+
+

वीरगञ्जमा कक्षा ६ र ७ को पनि भौतिक उपस्थितिमा पढाइ हुने

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ १२ गते १८:४६
फाइल तस्वीर

१२ भदौ, वीरगञ्ज । वीरगञ्जमा आइतबारदेखि कक्षा ६ र ७ को पनि भौतिक उपस्थितिमै कक्षा सञ्चालन हुने भएको छ । वीरगञ्ज महानगरपालिकाको शिक्षा शाखाले सूचना जारी गर्दै आइतबारदेखि कक्षा ६ र ७ को पनि भौतिक उपस्थितिमा पठनपाठन सचालन गर्न विद्यालयहरुलाई आग्रह गरेको छ ।

साउन ३० गतेबाट कक्षा ८ देखि १२ सम्मका विद्यार्थीको भौतिक उपस्थितिमा पढाइ भइरहेको छ । वीरगञ्जमा ८७ वटा सामुदायिक विद्यालय र १४४ वटा अनुमति प्राप्त संस्थागत विद्यालय छन् । सामुदायिक विद्यालयमध्ये ६ वटामा कक्षा १२, १४ वटामा कक्षा १०, १२ वटामा कक्षा ८ सम्म पढाइ हुन्छ भने ५५ वटा विद्यालय प्राथमिक तहका छन् ।

महानगरपालिकाको शिक्षा महाशाखा प्रमुख अरविन्द लाल कर्णका अनुसार विद्यालय सञ्चालनका लागि परिस्थिति अनुकुल देखिएकोले थप कक्षाहरु समेत भौतिक उपस्थितिमै गराउन लागिएको हो ।

‘वीरगञ्जमा कोरोना संक्रमण खासै फैलिएको छैन, अहिलेसम्म स्थिति अनुकुल नै देखिएको छ’ उनले भने, ‘त्यसैले कक्षा ६ र ७ लाई पनि भौतिक उपस्थितिमा सञ्चालन गर्न भनेका छौं ।’

उनले विद्यालयमा स्वास्थ्य सुरक्षा सतर्कताका मापदण्ड अनिवार्य पालना गर्न र गराउन निर्देशन गरिएको जानकारी दिए । तर अधिकांश संस्थागत विद्यालयले तल्लो तहको कक्षा समेत भौतिक उपस्थितिमै सञ्चालन गर्दै आएका छन् ।

कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि पर्सामा वैशाख १६ गतेदेखि निषेधाज्ञा लगाइएको थियो । जसका कारण विद्यार्थीको पढाइ लामो समयदेखि प्रभावित भइरहेको थियो । निजी विद्यालय र केही सामुदायिक विद्यालयहरुले माथिल्लो कक्षालाई अनलाइन प्रविधि मार्फत पठनपाठन गराउँदै आएका भए पनि सामुदायिक विद्यालयका अधिकांश विद्यार्थी पढ्नबाट वञ्चित थिए ।

वीरगञ्ज महानगरपालिकाले साउन २७ गते सरोकारवालासँग छलफल गरेपछि दोस्रोपटक विद्यार्थीको भौतिक उपस्थितिमा विद्यालय सञ्चालन गर्ने भनी सूचना जारी गरेको थियो । कोरोना संक्रमण घटेका कारण महानगरले असार १५ गतेखि नै विद्यालय सञ्चालन गर्ने तयारी थालेको थियो ।

तर जिल्लास्तरीय कोभिड–१९ व्यवस्थापन समितिले निषेधाज्ञा खुकुलो गरी बजार खोल्ने निर्णय गरे पनि विद्यालय सञ्चालनमा रोक लगाएपछि विद्यालय खुल्न सकेका थिएनन् । विद्यालय सञ्चालन सम्बन्धी कार्य ढाँचा, २०७७ अनुसार पहिलो चरणमा जनस्वास्थ्य मापदण्डको पालना गर्दै कक्षा सञ्चालन भइरहेको महानगरपालिकाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?