+
+

‘संस्थाको विश्वसनीयता होइन, नियुक्ति गर्नेको हित हेर्न थालियो’

भोजराज पोखरेल, पूर्व प्रमुख निर्वाचन आयुक्त  भोजराज पोखरेल, पूर्व प्रमुख निर्वाचन आयुक्त 
२०७८ भदौ ११ गते ११:३९

कुनै पनि मुलुकका संस्था चल्ने आधारभूत मूल्यमान्यता हुन्छन् । मान्यताले ‘लिक’ छाडेपछि संस्था ट्रयाक बाहिर जान थाल्छन् । रेलले पटरी छाडेर बाहिर गए झैं हाम्रा संस्था पनि आफ्नो बाटोबाट बाहिर गएको महसूस हुन्छ ।

हाम्रा संस्थाहरूमा संस्थागत विकासको अभाव भयो । जस्तो व्यक्ति जान्छ, सोही अनुसार संस्था सञ्चालन हुने अवस्था रहृयो । ट्रयाकमा हिंड्नुपर्छ, मूल्यमान्यता छाड्नुहुँदैन भन्ने व्यक्ति गयो भने त्यस्तो संस्था ट्रयाकमा नै हिंडिरहन्छ । होइन, अलिअलि दायाँ-बायाँ गरे पनि फरक पर्दैन भन्ने व्यक्तिले संस्थाको नेतृत्व गरेमा संस्था पनि दायाँ-बायाँ हुन थाल्छ ।

दोस्रो कारण, हाम्रो समाजले कसैलाई पनि जिम्मेवार बनाउन सकेन । समाजमा जे गर्दा पनि हुन्छ भन्ने उत्तरदायी हुनु नपर्ने सोच हावी भयो । त्यही कारणले संस्थाहरू अधोगतितिर जान थाले । तेस्रो, राष्ट्रिय संस्थाहरू कस्तो खालको हो, संवैधानिक व्यवस्था र त्यसको भावना के हो ? त्यसमा कस्तो व्यक्ति पठाइनुपर्छ भन्नेबारेमा संविधानमा परिकल्पना छ । तर त्यो परिकल्पना अनुसारका पात्रहरू त्यहाँ पुगेनन् । हामीले त्यो स्वीकार्नुपर्छ ।

संस्थाको गरिमा कायम राख्ने, मर्यादा कायम राख्ने, संस्थालाई गति दिने र समग्रमा सकारात्मक बाटोमा लैजाने पात्र पाइयो भने संस्थामाथि प्रश्न उठ्दैन । संस्थाको गरिमा अझै बढ्छ । हामीले संस्थालाई उपयुक्त हुने किसिमबाट पात्रहरू छनोट गर्नुपर्ने थियो । संस्थाको हित र मर्यादा कायम राख्नेभन्दा पनि पात्रहरू कसैको स्वार्थ पूरा गर्न वा कसैप्रति अनुगृहीत भए भने उनीहरूले गरिमा कायम राख्न सक्दैनन् । संस्थाको विश्वसनीयता भन्दा पनि आफूलाई सिफारिश गर्ने मानिसहरूप्रति अनुगृहीत भएर उसैको हितमा निर्णय गरिदिने प्रवृत्ति देखिन्छ, अहिले त्यही नै भइरहेको छ ।

यो संस्थामा म के कामका लागि आएको हुँ ? हिजोको गल्ती कसरी दोहोरिन नदिएर अझ राम्रो गर्न सक्छु ? संस्थामा गएपछि मैले मुलुकको हितमा कुन काम कसरी गर्न सक्छु ? संस्थालाई कसरी अझै राम्रो बनाउने होला ? भन्ने चिन्तन गर्ने पात्र हुँदा संस्थाको मर्यादा कायमै रहन्छ । त्यसो नभएर कुनै कृपा वा बक्सिसबाट पद पाएको अनुभूति भयो भने ती पात्रहरूले जे पनि गरिदिन्छन् । अहिले भएको त्यही हो ।

