+
+

चापागाउँ-सुनाकोठी सडकको कालोपत्रे ६ महिनामै उप्कियो

रासस रासस
२०७८ भदौ ११ गते १४:५०
Photo Credit : रासस

११ भदौ, ललितपुर । कालोपत्रे गरेको ६ महिना नपुग्दै ललितपुरको चापागाउँ-सुनाकोठी सडकमा खाल्डैखाल्डा भएको छ । सडक निर्माणका लागि ठेक्का सम्झौता भएको पाँच वर्षमा कालोपत्रे भएको सडक केही महिनामै पहिलेकै अवस्थामा पुगेको हो ।

कुल २० मिटर चौडा कायम गर्ने गरी ठेक्का सम्झौता भएकोमा विस्तार गर्न नसकिएपछि करीब ६ मिटर चौडाइमा कालोपत्र भएको थियो । सडकको चौडा कम भएर नाली नबनाइएकाले पानी जम्दा कालोपत्र चाँडै उप्केको काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ ।

सडकमा भएको ३०/४० वर्ष पुराना पाइप फुटेर पानी जम्दा पनि कालोपत्र उप्काएको हुन सक्ने आयोजना प्रमुख गुरु अधिकारीले बताए । ‘एकातिर वर्षा र अर्कातिर पाइप फुटेकाले सडकमा पानी भरिएर कालोपत्रे उप्केको छ,’ उनले भने ।

पानीले माथिल्लो भाग र सवबेस (ग्राभेल) दुवै तहलाई भिजाएकाले चाँडो कालोपत्रे उप्केको आयोजनाले जनाएको छ । टाखेल–सुनाकोठीसम्मको सडक गत वर्षामा जुन अवस्थाको थियो अहिले पनि त्यही अवस्थामा पुगेको छ । सडक बिग्रिएपछि निर्माण व्यवसायीसँग पत्राचार गरिएको आयोजनाले बताएको छ । निर्माण कम्पनीले त्रुटि भएको स्वीकार गरेको र ती कम्पनीलाई आफ्नै खर्चमा कालोपत्रे गर्न भनेको आयोजना प्रमुख अधिकारीको भनाइ छ । पानी रोकिएपछि बिग्रिएको खण्डमा सरकारले थप खर्च नगर्ने उनले बताए । ‘निर्माण कम्पनीले आफ्नै खर्चमा निर्माण गर्ने प्रतिबद्धता जनाएको छ,’ उनले भने ।

साँघुरो सडक र वरपर पुराना घर भएकाले सडक निर्माण गर्दा रोलिङ (ग्राभेल) थिच्न प्रयोग गरिने हेभी उपकरण प्रयोग गर्न नसकिएको आयोजनाले जनाएको छ । ग्राभेल र त्योभन्दा तल्लो तह (सवबेस)लाई रोलिङ गर्नुपर्ने भए पनि त्यो नगरी कालोपत्रे भएको थियो । स्थानीयवासीले रोलिङ गर्दा कम्पनले पुरानो घरलाई असर पार्ने भनेर नदिएको अधिकारीले बताए । ‘ग्राभेल खँदिलो हुन नपाएपछि प्वाल प्वालबाट पानी छिरेको थियो,’ उनले भने ।

पुनः कालोपत्र गर्दा सडक पहिले जसरी उप्कन नपायोस् भनेर स्थानीयवासीसँग छलफल गरेर मात्रै काम अघि बढाइने भएको छ । फेरि पनि रोलर गर्न नदिएमा सडकको ठाउँठाउँमा पानी पस्ने भएकाले छलफलबाटै समाधान खोज्न लागिएको प्रमुख अधिकारीले बताए । अब निर्माण गरिने सडकका बीच भागमा पानी तैरने गरी पोलिथिन पाइप राखिने भएको छ । पाइपको माथिल्लो आधा भागमा प्वाल पारिने आयोजनाले जनाएको छ । सवबेस र बेसको पानी चुहिएर प्वालबाट पाइपमा जाने र पछि पाइपबाट बाहिर निकाल्ने उनले बताए ।

निर्माण भएको छोटो समयमा नै सडक कालोपत्रे उप्कनुमा निर्माण व्यवसायीको थोरै गल्ती भए पनि त्योभन्दा बढी अरु कारण भएको अधिकारीको भनाइ छ । सडकमा पानी तैरने ठाउँ नभएकाले जमेर बिग्रिएको देख्न सकिन्छ । ‘जहाँ जहाँ पानी जमेको छ, त्यही सडक बिग्रिएको छ,’ उनले भने । लामो समयसम्म अवरुद्ध सडक निर्माण भएको केही समयमा नै भत्किएपछि आयोजनाले अब के गर्ने भनी स्थानीय तह, प्रदेश र प्रतिनिधिसभाका सांसदसँग छलफल गरिरहेको छ । पहिले पनि ललितपुर महानगरपालिका, गोदावरी नगरपालिका र त्यहाँका वडासँगको समन्वयमा निर्माण अघि बढाइएको र अब पनि समन्वयमा नै काम हुने आयोजनाले जनाएको छ ।

सडकमा ठाउँठाउँमा खाल्डैखाल्डा हुँदा सडक प्रयोगकर्ता कष्टकर यात्रा गर्न बाध्य भएका छन् । तत्काल कालोपत्रे गर्न नसकिने भए पनि ग्राभेलले टाल्ने योजना बनाइएको छ । गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले अहिले कालोपत्रे नै गर्न नसकिए पनि ग्राभेल गरेर खाल्डा पूरै सडक हिँड्नका लागि सजिलो बनाइने बताए । उक्त सडकमा वर्षायामपछि कालोपत्र गर्ने काम शुरु गर्ने सहमति भएको उनको भनाइ छ ।

आयोजनाले २० फिट चौडा र दायाँबायाँ नाली बनाउने भने पनि त्यो नहुँदा सडकमा चाँडो समस्या आएको बताउँदै उनले भने, ‘स्थानीयवासीलाई मुआब्जा दिन नसकिएपछि सडक ठूलो बनाउन सकिएन र चाँडै कालोपत्रे भत्कियो ।’

सडक निर्माण दशैं तिहारमा सकिने प्रमुख महर्जनले बताए । सडक साँघुरो भए पनि नाली खोलेर सडक निर्माण गरिने उनको भनाइ छ ।

झण्डै ९ किलोमिटर लामो सडक निर्माणका लागि तीन प्याकेजमा ठेक्का सम्झौता भएको थियो । एउटा प्याकेजमा आर्थिक वर्ष २०७३/७४ मा र अरू दुई प्याकेजमा आव २०७४/७५ मा ठेक्का सम्झौता भएको थियो । ठेक्काको अवधि सकिएको भए पनि निर्माणस्थल खाली नभएकाले अवधि थप हुँदै आएको छ । गत आवमा कोभिडका कारण अवरोध पुगेका सडकमा ६ महिना थप्ने सरकारले निर्णय नै गरेको थियो । चालु आवमा पनि सरकारले ६ महिना म्याद थप्ने निर्णय गरिसकेको छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?