगी गरेको अभियोग उनीमाथि छ । तर घटनामा संलग्न मुख्य आरोपी उनी होइनन् । विदेश बस्ने नागरिकले कुराकानी गरेर पैसा निकाल्ने प्रयोजनका लागि मात्रै उनलाई प्रयोग गरेको खुलेको छ ।

‘धेरैजसो नागरिक अहिले थोरै पैसाको प्रलोभनमा फसिरहेका छन्, नेपाल बाहिरबाट सञ्चालितलाई कानूनी दायरामा ल्याउन पनि समस्या छ’ कार्यालयका प्रमुख चन्द्रकुवेर खापुङ भन्छन् ।

फेरियो अपराधको प्रवृत्ति

केन्द्रीय प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवरका अनुसार पछिल्लो समय अपराधको प्रवृत्ति पनि फेरिएको छ ।

पहिले अपराधमा संगठित र व्यावसायिक गिरोहको संलग्नतामा जघन्य प्रकृतिका अपराध धेरै हुने गरेकोमा अहिले सामाजिक सञ्जाल प्रयोग गरेर सामाजिक अपराध भइरहेका छन् । त्यसमा पनि ठगीका घटना सबैभन्दा धेरै प्रहरीकहाँ आउने गरेका छन् ।

कुँवरका अनुसार आर्थिक वर्ष २०७५/७६ मा ६७२, २०७६/७७ मा ६६८ र २०७७/७८ मा ३०७ वटा ठगी सम्बन्धी मुद्दा देशभर दर्ता भएका छन् । संगठित र जघन्य प्रकृतिका अपराधमा संलग्नविरुद्ध प्रहरी आक्रामक बन्नु र इन्टनेटको सहज पहुँचले सामाजिक सञ्जाल जोडिएका ठगीको घटना बढेको काठमाडौं प्रहरी परिसर, टेकुका प्रमुख एसएसपी अशोक सिंह बताउँछन् ।

‘अहिले सामाजिक सञ्जाल नजोडिएका अपराधका घटना विरलै भेटिन्छन्’ उनी भन्छन्, ‘त्यसमाथि ठगीमा त अधिकांशमा जोडिएकै हुन्छ ।’

अहिले पनि प्रहरीले फेसबुक, ट्वीटर, इन्स्टाग्राम लगायतलाई इ-मेल लेखेर सहयोग गर्न आग्रह त गर्ने गरेको छ । तर जवाफ कमै मात्र आउने गरेको छ ।

फेसबुक, ट्वीटर नेपालमा दर्ता नहुँदा समस्या

अपराध अनुसन्धान कार्यालयका एक अधिकृतका अनुसार सामाजिक सञ्जालका कम्पनीहरु नेपालमा दर्ता नहुँदा ठगी सम्बन्धी अपराधको अनुसन्धानमा जटिलता हुने गरेको छ ।

‘अहिले हरेक विषय सामाजिक सञ्जालमा जोडिन्छन्, फेसबुक, ट्वीटर लगायतको प्रयोगबाट अपराध भइरहेको छ’ केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का पूर्वप्रमुख हेमन्त मल्ल ठकुरी भन्छन्, ‘तर सामाजिक सञ्जालसँग जोडिएका विषयको सूचना प्राप्त गर्न निकै कठिन छ ।’

अधिकारीहरुका अनुसारका अनुसार अहिले पनि प्रहरीले फेसबुक, ट्वीटर, इन्स्टाग्राम लगायतलाई इ-मेल लेखेर सहयोग गर्न आग्रह त गर्ने गरेको छ । तर जवाफ कमै मात्र आउने गरेको छ ।

‘कतिपयमा अदालतको आदेश समेत मागिन्छ, मुद्दा प्रक्रियामा नगई अनुसन्धान गर्नुपर्ने विषयमा त निकै झमेला छ’ कार्यालयका एक प्रहरी निरीक्षकले भने, ‘नेपालमा सामाजिक सञ्जालका कार्यालय नभएसम्म गाह्रो छ ।’

केपी शर्मा ओली नेतृत्वको सरकारले फेसबुक, ट्वीटर, भाइबर लगायतलाई नेपालमा दर्ता गर्नुपर्ने व्यवस्थासहित विधेयकसमेत ल्याएको थियो । तर त्यो विधेयक संसदमै अड्किरहेको छ ।

लेखकको बारेमा
गौरव पोखरेल

पोखरेल अनलाइनखबरका लागि राष्ट्रिय सुरक्षा एवं समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?