नेपालको संविधानले आफूभन्दा माथि हेर्ने स्वभाव भएका पात्रहरू यस्ता संस्थाहरूमा जानुपर्छ भन्ने परिकल्पना गरेको छ । ऊ आग्रह, पूर्वाग्रह र लोभलालचभन्दा पर बसेको हुनुपर्छ । संविधानमा भएको परिकल्पनाको ठीक विपरीत हामीले -पठाउने ठाउँमा बसेकाले) कुन पात्र पठायो भने मेरो अधिकतम हित र स्वार्थ पूरा गरिदिन्छ भनेर हिसाबकिताब गर्न थाल्यौं ।

पदमा जान यस्तै कसैको स्वार्थ पूरा गरिदिने पात्रहरूको होडबाजी चल्न थाल्यो । नेताहरूको घरघरमा धाएर नियुक्ति खोज्नेहरू सक्रिय हुन थाले । मौका पर्‍यो भने पैसा दिएर पद खरीद गर्ने मान्छेहरू पनि अगाडि आए । त्यस्ता पात्रहरूले ठाउँ पाएपछि पदको गरिमा रहँदैन ।

हाम्रा कतिपय संस्थाहरू पात्रहरूको प्रयासले सबलीकरण भएका उदाहरण पनि छन् । एउटा राम्रो पात्रले यस्ता निकायको नेतृत्व गर्दा सुधार हुन्छ । समय लाग्ला, केही मिहिनेत गर्नुपर्ला, तर संस्था सुधार गर्न सक्छ । प्रदेश प्रमुख हुने व्यक्तिले म कानून बाहिर गएर काम गर्दिनँ, संविधानको भावना नमिचिने गरी काम गर्छु भन्दा उसलाई कुनै क्षति हुँदैन । हदै भए नियुक्त गर्नेले उसलाई हटाउने हो । हटाए पनि म तयार छु भनेर अठोट लिएर जानुपर्‍यो ।

हामीले ती पदहरूमा जस्तो व्यक्ति खोजेका हौं, त्यस्तै पात्र पुर्‍याउन सकेनौं । अहिलेको विडम्बना नै यही हो । राष्ट्रको अभिभावकत्व ग्रहण गर्न सक्ने राष्ट्रपति हामीले खोजेका हौं । कुनै दल, गुट-उपगुटको पक्ष/विपक्ष नभएर तटस्थ बस्ने राष्ट्रपति हामीले खोजेको हो । शुरूदेखि नै पाउन सकेनौं । हिजोकाले कुनै गलत गरेको भए विरोध/आलोचना भएको थियो । अब जानेमा मैले त्यस्ता काम छाड्नुपर्छ भन्ने सोचको विकास हुनुपर्ने थियो । ‘हिजोकाले गल्ती गर्न हुने, मैले किन नहुने ?’ भन्ने खालका पात्रहरू अहिले चयन गर्‍यौं, हाम्रो गल्ती त्यही भयो ।

मुलुकलाई हेरेर मुलुकको पक्षमा काम गर्छु भन्ने पात्र पाउन नसक्दा नै अहिले राष्ट्रपतिदेखि सभामुख र प्रदेश प्रमुखको पदमा रहेकाहरू विवादित भएका हुन् । हिजो दमननाथ ढुंगाना सभामुख हुनुहुन्थ्यो, आफूलाई कुन दलले सभामुख बनाएको हो भन्ने आधारमा उहाँले रुलिङ गर्नुभएन । बरु सिफारिश गर्ने दल नै उहाँसँग असन्तुष्ट भयो ।

उहाँले सदन भनेकै प्रतिपक्षको हो भन्ने आफ्नो धारणा स्थापित गरिदिनुभयो । त्यसपछि आउने सभामुखहरूले त्यो भूमिका निभाउन सकेनन् । यसरी हेर्दा संस्थामा को जान्छ भन्ने हिसाबले पात्रको महत्व हुने रहेछ । त्यस्तो पात्र देश-विदेश बुझेको हुनुपर्‍यो, कानूनमा जानकार हुनुपर्‍यो, समझदार हुनुपर्‍यो । लहलहैमा लाग्ने होइन कि आफ्नो ब्रहृम प्रयोग गर्ने हुनुपर्‍यो ।

अहिलेको राष्ट्रपतिले त्यो पदको गरिमा नै बुझ्नुभएन कि जस्तो देखियो । यो पद के हो, यहाँ मैले के गर्नुपर्छ भन्ने विषय उहाँले बुझ्नुभएन । वरपर रहेकाहरूले बुझाउन सकेनन् । वरपर रहने समूह कस्तो छ र कसरी सल्लाह दिन्छ भन्ने विषय अर्थपूर्ण हुन्छ ।

सल्लाहकारको समूह स्वार्थप्रेरित छ भने उसले संस्थाको प्रमुखलाई नै आफ्नो स्वार्थमा हिंडाउँछ । तटस्थ व्यक्तिहरूको समूह छ भने गलत हुन दिंदैन । अप्रिय क्रियाकलाप हुन रोक्न सक्छ । व्यक्ति स्वयं कमजोर भयो, अनि वरपर बस्नेहरू झनै स्वार्थप्रेरित भएपछि त संस्था माथि उठ्ने कुरै भएन ।

राष्ट्रपति हिजो आफू संलग्न पार्टीबाट अलग हुनै सक्नुभएन, सबैभन्दा ठूलो कमजोरी त्यही देखियो । उहाँले अझै पनि आफूलाई त्यही पार्टीको कार्यकर्ताको रूपमा बुझ्नुभयो । उहाँलाई हिजो जसले राष्ट्रपति बनायो, उसले पनि त्यो मर्म बुझेन । बनाइदिइसकेपछि ऊ त अब राष्ट्रपति हो भन्नेसम्म ख्याल राखेन । प्रधानमन्त्री ओलीले गरेका हरेक सिफारिशलाई राष्ट्रपतिले आफू हिजोकै जस्तो कार्यकर्ता ठानेर छाप लगाउने काम गर्नुभयो । त्यही भएर ‘रबरस्ट्याम्प’ हुनुभयो भनी आलोचना भएको हो । यस्तो भएपछि त्यो पदको गरिमा अधोगतिमा जान्छ, त्यसै भएको हो ।

संस्थामा बस्ने र सिफारिश गर्नेहरू शून्य जवाफदेहीमा गयौं । कसैले पनि कतै जवाफदेही हुनु परेन । निर्वाचित प्रतिनिधि, संवैधानिक निकाय अनि अदालतका न्यायकर्मीहरू पनि जवाफदेहीबाट उम्किंदै गएको देखिन्छ । यी सबै जना संसदप्रति जवाफदेही हुनुपर्छ भनेर व्यवस्था गर्‍यौं । तर अहिले सबैभन्दा कमजोर संस्था कुनै छ भने त्यो संसद हो । संसदले आफ्नो भूमिका आफैं बुझ्न सकेन । आफ्नो पद, ओज जोगाउन सांसदहरू सक्रिय भएनन् । जहाँ जवाफदेही हुनुपर्ने हो, त्यहाँकाले जवाफदेही बनाउन नसकेपछि त पदमा बसेकाहरू ‘साँढे’ जस्ता भइदिए । जे गरे पनि हुन्छ भन्ने मानसिकता भयो ।

हामीले कानूनको शासनको वकालत गर्ने भएकाले कसैले अपराध गरेमा कानून अनुसार दण्डित हुनुपर्छ । तर उनीहरू दण्डित भएनन्, सधैं उन्मुक्ति पाइरहे । संसदको नियन्त्रण भएन, जसले गर्दा त्यो पोजिसनमा रहेका मानिसलाई म कानूनको पकडभन्दा अलि माथि नै रहेछु भन्ने महसूस भयो । त्यसले अराजकता मौलाउन सहयोग गर्‍यो ।

अदालतको हालत त्यस्तै भयो । कसले जिम्मेवार बनाउने ? संसदको हालत त्यस्तै भए पनि झनै फुक्काफालको महसूस भएको हुनुपर्छ । संवैधानिक रूपमा महाभियोगको अस्त्रले अलि बढी त्रास हुन्थ्यो होला । तर अहिले महाभियोगको विषय दलमा गएर अड्किन्छ । दलहरूले तेरो-मेरो गरेर भागबण्डा गरेका छन् । महाभियोगमा आफ्नो मान्छे फस्न आँटेमा जोगाइदिन्छन् ।

अहिलेको निर्वाचन प्रणालीमा पुनरावलोकन हुनुपर्छ । जतिसुकै राम्रो सांसद पठाए पनि उसले दबाब झेल्नै सक्दैन । निर्वाचन महँगो भएकाले कम खर्चिलो परिपाटी बनाउन ढिलो भइसकेको छ । सांसदहरूलाई मन्त्री बनाउँदा सरकारलाई जवाफदेही बनाउन सकेनन् । हाम्रो आफ्नो अधिकार मत मार्फत जनप्रतिनिधिलाई पठाएका हौं । तर संसदले सार्वभौमसत्ता प्रयोग गरेन । प्रमुख दलका नेताहरूले जे भन्छन्, त्यही मान्ने भूमिकामा उनीहरू सीमित भए । त्यो चंगुलबाट संसदलाई कसरी मुक्त गर्ने ? हामीसामु चुनौती छन् ।

जायज/नाजायज जुनसुकै विषयमा अल्मलिएर सांसद कमजोर भएका छन् । मतदाता पनि कठोर हुन सकेनन् । नभए पख्लास्, अर्को पटक तँलाई भोट दिउँला र भन्न सक्ने हुन्थे । निर्वाचन पद्धति खर्चिलो भएकाले खर्चिला दाताहरू समाउनुपर्ने भयो र दातालाई गुन तिर्दा अनेक निर्णय गर्दा झनै विकृति थपियो । स्रोत, साधन र क्षमता आफ्नो र आफ्ना पक्षमा प्रयोग गर्न पाउने भएकाले जसरी पनि कार्यकारी पदमा पुग्न मरिहत्ते गर्नेहरू बढे । मन्त्री र त्यस्तै पदका लागि सम्झौता गर्ने भए । त्यसले गर्दा सांसद झनै कमजोर बने ।

संवैधानिक निकायलाई संविधानले बलियो बनाएको छ । तर, पात्रहरू कमजोर भए । संवैधानिक परिषदमा मुलुकको प्रमुख संवैधानिक अंगका नेतृत्वहरू छन् । तर उनीहरूले आफू-आफूमा अंशबण्डा गरेर बेइमानी गरिदिए । अर्को संरचना बनाएर यो बेथिति हट्दैन । बरु संवैधानिक पदमा नियुक्तिको छनोटका लागि मुलुकले पत्याएका तटस्थ र निष्पक्ष समिति बनाउन सकिन्छ । उनीहरूले सूची बनाएर सार्वजनिक अनुमोदनबाट मात्रै संवैधानिक नियुक्ति गर्ने हो कि भन्ने सोच आउन थालेको छ । केही गर्दा पनि नभएकाले यो विकल्प सोच्नुपरेको हो ।

नेतृत्व तहमा राष्ट्रप्रति जिम्मेवारीबोध भइदिएको भए त न तेरो-मेरो भनेर भागबण्डा गर्थे, न कसैले गलत गरे तेरोमेरो भनेर कारबाहीमा सम्झौता नै गर्ने थिए । संसदीय सुनुवाइलाई हामीले लाजमर्दो बनाएका छौं । दलीय आधारमा अंशबण्डा मिलेपछि तैं चूप मै चूपमा जो गए पनि भयो । यस्ता धेरै विषयमा चूप हुँदाको नतिजा हामीले भोगिरहेका छौं, मुलुक अझै कमजोर भइरहेको छ ।

(पूर्व प्रमुख निर्वाचन आयुक्त पोखरेलसँग अनलाइनखबरकर्मी कृष्ण ज्ञवालीले गरेको कुराकानीमा आधारित ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?